गाजामा युद्ध शुरू भएयता १६ हजार बालबालिकाको मृत्यु : स्वास्थ्य अधिकारी

इजरायली सैन्य आक्रमण शुरू भएयता गाजापट्टिमा १६ हजारभन्दा बढी बालबालिकाको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीले बताएका छन्।

इजरायली सैन्य आक्रमण शुरू भएयता गाजापट्टिमा १६ हजारभन्दा बढी बालबालिकाको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीले बताएका छन्। उनीहरूका अनुसार हरेक ४० मिनेटमा एक बच्चाको मृत्यु भइरहेको छ। 

हमासको अचानकको आक्रमणपछि सन् २०२३ अक्टोबर ७ मा इजरायलले प्रत्याक्रमण थालेको थियो।

गाजाका स्वास्थ्य अधिकारीहरूका फिल्ड अस्पतालका निर्देशक मारवान अल–हाम्सले मृतकमा १६ हजार २७८ बालबालिका रहेका छन्। तीमध्ये ९०८ शिशु र ३११ नवजात शिशु जन्म पछि मृत्यु भएको छ।

आवश्यक स्वास्थ्य सेवामा बाधा पुर्‍याउँदै इजरायलले मार्चको शुरूमा निकास बन्द गरेपछि मानवीय अवस्था निकै जटिल बनेको उनले प्रकाश पारे। जसका कारण हजारौँ बालबालिका र गर्भवती चिकित्सा सेवाको पहुँचबाट वञ्चित हुँदा संकट झन बढेको हो।

इजरायलले पूर्वाधारलक्षित आक्रमण गरेको र सहयोग अस्वीकार गरेका कारण धेरै बालबालिकालाई स्वच्छ पिउने पानी र उचित पोषण अपुग छ। उनीहरू दिनको एक छाक त्यो पनि अपूर्ण खानामा बाँचिरहेको उनले बताए।

उनका अनुसार हजारौँ बालबालिका आधारभूत आवश्यकताबिना विस्थापन केन्द्रमा बसिरहेका छन्। गर्भवतीहरूले अस्पताल पुग्न महत्त्वपूर्ण चुनौतीको सामना गर्नुपरेको छ।

हमाससँगको जनवरीको युद्धविराम सम्झौताको पहिलो चरण समाप्त भएपछि इजरायलले मार्च २ मा गाजामा सामान र आपूर्तिको प्रवेश रोकेको थियो। पक्षहरू गतिरोधमा रहेका कारण दोस्रो चरण अझै साकार हुन सकेको छैन।