शेयरबजारमा उच्च अंकको वृद्धि

आज नेप्से ६२.२५ अंकले बढेर २ हजार ६७३.६९ को विन्दुमा कायम भएको छ। यो २.३८ प्रतिशतको वृद्धि हो।

काठमाडौँ– शेयरबजार परिसूचक नेप्सेमा बुधबार उच्च अंकको वृद्धि देखिएको छ। आज नेप्से ६२.२५ अंकले बढेर २ हजार ६७३.६९ को विन्दुमा कायम भएको हो। यो २.३८ प्रतिशतको वृद्धि हो।

आज नेप्सेमा कारोबार रकम पनि बढेर साढे १० अर्ब नाँघेको छ। ३०८ कम्पनीको दुई करोड ७२ लाख ४५ हजार ४५९ कित्ता शेयर खरिदबिक्री हुँदा १० अर्ब ५१ करोड ८४ लाख छ हजार ३५२ रुपैयाँ बराबरको कारोबार भएको हो।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा बढी वित्त समूह ५.४७ र जलविद्युत् समूह ३.१३ प्रतिशतले बढेको छ। बैंकिङ २.९७, विकास बैंक २.४०, होटल तथा पर्यटन १.५९, लगानी ०.८१ र जीवन बिमा समूह २.४४ प्रतिशतले बढेको छ।

उत्पादन तथा प्रशोधन १.१८, लघुवित्त दुई.२४, म्युचुअल फन्ड ०.५७, निर्जीवन बिमा २.६७, व्यापार ०.५३ र अन्य समूह २.५३ प्रतिशतले बढेको छ।

नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ४.५० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सानिमा माई हाइड्रोपावर लिमिटेडको ५९ करोड २० लाख ९६ हजार ८२६ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार संख्याका आधारमा सिङ्गटी हाइड्रोइनर्जी लिमिटेडको १४ लाख २६ हजार ३७९ कित्ता शेयर खरिदबिक्री भएको छ।