कीर्तिपुरस्थित क्रिकेट रंगशालाको प्यारापिट र फ्लडलाइट जडानमा ढिलाइबारे प्रधानमन्त्रीको चासो

कीर्तिपुरस्थित क्रिकेट रंगशालामा प्यारापिट र फ्लडलाइट जडान तोकिएको समयमा सम्पन्न हुन नसकेको विषयमा प्रधानमन्त्री ओलीले आइतबार सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीलाई डाकेर सोधपुछ गरेका छन्।

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणमा भइरहेको ढिलाइबारे चासो राखेका छन्। रंगशाला अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान कार्य तोकिएको समयमा सम्पन्न हुन नसकेको विषयमा आइतबार सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीलाई डाकेर उनले छलफल गरेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले काम शुरू भए पनि तोकिएको समयमा सम्पन्न हुन नसक्ने स्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरे। छलफलमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माण कार्यको कार्यान्वयन निकाय संघीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कण्ठसहित संलग्न निर्माण व्यवसायी सहभागी थिए।

प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रूपमा ती सय दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान गर्ने घोषणा गरेका थिए। उक्त समयावधि यही वैशाख २४ गते सकिँदै छ। ती दुई कामका लागि फरक फरक ठेकेदार कम्पनीसँग क्रमशः गत पुस १९ र २२ गते सम्झौता भएको थियो। 

प्रधानमन्त्री ओलीले के कति कारणले समयमा काम हुन सकेन र अब कति दिनमा गुणस्तरीय रूपमा काम पूरा हुन्छ भन्ने यकिन गर्न र आगामी दुई महिनाभित्र सम्पन्न गर्न कडा निर्देशन दिए। मन्त्रालयका सचिव, कार्यालयका प्रमुख र निर्माण व्यवसायीले सम्बन्धित निकायबीच समन्वय गर्न समय लागेकाले बोलपत्र आव्हान हुन ढिलाइ भएको, प्राविधिक कारणले डिजाइनमा सामान्य परिवर्तन गर्नुपरेको, वर्षाले केही दिन काममा अवरोध भएको, प्रतीत पत्र अर्थात् एलसी खोल्ने प्रक्रियामा ढिलाइ जस्ता कारणले तोकिएको अवधिमा काम हुन नसकेको स्विकार गरे। अबको एक महिनामा काम सक्ने उनीहरूले प्रतिबद्धता व्यक्त गरे।

छलफलमा प्यारापिटतर्फ वित्तीय प्रगति ४५.१९ र भौतिक प्रगति ५५ प्रतिशत तथा फ्लडलाइटतर्फ वित्तीय प्रगति २३.८१ र भौतिकतर्फ ३५ प्रतिशत प्रगति भएको प्रधानमन्त्री ओलीलाई जानकारी गराइयो। प्यारापिटका लागि ४९ करोड २५ लाख ६७ हजार ३०२ र फ्लडलाइटका लागि ४७ करोड ३७ लाख ६८ हजार ७७ रुपैयाँमा सम्झौता गरिएको थियो। छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए।