हाँडीगाउँको जात्रामा जगतमै नभएको फूल!

बोलीचालीमा ‘कहीँ नभएको जात्रा’ भनिए पनि हाँडीगाउँका बासिन्दा चोक्टे नारायणको जात्रा भन्छन्। यस जात्रामा उल्टो खट र मैनको फूल प्रयोग हुने कारण अन्य जात्राभन्दा फरक भएको हो।

हाँडी गाउँको जात्रा। तस्वीर: उकालो

काठमाडौँ- काठमाडौँको हाँडीगाउँमा सोमबार ‘कहीँ नभएको जात्रा’ मनाइएको छ।

‘कहीँ नभएको जात्रा, हाँडीगाउँमा’ उखान नसुन्ने कमै होलान्। कसैले  नगरेको काम वा अनौठो काम गर्दा होच्याएर अथवा प्रोत्साहन दिन यो उखान भनिने गरिएको छ।

हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कात्तिक कृष्ण प्रतिपदाको दिन काठमाडौँ महानगरपालिका–५ हाँडीगाउँमा मनाइने जात्राकै कारण यो उखान बनेको हो। यो जात्रा देशभर मनाइने अन्य जात्राभन्दा भिन्न भएकै कारण ‘कहीँ नभएको’ भनिएको हो। यसको सम्बन्ध इतिहास र मिथकसँग छ।

हाँडीगाउँ लिच्छविकालीन समयको राजधानी हो। हाँडीगाउँकै विषयमा विद्यावारिधि गरेका संस्कृतिविद् डा. सुदर्शनराज तिवारीका अनुसार लिच्छविहरूले हाँडीगाउँलाई राजधानी कायम गरी राजपाट सम्हालेका थिए। त्यस समय हाँडीगाउँ विशालनगर नामले प्रचलित थियो, जुन बूढानीलकण्ठदेखि अनामनगरसम्म फैलिएको डा. तिवारी बताउँछन्।

बोलीचालीमा ‘कहीँ नभएको जात्रा’ भनिए पनि यहाँका बासिन्दा यस जात्रालाई ‘चोक्टे नारायणको’ जात्रा भन्छन्। यस जात्रामा उल्टो खट र मैनको फूल प्रयोग हुने कारण उखान बनाइएको ८१ वर्षीय स्थानीय रामप्रसाद कर्माचार्य बताउँछन्। उल्टो खट अन्य जात्रामा हुँदैन भने मैनको फूल अन्य पूजामा प्रयोग हुँदैन।

“अन्य जात्रामा प्रयोग हुनेभन्दा ठ्याक्कै उल्टो खट यस जात्रामा प्रयोग हुन्छ। खटको गजुर पिँधतिर हुन्छ भने खटका दुई तल्ला आकाशतर्फ फर्किएका हुन्छन्,” उनले भने। खट उल्टो हुनाको कारण जात्रासँग सम्बन्धित किंवदन्तीमा आधारित रहेको कर्माचार्य बताउँछन्।

यस्ता छन् किंवदन्ती
प्राचीनकालमा एकपटक हाँडीगाउँमा दुई दिदी-बहिनी एकैपटक गर्भवती भए। जसमध्ये, दिदी नास्तिक थिइन् भने बहिनी आस्तिक। मानिसले भोग्नु पर्ने प्रसव वेदना र साहसको श्रेय दिदी मानव जातिलाई दिन्थिन् भने बहिनी संसारको सृष्टि नै भगवान‍्को देन मान्थिन्।

दुवैलाई प्रसव पीडाले च्याप्यो। बहिनीले सरल तरिकाले सन्तान जन्माइन् भने दिदीले १२ वर्षसम्म पनि  बच्चा जन्माउन सकिनन्। “प्राचीन कालमा देवताको अपमान गर्नु अपराधसरह थियो, त्यसकारण पनि हुनसक्छ उनको  बच्चा  जन्मन सकेन,” कर्माचार्य भन्छन्, “पछि उनका परिवारले  नारायण भगवान‍्लाई ‘कहीँ नभएको जात्रा’ गर्ने वाचा गरेपछि बच्चा जन्मिएको भन्ने कथन हामीले सुन्दै आएका थियौँ।” जन्मिएको बच्चा उल्टो र जुँगासहित जन्मिएकोले खटलाई उल्टो पारिएको जनविश्वास यहाँका स्थानीयमा छ।

उल्टो खटसँगै जगतमै नभएको मैनको फूल पनि यो जात्राको अर्को मुख्य आर्कषण हो। जनश्रुतिअनुसार जात्रामा खट सजाउन प्रयोग हुने मैनको फूल प्रसूति व्यथा लागेका महिलालाई चढाए पीडा कम हुन्छ।

यो अनौठो जात्राका सम्बन्धमा यस्तै अर्को किंवदन्ती पनि प्रचलित छ। कोही तत्कालीन समयकी एक रानीले मानव भेष धारण गरी आएका भगवान् नारायणलाई उपेक्षा गर्दा उनको प्रसूति व्यथा १२ वर्ष लम्बिएको पनि बताउँछन्। प्रसव व्यथामा रहेकी रानीले ऐया, आमा भनिरहँदा मानव रूपमा आएका नारायणले नारायणको नाम जप्न सल्लाह दिन्छन्।

तर, उनले उपेक्षा गर्छिन्। यससँगै नारायण रुष्ट भई उनको प्रसूति व्यथालाई कायम गरी उत्तरी भेगमा लाग्छन्। वैद्यगुरु तथा ज्योतिषीबाट वास्तविक घटना पत्तो लागेपछि राजाले कहीँ नभएको जात्रा गर्ने वाचा गर्छन्, जससँगै रानीले बच्चा जन्माउँछिन्।

