स्वतन्त्र सांसद लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

स्वतन्त्र सांसद लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। उनी प्रवेश गरेसँगै प्रतिनिधिसभामा नागरिक उन्मुक्तिका ४ सांसद पुगेका छन्।

काठमाडौँ– बर्दिया क्षेत्र नम्बर २ बाट निर्वाचित स्वतन्त्र सांसद लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। पार्टीको केन्द्रीय समिति बैठकका क्रममा शुक्रबार चौधरी पार्टी प्रवेश गरेका हुन्। 

उनलाई पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले अबिर लगाएर स्वागत गरेकी हुन्। लालवीर पार्टीका संरक्षक रेशम चौधरीका बुवा हुन्। श्रेष्ठ उनकी बुहारी हुन्। बर्दिया-२ मा उम्मेदवारी दिएका रेशम चौधरीले आफ्नो उम्मेदवारी खारेज हुन सक्ने देखेर बुवा लालवीरलाई स्वतन्त्र रूपमा उम्मेदवारी दिन लगाएको बताइन्छ।

लालवीर प्रवेश गरेसँगै प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका ४ सांसद पुगेका छन्। नेकपा माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्थलाई १३६ मतको अन्तरमा पराजित गर्दै बर्दिया-२ बाट स्वतन्त्र सांसदका रूपमा लालवीर निर्वाचित भएका थिए।