कमल दाइ कसरी एक कुलीन, सम्पन्न, राजनीतिक परिवारको छोरा भएर पनि जनसाधारणसँग घुलमिल भए? कसरी कम्युनिस्ट पार्टी रोज्दै भूमिगत जीवन रोजे ? यी कथाहरू आज पनि विराटनगरतिर जनकथाझैँ सुनिन्छन्।
सतिसालझैँ उभिएर गौरवशाली जीवन बिताउने कमल कोइरालाको निधन भएको केही समय भइसकेको छ। कोइराला परिवारको एक्लो कम्युनिस्ट हुनु आफैमा असामान्य हो। । आफ्नै पिता मातृका प्रसाद कोइराला प्रधानमन्त्री हुँदा कमल कोइराला जेल परे। एउटै व्यक्ति वकिल, लेखक, पत्रकार, सम्पादक, सांसद र कूटनीतिज्ञको भूमिकामा देखा पर्नु सामान्य कुरा होइन। त्यस कारण पनि उनी असामान्य हुन्। उनले जेजे भूमिका सम्हाले, त्यो उनीभित्रको गहिरो दृष्टिकोण र विचारको फलकको प्रमाण थियो। एउटा मान्छे मानवझैँ जियो र जीवनका नजिर खडा गर्दै बित्यो।
२००८ सालको डा. केआई सिंह काण्डपछि कम्युनिस्ट पार्टी प्रतिबन्धित भयो। त्यसपछि भूमिगत क्रान्तिकारी गतिविधिमा संलग्न भए कमल। त्यही बेला उनी विराटनगर पेरीफेरीमा रहस्यमयी र किंवदन्ती बने। नौ दशक लामो उनको जीवन यात्रा विचार, वाणी, व्यवहार र कर्ममा एकरूपता भएको उदाहरण बन्यो। गम्भीर र कठोर विषयलाई सरल र सहज ढंगले अभिव्यक्त गर्ने क्षमता, विचारमा दृढता र व्यवहारमा सरलता उनको जीवन चरित्रको मूल विशेषता थियो।
समयसँगै अघि बढ्ने उनको शैली युवापुस्तासँगको निरन्तर संवाद र प्रविधिको प्रयोगमा देखिन्थ्यो। फेसबुकजस्तो खुला मञ्चमा उनी निर्धक्क आफ्ना मनका कुरा गर्थे। उनका खुला विचार कतिपय पुरानो पुस्ताका लागि अपाच्य हुन्थे—तर कमल दाइ भने स्पष्ट विचार र साँचो अभिव्यक्तिमा विश्वास राख्थे। आखिर, कुण्डकुण्डमा पानी र मुण्डमुण्डमा बुद्धि हुन्छ नै। कुपमण्डूकहरू व्यंग्य र आलोचनालाई उनीहरूको स्तर अनुसारकै व्यवहार गर्छन् भन्दै मुस्कुराउँथे कमल।
कांग्रेस नेता शेखर कोइरालाले कमलको श्रद्धाञ्जली सभामा भनेका थिए, “कमलदाइ जे हुनुहुन्थ्यो, उहाँका फेसबुक स्टाटसहरूले त्यस्तै सत्य बोलिरहेका हुन्थे।” वास्तवमै, उनको जीवन स्वतन्त्र र सिर्जनशील थियो। उनी विचारका मानिस थिए—शरीरले जेसुकै अनुभूति गरोस्, चेतनाको युवापन उनमा कहिल्यै कमी भएन।
युगसँग संवाद
पञ्चायतकालभरी नेपालको प्रतिपक्षी राजनीति लामो समयसम्म विराटनगर र धरानमै केन्द्रित रह्यो। २००७ सालमा संयुक्त कांग्रेसको केन्द्रीय नेतृत्वमा (पार्टी सभापतिलाई डिक्टेटर भनिन्थ्यो) मातृका प्रसाद कोइराला थिए भने पूर्वी मोर्चाका कमान्डर बीपी कोइराला। बा र काकाभन्दा फरक राजनीतिक यात्रा गर्ने त्यही घरको एउटा कुनामा एक युवा भने कम्युनिस्ट विचारको लालझण्डा फहराइरहेका थिए—उनी थिए, कोइराला परिवारको एक्लो कम्युनिस्ट, कमल कोइराला।
एक कुलीन, सम्पन्न, राजनीतिक परिवारको छोरा भएर पनि जनसाधारणसँग कमल कसरी घुलमिल भए? कसरी कम्युनिस्ट पार्टी रोज्दै भूमिगत जीवन रोजे? यो कथाका किस्सा आज पनि विराटनगरतिर 'जनकथा'झैँ सुनिन्छन्। उनी जीवनभर मेरो जिज्ञासाको पात्र रहे—प्रधानमन्त्रीको छोरो किन जेल जान तयार हुन्छ? जन्मजात विशेषाधिकार त्यागेर कम्युनिस्ट आन्दोलनमा जीवन अर्पण गर्छ?