ऐतिहासिक घटनाक्रमको निकटता
मिथककै मिथकको यस जात्राका कथानकका आधार धेरै भए पनि नेपालको एक ऐतिहासिक घटना क्रमसँग पनि यस जात्राको निकटता रहेको डा. तिवारी बताउँछन्। जात्रा लिच्छविकालीन भएको उनको दाबी छ। उनका अनुसार यो जात्रा देवतासँग मात्र सम्बन्धित नभई मावन इतिहाससँग पनि सम्बन्धित छ।

“लिच्छविकालीन राजा शिवदेव प्रथमका छोरा राजा उदयदेवको देश निकाला भयो। राजाहरूसँगै राजपाटमा आफ्नो दबदबा बढाएका गुप्ताहरूले अनेक प्रपञ्च रची राजा उदयदेवलाई देश निकाला गर्छन्। उनीसँगै उनकी छोरी भृकुटी र छोरा नरेन्द्रदेव पनि निकालिए,” उनी भन्छन्।

डा. तिवारीका अनुसार राजा उदयदेवसहित भृकुटी र नरेन्द्रदेव तिब्बती राजा श्रोङचोङ गम्पोको शरणमा पुगे। जहाँ भृकुटीको विवाह राजा गम्पोसँग भयो। तिब्बतमा शरण लिएको २० वर्षपछि भृकुटीले आफ्नो भाइ नरेन्द्रदेवलाई सेनासहित नेपाल पठाएकी थिइन्।

राजा फर्किएरपछि उनको स्वागतमा  यो जात्रा देखाइएको मान्यता नेपाली इतिहासमा उल्लेख गरिएको छ। यसकारण पनि यस जात्रालाई देवता मात्र नभई इतिहासको घटना क्रमसँग पनि सम्बन्धित रहेर हेर्नुपर्ने उनको तर्क छ।

“कतिपय किंवदन्ती र मान्यताअनुसार बच्चाको जन्म २० वर्षपछि भयो भने २० वर्षपछि भृकुटीले आफ्नो भाइ नरेन्द्रदेवलाई सेनागणसहित नेपाल पठाएकी थिइन्,” उनले भने, “नरेन्द्रदेव नेपाल आएपछि हाम्रो राजालाई स्वागत र स्वीकृतिस्वरूप यहाँका स्थानीयले यो जात्रा सुरु गरेका हुन्।”

उनका अनुसार जात्रामा रहेका तीनवटा खट ब्रह्मा, विष्णु र महेश्वरको हो। राजा नरेन्द्रदेवलाई नारायण मानेर ब्रह्मा र विष्णुलाई साक्षी राखेर जात्रा चलाएको हो।

राजनीतिक षड्यन्त्रले देश निकाला गरिएको राजा उदयदेवको सन्तान नरेन्द्रदेवलाई सामाजिक तथा वैधानिक रूपमा आमजनमासनमा स्थापित गराउन जात्रामार्फत स्वागत गरिएको तर्क डा. तिवारी गर्छन्।

नरेन्द्रदेवका सन्तान जयदेवले पशुपतिनाथमा स्थापना गरेको एउटा शिलालेखले नै यसलाई प्रमाणित गर्ने उनी बताउँछन्। उक्त शिलालेखको एक श्लोकमा आलंकारिक रूपमा यस जात्राको वर्णन गरिएको उनको भनाइ छ।

जात्रामा प्रयोग भएको खट वास्तवमा कमलको प्रतीक भएको डा. तिवारी बताउँछन्। “यो उल्टो खट नभई कमलको फूल हो, जसमा ती देवता विराजमान भएको भनिएको छ। उल्टो खटमा कन्टाप मात्र नभई कलश हुनु पर्छ। जुन त्यसमा छैन,” उनी भन्छन्।

मैनको फूल तिब्बतबाट आएको हुनसक्ने उनको अनुमान छ। मैनको फूल नेपालमा पाइँन्दैन थियो। जात्रासँगको किंवदन्तीलाई सम्झन मैनको फूललाई जोडेको हुनसक्ने उनले बताए। उनका अनुसार यो जात्राले लिच्छविकालको कुरा गर्छ भने गहना पोखरीले किरात कालको। समाजलाई हेर्ने तरिका बुझाउन सकियोस् भनेर जात्रासँग जोडिएका किंवदन्तीलाई कथाको स्वरूप दिएको हुनसक्ने तिवारीको भनाइ छ।

उखानको उदय
‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ यो भनाइ मल्लकालदेखि चलेको डा. तिवारीको तर्क छ। किरात र लिच्छविको अभिलेख नहुँदा मल्लकालमा हेपेर यस्तो उखान बनाएको हुनसक्ने उनीको अनुमान छ।

सामाजिक व्यवस्थामा ज्यापु समुदायमा निम्न वर्गमा पर्थे। मल्लकालीन समयमा हाँडीगाउँमा विशुद्ध ज्यापु समुदायको बस्ती थियो। यस आधारमा पनि मल्लहरूले हेप्ने प्रवृत्तिअनुसार यस्तो उखान बनाएको हुनसक्ने उनी तर्क गर्छन्।

त्यस्तै, समुदाय विशेषले यस जात्रालाई ‘चोक्ते नारायण’ भने पनि यसको वास्तविक नाम ‘चौखट नारायण’ भएको उनी बताउँछन्। जुन, बाँसबारीको छेउमा रहेको चोखटको नारायण भएको उनको दाबी छ।