मुस्ताङको स्याङमा उन्नत गाईपालन व्यवसाय फस्टाउँदै

परम्परागत हिमाली लुलु गाईले भन्दा जर्सी गाईले मनग्ये दूध दिने भएकाले मुस्ताङका किसान त्यतैतर्फ आकर्षित हुन थालेका हुन्।

मुस्ताङ– जिल्लाको घरपझोङ गाउँपालिका–३ स्याङ गाउँमा उन्नत जर्सी गाईपालन व्यवसाय फस्टाउँदै जान थालेको छ। उन्नत गाईको दूधबाट मनग्ये आम्दानीका साथै किसानको फलफूल तथा तरकारी बगैँचामा गोबरबाट बनेको मल प्रयोग गर्नका लागि उन्नत जर्सी गाईपालन व्यवसाय अपनाइएको हो।

डेढ दशकअघि मुस्ताङको जोमसोमलगायत आसपासका पर्यटकीय गाउँका होटल तथा रेस्टुरेन्टले शहरिया सिलबन्द गरिएका पाउडरको दूध प्रयोग गर्ने गर्थे। जब मुस्ताङको स्याङ गाउँबाट उन्नत जर्सी गाईपालन शुरू भयो त्यसपछि भने यहाँ प्रयोग गरिने प्याकेटका पाउडरको दूध विस्थापित हुँदै जान थालेको स्थानीय बताउँछन्।

अहिले मुस्ताङमा बजारिया पाउडरको दूध ९० प्रतिशत विस्थापित भइसकेको घरपझोङ–३ का वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीले जानकारी दिए। उनका अनुसार जिल्लामा पाउडरको दूध विस्थापित हुनुको मुख्य कारण स्याङ गाउँको उन्नत जर्सी गाईपालन हो। गाउँमा शुरूआती चरणमा थकालीले उन्नत जर्सी गाईपालन शुरू गरेका थिए।

हिमाली क्षेत्रमा परीक्षणका रूपमा गाईपालन शुरू गरेको बताउँदै यो व्यवसाय प्रभावकारी देखिन थालेपछि स्याउ गाउँका अन्य किसानले पछ्याउन थालेका वडाध्यक्ष थकालीले उल्लेख गरे।

आफूले तत्कालीन समयमा उन्नत जर्सी गाईपालन जिल्लामा भित्र्याएपछि त्यसबेला साविक पशुसेवा कार्यालय र साविक जिल्ला विकास कार्यालयले दूध उत्पादनलाई बढाउने तथा प्रवर्द्धन गर्ने उद्देश्यले उन्नत जर्सी गाईपालन खरिदका लागि अनुदानका कार्यक्रम ल्याएको वडाध्यक्ष थकालीले स्मरण गरे।

परम्परागत हिमाली लुलु गाईले भन्दा उन्नत जर्सी गाईले मनग्ये दूध उत्पादन गर्ने भएकाले मुस्ताङका किसान उन्नत जर्सी गाईपालनतर्फ आकर्षित हुन थालेका उनले बताए।

“एक दशकअघि हिमाली उपआयोजनाले मुस्ताङमा उन्नत जर्सी गाईपालन कार्यक्रम ल्यायो। त्यससमय उक्त आयोजनाले जिल्लाका किसानलाई ८० प्रतिशत अनुदानमा उन्नत जर्सी गाईपालन गर्न प्रोत्साहित गर्‍यो। त्यसपछि भने यहाँ उन्नत पालन व्यवसाय झाङ्गिँदै गएको हो,” उनले भने।

स्याङ गाउँमा उन्नत गाईपालनसँगै मुस्ताङ डेरी उद्योगसमेत स्थापना भएको छ। सहकारीमार्फत अनुदान पाएका किसानले उन्नत गाईको दूध डेरी उद्योगमा लगेर बिक्री गर्न पाउने भएका छन्। कतिपय किसानले डेरीमा बिक्री नगरी मोटरसाइकलमार्फत घरघरमा पुर्‍याउने गर्छन्। स्याङमा अहिले ४० घरधुरीले एक सयभन्दा बढी उन्नत जर्सी गाईपालन गरेका वडाध्यक्ष थकालीले जानकारी दिए। उनी मुस्ताङमा उन्नत जर्सी गाईपालन गर्ने पहिलो व्यक्ति हुन्।

वडाध्यक्ष थकालीले स्याङ गाउँ कृषिमा आधारित गाउँ भएकाले दूध बिक्री गर्न र गाईको मलमुत्र खेतबारीमा प्रयोग गर्न निकै सजिलो भएको बताए। स्याङ गाउँमा अहिले दैनिक चार सय लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको उनको भनाइ छ।

घरपझोङ–३ स्याङका स्थानीय निमा फन्चोक गुरुङले चार वटा उन्नत जर्सी गाईपालन गरेका छन्। दश वर्षअघि ११ वटा गाई र एउटा गोरुबाट पशुपालन व्यवसाय शुरू गरेका गुरुङले अहिले दूधको बजारमा प्रतिस्पर्धा भएको, पशु आहारा र घाँसको मूल्य वृद्धि भएकाले संख्या घटाएको बताए।

दूधको मूल्य वृद्धि हुन नसकेको तर दाना र घाँसको मूल्य महँगो भएकाले कृषि प्रयोजनका लागि मात्रै गाईपालन गरिरहेको गुरुङले बताए। “पहिले दूध बिक्री गर्दा मनग्ये आम्दानी हुन्थ्यो, अहिले गाउँमा उत्पादन बढी हुँदा आम्दानीको स्रोत खुम्चिएको छ,” गुरुङले भने, “फलफूल बगैँचा र तरकारी बारीमा मल चाहिने भएकाले गाईपालनलाई निरन्तरता दिँदै आइरहेको छु।”

शुरूआती चरणमा ११ गाईबाट तीन सय लिटरभन्दा बढी दूध उत्पादन गर्ने गरेकामा अहिले दैनिक ४० लिटर मात्रै बिक्री भइरहेको उनले जानकारी दिए।

बर्खायाममा दूधको माग अत्यधिक हुने गरेको भए पनि किसानमा समन्वय नहुँदा मूल्य वृद्धि हुन नसकेको गाईपालक कृषक जीवन थकालीले बताए। उनका अनुसार मुस्ताङको स्याङ गाउँबाट शुरू भएको उन्नत गाईपालन अहिले फैलिँदै जिल्लाको ठिनी, मार्फा, टुकुचे र कागबेनीसम्म पुगेको छ।

पर्यटकीय यामबाहेक हिउँदको तीन महिना उन्नत गाईको दूध बिक्री गर्न समस्या हुने गरेको किसान बताउँछन्। हिउँदयाममा पर्यटकको उपस्थिति कम हुने र जिल्लाका नागरिक बेँसी झर्ने भएकाले दूधको खपत कम हुने गरेको स्थानीय गाईपालकको भनाइ छ।