नेपालको कम्युनिस्ट आन्दोलन विभाजित हुँदै गयो। संसारका मजदुर एक हौँ भन्ने सपना बोकेका विचारधारामा गहिरो मतभेद भएर नेपालका कम्युनिस्ट विभिन्न चिरामा फुट्दै गए। कमल दाइ पनि एउटा समूहमा लाग्नै पर्थ्यो, पूर्व कोशी प्रान्तीय कमिटीमा लागे।
हामी फरक–फरक कम्युनिस्ट धारमा थियौँ। उनी नेपाल कम्युनिस्ट पार्टी हुँदै पूर्व कोशी प्रान्तीय समिति, नेकपा मार्क्सवादी, एमाले हुँदै एकीकृत समाजवादीसम्म पुग्दा म चौथो महाधिवेशन, माओवादी जनमोर्चा, भूमिगत आन्दोलन हुँदै माओवादी केन्द्र पुगेँ। उनी पार्टीमा सक्रिय नै रहे, म विचारमा प्रतिबद्ध भए पनि संगठनबाट स्वतन्त्र भएँ। तर हाम्रो सम्बन्ध सधैँ कमरेड भावमै रह्यो।
कोइराला मोडेल
उमेरको दुई दशक फरक भए पनि त्यो अन्तर हामीबीचको वैचारिक समझदारीमा कहिल्यै बाधक बनेन। हामीबीचको सम्बन्ध विज्ञानका आँखाबाट समाज, जीवन र समयलाई बुझ्ने साझा विश्वासमा आधारित थियो। कमल दाइको अनुभव, अध्ययन र विश्लेषणले हाम्रो संवादलाई गहिरो बनाउँथ्यो।
कमल कोइराला कुलीन पृष्ठभूमिमा जन्मिए। उनका काका बीपी कोइराला प्रधानमन्त्री, बुबा मातृका कोइराला राजदूत, मन्त्री, प्रधानमन्त्रीको जिम्मेवारीमा रहे। तर कमल दाइ सत्ताको लोभ र प्रतिष्ठाको मोहबाट सदैव टाढा रहे। उनी भन्थे, “विद्रोही खोज्छ आँधी, मानौँ त्यहाँ शान्त छ।”
प्रश्नहरू मरिरहेको समयमा बाच्नु पनि अति कष्टकर हुन्छ। विज्ञानभन्दा २०० वर्षपछि छ पूर्वीय दर्शन। अल्पायुमै मान्छेको चिन्तनमा वृद्धापन छाउन लागि सक्ने यस्तो समाजमा उमेरमा वृद्ध, अनुभवको सँगालो, जनइतिहासका व्याख्याता र विज्ञान चेत भएको व्यक्तिसँग छलफल गर्न पाउनु मलाई सुखद क्षण हुन्थ्यो।
उनी विविध विधाका गम्भीर अध्येता थिए। उनको जिज्ञासाले सोचनीय प्रश्नहरू खडा गर्थे र ती प्रश्नले उनलाई फरक बाटो रोज्न प्रेरित गर्थे। हामी प्रेरित हुन्थ्यौँ।
मानिस हठात् रूपमा विद्रोही बन्दैन—जब विचार, अनुभव र मानवीय दायित्व मिल्छ, तब मात्र कुनै व्यक्तित्व निर्माण हुन्छ। कमल दाइ त्यही निर्माणको उदाहरण थिए।
इतिहासको साक्षी र दस्ताबेज
