मकवानपुरमा सवारी दुर्घटना ९ जना घाइते, ६ गम्भीर

खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा१५च १३३३ नम्बरको सवारीसाधन बुधबार बिहान दुर्घटनामा परेको हो।

भीमफेदी– मकवानपुरको राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकखण्डमा यात्रीवाहक सवारीसाधन दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। जसमध्ये ६ जनाको अवस्था गम्भीर छ।

खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा१५च १३३३ नम्बरको सवारीसाधन बुधबार बिहान दुर्घटनामा परेको हो। जसमा राक्सिराङका–९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिलबहादुर घलान र उनकी पत्नी ७० वर्षीया फूलमाया घलान, ३८ वर्षीय रुपबहादुर राउत र ४८ वर्षीय दीपक खड्का गम्भीर घाइते भएको डीएसपी श्यामु अर्यालले जानकारी दिए। 

दुर्घटनामा ५० वर्षीय सूर्य अधिकारी र १४ वर्षीय कुमार तामाङ,  राक्सिराङ गाउँपालिका–९ निवासी २८ वर्षीय सुजन तामाङलाई भने सामान्य चोट लागेको छ। घाइतेहरूको मनहरी अस्पतालमा उपचार भइरहेको छ।