तीनकुनेमा बसको ठक्करबाट १ जनाको मृत्यु, ३ घाइते

बसको ठक्करबाट मोटरसाइकलमा सवार नुवाकोटकी २३ वर्षीय नगिना तामाङको मृत्यु भएको छ।

काठमाडौँ– पेप्सीकोलाबाट रत्नपार्कतर्फ आउँदै गरेको बा३ख ७०६२ नम्बरको बसले तीनकुनेमा भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्।

बसको ठक्करबाट मोटरसाइकलमा सवार नुवाकोटकी २३ वर्षीय नगिना तामाङको मृत्यु भएको हो। गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले बताए। 

मोटरसाइकल चालक रामेछापको दोरम्बाका २७ वर्षीय पदम थापामगर, भ्यानका चालक काभ्रेपलाञ्चोक मण्डनदेउपुरका ३५ वर्षीय रत्नबहादुर सार्की, ठक्कर दिने बसमा सवार दोलखा गौरीशङ्करकी २४ वर्षीय मेनुका बुढाथोकी घाइते छन्।

प्रहरीले बस चालक रामकुमार खड्का, भ्यान र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।