फ्रेडरिख मर्ज जर्मनीको चान्सलरमा निर्वाचित

नयाँ नेतृत्वबाट जर्मनीमा दीर्घकालीन राजनीतिक अन्योलको अन्त्य हुने, आर्थिक नीतिमा स्पष्टता आउने, कर प्रणालीमा सुधार तथा भौतिक पूर्वाधारको सुदृढीकरणमार्फत आर्थिक वृद्धि हुने अपेक्षा गरिएको छ।

तस्वीर: एपी

जर्मनीको दसौँ संघीय प्रमुख (चान्सलर) मा फ्रेडरिख मर्ज निर्वाचित भएका छन्। मंगलबार भएको दोस्रो चरणको मतदानमा उनले आवश्यक बहुमत प्राप्त गरेका हुन्।

पहिलो चरणको मतदानमा उनले ३१६ मत आवश्यक पर्नेमा ३१० मत मात्र प्राप्त गरेका थिए। दोस्रो चरणमा भने ३२५ मत प्राप्त गरेर निर्वाचित भए। 

६९ वर्षीय मर्जले यसअघि कार्यकारी जिम्मेवारी सम्हालेका थिएनन्। कोनराड एडेनाउरपछि उनी जर्मनीको चन्सलरमा निर्वाचित हुने सबैभन्दा ज्येष्ठ व्यक्ति हुन्। 

नयाँ नेतृत्वबाट जर्मनीमा दीर्घकालीन राजनीतिक अन्योलको अन्त्य हुने, आर्थिक नीतिमा स्पष्टता आउने, कर प्रणालीमा सुधार तथा भौतिक पूर्वाधारको सुदृढीकरणमार्फत आर्थिक वृद्धि हुने अपेक्षा गरिएको छ।

युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले नवनिर्वाचित चान्सलर मर्जलाई बधाइ ज्ञापन गर्दै, युरोपसँगको  साझेदारीमा जर्मनीको भूमिकामा अझ सशक्तता हुने विश्वास व्यक्त गरेका छन्। जर्मनी, अमेरिकापछि युक्रेनलाई सबैभन्दा बढी सहायता उपलब्ध गराउने राष्ट्र हो।