कमल दाइको परिवार द्वितीय विश्वयुद्ध र भारतीय स्वतन्त्रता संग्रामबाट प्रभावित र प्रशिक्षित थियो। कोइराला निवास स्वयं राणा विरोधी आन्दोलनको केन्द्र थियो। क्रान्तिकारी परिवारमा जन्मेका उनले त्यहीँ भारतीय प्रख्यात आञ्चलिक साहित्यकार फणिश्वरनाथ रेणुलगायत अन्य समाजवादी चिन्तक र लेखकलाई नजिकबाट चिने। रेणुले कोइराला निवासमै बीपी कोइरालालाई सम्बोधन गरेर ‘सान्दाजु, म अब घर फर्किएँ’ नामक पत्र लेखेका थिए।
रेणुको 'नेपाली क्रान्ति कथा' कमल दाइ बारम्बार उद्धृत गर्थे, “राजनीतिक परिवर्तनले सामाजिक र आर्थिक रूपान्तरण सुनिश्चित नगरेसम्म त्यो परिवर्तनको अर्थ रहँदैन।” यही विश्वासले उनलाई नातेदार मनमोहन अधिकारीको नजिक ल्यायो।
उनले भरतमोहन अधिकारीसँग मिलेर कोशी ल फर्मसमेत चलाए।
श्रद्धाञ्जली सभामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र कानूनविद् कृष्णप्रसाद भण्डारीले उनको कानूनी सक्रियताबारे प्रकाश पारे।
कमल दाइ नेपालको प्रमुख राजनीतिक युगहरूका सक्रिय साक्षी मात्र होइन, दस्ताबेजसमेत थिए—राणा शासन, प्रजातन्त्र, राजा महेन्द्रको कु, पञ्चायती अधिनायकवाद, बहुदलीय पुनर्स्थापना, माओवादी विद्रोह र गणतन्त्रसम्म उनले देखे, भोगे र विश्लेषण गरे। भूमिका निभाए।
उनले चिनियाँ क्रान्तिदेखि भारतको स्वतन्त्रता आन्दोलनसम्मको प्रभाव बुझेका थिए। उनी पुष्पलाल, तुलसीलाल र मनमोहन अधिकारीबीचको वैचारिक द्वन्द्व देख्ने व्यक्ति थिए। झापा विद्रोहका अगुवा मोहनचन्द्र अधिकारीलाई भने उनले साथ दिन सकेनन्।
यस्ता ऐतिहासिक घटनाका बीचमा उभिएर विचारमा अडिग रहनु सजिलो थिएन। अवसर पाएपछि गल्ने नेताहरूको भिडमा, उनी कमल कोइराला नै बनेर टिके।
आस्था र रोमान्स
कमल दाइ भन्थे, "विचार समात्न नसक्नु र छोड्न नसक्नु विडम्बना हो।" कृत्रिम आदर्शलाई उनी पाखण्ड भन्थे। कम्युनिस्टहरू जोगी हैनन्, उनीहरू पनि सांसारिक मनोविज्ञानले सञ्चालित हुन्छन्। तर उनी भौतिक समृद्धिमा होइन, बौद्धिक सम्पत्तिमा रमाउने व्यक्ति थिए। थापागाउँस्थित उनको घर पुग्दा वातावरण नै रोमाञ्चक हुन्थ्यो–बोतल, पुस्तक र रोचक संवाद।
उनी रसिक थिए। दुई दशकसम्म काल्पनिक प्रेमिकासँग प्रेमिल संवाद चलाएको कुरा गर्थे। प्रेमलाई अश्लीलतामा बुझ्ने समाजले नौ दशकको विदूषकलाई सहजै लिन सक्दैनथ्यो तर उनले प्रेमलाई ऊर्जा ठान्थे। लुकाएर होइन, खुलेर मदिरा पिउने कमरेड कमल जीवनप्रति निडर दृष्टिकोण राख्थे। आफ्ना भावना दबाएर बस्नुपर्ने कुण्ठाग्रस्त समाजमा हिम्मत भर्ने व्यक्तित्व हुन् कमल।
