मंगलबार नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम

मंगलबार नेप्से परिसूचक १.०३ अंकले बढेर २६११.४३ को विन्दुमा कायम भएको छ भने साढे आठ अर्ब माथिको शेयर कारोबार भएको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार झिनो अंकको सुधार देखिएको छ। लगातार पाँच दिनसम्म घटेको नेप्से परिसूचक छैटौँ दिन १.०३ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २६११.४३ अंकको विन्दुमा कायम भएको छ। यस दिन कारोबार रकममा पनि वृद्धि देखिएको छ।

मंगलबार ३१८ कम्पनीको दुई करोड पाँच लाख ४२ हजार ७६४ कित्ता शेयर ८० हजार ५४ पटक खरिदबिक्री हुँदा आठ अर्ब ७४ करोड ७६६ लाख ६८ हजार ८४६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। यसअघि सोमबार सात अर्ब ६३ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

मंगलबारको कारोबारमा पाँच वटा समूहको उपसूचक बढेको छ भने अरू सबै सबै समूहको घटेको छ। यस दिन सबैभन्दा धेरै व्यापार समूहको उपसूचक २.०३ प्रतिशतले बढेको छ।

जलविद्युत् १.४०, जीवन बीमा ०.१३, उत्पादन तथा प्रशोधन ०.२९, निर्जीवन बीमा समूहको उपसूचक ०.५७ प्रतिशतले बढेको छ।

त्यस्तै, बैंकिङ ०.३५, विकास बैंक ०.५०, वित्त १.२८, होटल तथा पर्यटन ०.३३, लगानी ०.४१, लघुवित्त ०.३०, म्युचुअल फन्ड ०.१३ र अन्य समूहको उपसूचक १.५८ प्रतिशतले घटेको छ।

यस दिनको कारोबार नेपाल माइक्रो इन्स्योरेन्स शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा सबै धेरै सानिमा माई हाइड्रो पावरको ९२ करोड ८९ लाख ६२ हजार ७६६ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। शेयर संख्याका आधारमा सबैभन्दा धेरै ङ्यादी ग्रुप पावरको १७ लाख ४७ हजार ५८१ कित्ता किनबेच भएको छ।