सेवासुविधा जनतानजिक पुर्‍याउन केन्द्र विस्तार गर्दै तनहुँका स्थानीय तह

तनहुँका स्थानीय तहका वडा कार्यालयको केन्द्रबाट टाढा रहेका जनतालाई नजिकबाट सेवासुविधा प्रदान गर्ने उद्देश्यसहित वडाको सेवा केन्द्र विस्तार गरिरहेका छन्।

तनहुँ– तनहुँका स्थानीय तहले वडाबाट प्रदान गर्ने सेवासुविधा जनतानजिक पुर्‍याउन सेवा केन्द्र विस्तार गर्न थालेका छन्। जिल्लास्थित स्थानीय तहका वडा कार्यालयको केन्द्रबाट टाढा रहेका जनतालाई नजिकबाट सेवा सुविधा प्रदान गर्ने उद्देश्यसहित वडाको सेवा केन्द्र विस्तार गरिएको हो।

भीमाद नगरपालिका–८ ले वडाको सेवा केन्द्र भानुमतीमा स्थापना गरेको छ। यसअघि अरौँदीमा वडा कार्यालय रहेकामा माथिल्लो भेगका जनतालाई वडा कार्यालयसम्म आएर सेवा लिन अपायक भएकाले सेवा केन्द्र स्थापना गरिएको वडाध्यक्ष अणबहादुर शाहीले बताए।

“जनताको मागबमोजिम नै सेवा केन्द्र विस्तार गरेका हौँ। भानुमती भेगका जनतालाई अरौँदीसम्म आएर सेवा लिन एक दिन छुटाउनुपर्थ्यो, सवारीसाधन कम चल्ने र हिँडेर आउनुपर्दा समस्या थियो। भानुमतीमै सेवा केन्द्र विस्तारपछि त्यस भेगका जनताले सहज ढङ्गबाट सेवा पाउनेछन्,” उनले भने। उक्त सेवा केन्द्रबाट बिहीबार र शुक्रबार सेवा प्रदान गरिनेछ।

भीमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले जनतालाई सहज र सरल रूपमा सेवा प्रवाह गर्नु जनप्रतिनिधिको कर्तव्य भएको बताए। 

आँबुखैरेनी गाउँपालिका–५ र ६ को सम्पर्क कार्यालय विस्तार गरिएको छ। वडा कार्यालयबाट प्रदान गरिने सेवा सहज रूपमा वडावासीलाई प्रदान गर्न दुई वडा कार्यालयको सम्पर्क कार्यालय विस्तार गरिएको हो।

आँबुखैरेनी गाउँपालिका–५ को वडा कार्यालयको सम्पर्क कार्यालय बरालुङबेँसीमा स्थापना गरिएको छ। संघीय शासन प्रणालीअन्तर्गत सेवा प्रवाहलाई विकेन्द्रित गर्दै स्थानीय तहलाई थप सशक्त र जनमुखी बनाउन सम्पर्क कार्यालय स्थापना गरिएको वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए।

उक्त वडाको प्रमुख कार्यालय सानोभन्ज्याङमा रहेकाले बरालुङबेँसी र वरपरका बस्तीका सर्वसाधारणलाई वडा कार्यालयसम्म पुग्न समय लाग्ने भएकाले सम्पर्क कार्यालय स्थापना गरिएको उनको भनाइ छ।

आँबुखैरेनी गाउँपालिका–६ को सम्पर्क कार्यालय केही समयअगाडि प्युघरफाँटमा स्थापना गरिएको थियो। प्युघरफाँटमा सेवा कार्यालय विस्तार गरी सर्वसाधारणलाई सेवा दिन थालिएपछि सहज भएको छ।

वडा नं ६ का सर्वसाधारणलाई घण्टौँ पैदल तथा महँगो गाडी भाडा तिरेर सेवा लिन वडा कार्यालय आउनुपर्ने समस्याको अन्त्य गर्न पालिकाले प्युघरमा सेवा केन्द्र विस्तार गरेको वडाध्यक्ष दिलीप गुरुङले जानकारी दिए। सेवा केन्द्रमा वडा कार्यालयबाट प्रदान गरिने सबै सेवा दिइएको छ।

हप्तामा दुई दिन उक्त सेवा कार्यालयबाट जनताले सेवा पाउने वडाध्यक्ष गुरुङले जानकारी दिए। त्यस भेगका जनतालाई वडा कार्यालयको केन्द्र हिलेखर्क जान समस्या भएपछि सहजताका लागि सेवा कार्यालय विस्तार गरिएको उनको भनाइ छ।

“यस भेगका जनतालाई वडा कार्यालयको केन्द्रसम्म पुग्न एक दिनको समय छुटाउनुपर्ने बाध्यता थियो। अब सेवा कार्यालयबाटै सहज रूपमा जनताले सेवा पाउनेछन्,” उनले भने।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जनताले सहज र सरल तरिकाले सेवा पाउनुपर्ने बताए। जनप्रतिनिधि जनताका शासक नभई सेवक भएकाले जनप्रतिनिधिले जनताको भावनाअनुसार काम गर्नुपर्नेमा उनको जोड थियो।

“हिलेखर्कसम्म पुग्न अप्ठ्यारो परिरहेको थियो । प्युघर क्षेत्र वरिपरिका बस्तीका जनतालाई सहज र छिटो सेवाहरू उपलब्ध गराउन सेवा कार्यालयबाट सहज हुनेछ,” उनले भने।

चुमानले सेवा कार्यालयले जनतासँगको निकटता बढाउने र प्रशासनिक सेवा प्रणालीलाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। “यस कार्यालयले जनतालाई एक स्थानबाट सहज र छिटो सेवा प्रदान गर्ने व्यवस्था गर्नेछ। यो कार्यालय खोल्नुका प्रमुख उद्देश्य भनेको जनतालाई स्थायी र दीर्घकालीन रूपमा सेवा दिने हो,” उनले भने।