सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण, जवाफ दिन सभामुखको ‘रुलिङ’

बैठकमा जनमत पार्टीका सांसदहरूले पार्टीका संरक्षक रेमश चौधरीलाई बिनाकारण पक्राउ गरी कारागार चलान गरिएका विषयमा सरकारको जवाफ माग गर्दै उभिएर विरोध गरेका थिए।

काठमाडौँ– प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

बैठकको आकस्मिक समयमा सांसद रञ्जीता श्रेष्ठले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीप्रति यही वैशाख १७ गते गिरफ्तार गरिएको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरिन्। 

सांसद कान्तिका सेजुवालले तीन महिनादेखि युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईमा अलपत्र परेका मुगुको छायानाथ नगरपालिका–१४ सुम्ली गाउँका २६ वर्षीय दीपराज भण्डारीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराइन्। उनी रोजगारीको सिलसिलामा एक वर्षअघि दुबई गएका थिए ।  

सांसद ठाकुरप्रसाद गैरेले सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद् भवनको निर्माण कार्य समयमै सम्पन्न गर्न सरकारसँग माग गरे। सांसद पूर्णबाहदुर घर्ती मगरले विकास बजेट खर्च हुन नसकेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए। 

यसैगरी सांसद मनिष झाले मन्त्रिपरिषद्मा महिलाको सहभागिता बढाउन माग गरे। बैठकमा जनमत पार्टीका सांसदहरूले पार्टीका संरक्षक रेमश चौधरीलाई बिनाकारण पक्राउ गरी कारागार चलान गरिएका विषयमा सरकारको जवाफ माग गर्दै उभिएर विरोध गरेका थिए। यसपछि सभामुख देवराज घिमिरेले संसद्‌मा विभिन्न समयमा उठेका विषयमा जवाफ दिन सरकारलाई ‘रुलिङ’ गरे। 

जनमत पार्टीका सांसद अब्खुल खानले संरक्षक चौधरी पक्राउ सम्बन्धमा सरकारले स्पष्ट जवाफ नदिएसम्म सदनको कामकारबाही अघि बढ्न नसक्ने बताए। सभामुख घिमिरेले यही वैशाख २५ गतेको बैठकमा गृहमन्त्री रमेश लेखकले उक्त घटनाका सम्बन्धमा सदनमा उपस्थित भएर जवाफ दिने जानकारी दिँदै सदनको कामकारबाही अघि बढाउन आग्रह गरेका थिए। चौधरी पक्राउका सम्बन्धमा गृहमन्त्री लेखकले जवाफ दिने सभामुख घिमिरेको जानकारीपश्चात् सदन नियमित कार्यसूचीमा प्रवेश गरेको छ।

संघीय संसद्को संयुक्त बैठकमा सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममाथि दलीय आधारमा छलफल भइरहेको छ।