यो पनि: राणाशाही र पञ्चायत मध्ययुगीन, अहिलेको प्रणालीमा व्यापक सुधार
आवश्यक उनका फेसबुक स्टाटसहरूमा प्रेम, राजनीति, दर्शन र व्यङ्ग्य गहिराइका साथ मिसिएका हुन्थे। उनी जीवनको सूत्रमा होइन, सिर्जनात्मकतामा विश्वास गर्थे।
भन्थे, “युवा हुन युवा चेत हुनुपर्छ। प्रविधिको विकासलाई विज्ञान चेतले आत्मसात् गर्नुपर्छ। नत्र मान्छे प्रविधि प्रयोग गर्ने अन्धविश्वासी घण्टाराम बन्न पुग्छ। हरेक नयाँ पुस्ताले पुरानाले बनाएका रेकर्ड तोड्नै पर्छ। समाजको स्तर बढाउने हो भने नयाँ निर्माण गर्ने नायक खोज्नै पर्छ।”
सम्झनामा बाँकी क्रान्ति
कमल कोइरालाको स्मृति सभामा कांग्रेस, एमाले, समाजवादी पार्टीका मात्र नभएर न्यायपालिका र कानूनका गम्भीर व्यक्तित्वले श्रद्धा प्रकट गरे। उनले जीवनभर भौतिकवादी विचार समाते। स्वर्ग र नर्कसँग उनको कुनै सरोकार रहेन। तर मृत्युमा सबैले उनलाई ‘स्वर्गीय’ भने। सायद त्यो विडम्बना हो, तर विचारहरू कालजयी हुन्छन्। सबैको हकवाला हुन सके पनि विचार र इतिहासको कोही पनि हकवाला हुन सक्दो रहेनछ। त्यही कारण पनि महान् विचारक र त्यस्ता विचार अपनाउनेहरूको इतिहास संरक्षण आवश्यक छ।
आफै एक स्कुल, विचार, विद्रोह र सजीव दस्ताबेज उनको जीवन यात्रा र चेतनालाई विस्मृतिमा जान दिनु हुँदैन। सत्तासँग आँखा जुधाएर संवाद गर्न सक्नु र हरेक विषयमा जिज्ञासा राखेर प्रश्न गर्नु उनको परिचय र युगान्तकारी चेत थियो। उनलाई सम्झनु समकालीन समाजको इतिहास र संवेदना फेरि अध्ययन गर्नु हो।
कमल दाइ छैनन्, तर उनका शब्द, चिन्तन र दृष्टिकोण हामीभित्र बाँचिरहेका छन्।
आँधी र हुरी नचलेको बेला
वातावरण स्तब्ध र शान्त भएको घडीमा
एउटा नर्कट पनि
छाती खोलेर ठिंग उभिन सक्छ
एउटा कायरले पनि
बहादुरीका लामा–लामा कुरा गर्न सक्छ
तर, मेरा मित्र
आँधी र हुरी चलिरहेको बेलामा
वातावरण गतिशील र अशान्त भएको घडीमा
पहाडको चुचुरोमाथि
आँधी र हुरीसँग पौठेजोरी खेल्दै
एउटा मात्र ठिंग उभिन सक्छ।
(शहीद नेत्रलाल अभागी)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
