विदेशमा निर्मित चलचित्रमाथि सतप्रतिशत कर लगाउन ट्रम्पको आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाहिर बनेका सबै चलचित्रलाई शतप्रतिशत कर लगाउने प्रक्रिया शीघ्र शुरू गर्न वाणिज्य मन्त्रालयलाई आदेश दिएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाहिर बनेका सबै चलचित्रमा नयाँ कर लगाउन आदेश दिएका छन्। अमेरिकी फिल्म निर्माता र स्टुडियोको विदेशमा काम गर्ने प्रवृत्तिका कारण हलिउड ‘धराशायी’ भइरहेको दाबी गर्दै राष्ट्रपति ट्रम्पले आइतबार यस्तो आदेश दिएका हुन्।

ह्वाइट हाउसको आक्रामक कर नीतिमाथि बढ्दो आलोचनाबीच यस्तो घोषणा आएको हो। ट्रम्पले विश्वभरका देशहरूमा व्यापक कर लगाएका छन्।

“म वाणिज्य मन्त्रालय र संयुक्त राज्य व्यापार प्रतिनिधिलाई हाम्रो देशमा आउने विदेशी भूमिमा उत्पादित कुनै पनि र सबै चलचित्रमा एक सय प्रतिशत कर लगाउने प्रक्रिया तुरुन्त शुरू गर्न अधिकार दिँदै छु”, उनले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, “हामी चलचित्रहरू फेरि अमेरिकामै बनेको हेर्न चाहन्छौँ।”

वाणिज्यमन्त्री हावर्ड लुटनिकले ट्रम्पको सन्देश पुनः पोस्ट गर्दै भनेका छन्, “हामी यसमा काम गरिरहेका छौँ।” यो कर कसरी कार्यान्वयन गरिन्छ भन्नेबारे विवरण दिइएको छैन।

सामान निर्यातमा १४५ प्रतिशतसम्म करको भार खेपिरहेको चीनले गत महिना अमेरिकी चलचित्रको संख्या घटाउने बताएपछि ट्रम्पको पोस्ट आएको हो। 

“अमेरिकाको चलचित्र उद्योग मुझाउँदै गएको छ। अन्य देशले हाम्रा फिल्म निर्माता र स्टुडियोलाई संयुक्त राज्य अमेरिकाबाट टाढा लैजान सबै प्रकारका प्रोत्साहन दिइरहेका छन्,” उत्पादन अन्य देशमा आकर्षित हुनु ‘राष्ट्रिय सुरक्षा खतरा’ भएको दाबी गर्दै ट्रम्पले आइतबार लेखेका छन्, “हलिउड, र संयुक्त राज्य अमेरिकाभित्रका अन्य धेरै क्षेत्र ध्वस्त भइरहेका छन्।”

हलिउड संयुक्त राज्य अमेरिकाको अर्थतन्त्रको एक प्रमुख क्षेत्र हो। यस क्षेत्रले मोसन पिक्चर एसोसिएसनको पछिल्लो तथ्यांकअनुसार २०२२ मा २३ लाखभन्दा बढी रोजगारी र दुई खर्ब ७९ अर्ब डलरको बिक्री उत्पन्न गरेको थियो।

तर हडताल र कोभिड महामारीको प्रभावको पृष्ठभूमिमा हलिउडले अझै पनि आफ्नो गति पुनः प्राप्त गर्न संघर्ष गरिरहेको जानकारहरू बताउँछन्। हडताल र कोभिड महामारीले अमेरिकी नागरिकको चलचित्र हेर्ने तरिकामा परिवर्तन आएको छ। थिएटरमा भन्दा घरमै बसेर चलचित्र हेर्न रुचाउनेको संख्या बढ्दै गएको छ।

उत्पादन ट्र्याकिङ सेवा प्रोडप्रोको जनवरीको रिपोर्टअनुसार अमेरिका १४ अर्ब ५० करोड डलरको उत्पादन खर्चसहित शीर्ष फिल्मिङ केन्द्र हो। यद्यपि त्यो रकम दुई वर्षअघिको तुलनामा २६ प्रतिशतले घटेको छ।

यद्यपि स्टुडियो सञ्चालकहरूको सर्वेक्षणले सन् २०२५ र २०२६ का लागि उनीहरूको शीर्ष पाँच मन पर्ने उत्पादन स्थान अमेरिकाबाहिर रहेको खुलेको छ। उनीहरूले प्रतिस्पर्धी कर प्रोत्साहन योजनाका कारण अमेरिका बाहिरका स्थान रोज्ने गरेको सर्वेक्षणको निष्कर्ष छ। उनीहरूको पहिलो रोजाइ टोरन्टो, त्यसपछि बेलायत, भ्यानकुभर, मध्य युरोप र त्यसपछि अस्ट्रेलिया छ। क्यालिफोर्निया छैटौँ स्थानमा आएको छ।

जनवरीमा आफ्नो पदभार ग्रहणअघि ट्रम्पले लामो समयदेखिका समर्थक सिल्भेस्टर स्टेलन, मेल गिब्सन र जोन भोइटलाई हलिउडका विशेष दूतका रूपमा नियुक्त गरेका थिए। उनले ट्रुथ सोसलमा एक पोस्टमा मनोरञ्जन उद्योगलाई ‘पहिलेभन्दा अझ बलियो’ बनाउने बताएका छन्।

ट्रम्प र रिपब्लिकनले परम्परागत रूपमा मनोरञ्जन उद्योगबाट थोरै समर्थन पाएका छन्। टेलर स्विफ्टदेखि जर्ज क्लुनीसम्मका स्टारले सन् २०२४ को राष्ट्रपति चुनावमा डेमोक्रेट कमला ह्यारिसलाई समर्थन गरेका थिए।