प्रिसा साहको मृत्यु: छानबिनका लागि पहल गर्न सरकारलाई निर्देशन

भारतको उडिसा राज्यस्थित केआईआईटीमा अध्ययनरत छात्रा प्रिसा साहको शंकास्पद मृत्युबारे छानबिनका लागि पहल गर्न संसद्ले सरकारलाई निर्देशन दिएको छ।

काठमाडौँ– भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत छात्रा प्रिसा साहको शंकास्पद मृत्युबारे छानबिनका लागि पहल गर्न र विदेशमा रहेका अरू नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिको व्यवस्था गर्न संसद्ले सरकारलाई निर्देशन दिएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले यस प्रकरणमा के–कसो भएको हो भनेर खोजिनीति गर्न निर्देशन दिए। “उज्यालो भविष्य देखेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरुको एकपछि अर्को मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न पनि हो। सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन, सम्बन्धित पक्षसँग संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश गर्दछु,” सभामुख घिमिरेले भने। साथै विदेशमा रहेका अरू नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न गराउन पनि निर्देशन दिए।

यो पनि: प्रिसा मृत्यु प्रकरण: कक्षामा साथीलाई ‘भाइभा जानु छ’ भनेकी थिइन्

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्ने क्रममा सांसदहरूले प्रिसा साह मृत्युबारे संसद‍्मार्फत सरकारको ध्यानाकर्षण गराएका थिए।

केही समयअघि सोही विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको पनि रहस्यमय ढंगले मृत्यु भएको थियो। पुनः सोही प्रकृतिको घटना अहिले दोहोरिएपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरुले थप असुरक्षित महसुस गरेको सांसदहरूको भनाइ छ।

सांसदहरू देवेन्द्र पौडेल, डा अमरेशकुमार सिंह, रामकृष्ण यादव, निर्मला कोइरालालगायतले प्रिसा साह मृत्युबारे संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका थिए।