नेपालयको पुस्तक मेलामा ६० प्रतिशतसम्म छुट

पाठकले आफ्ना प्रकाशन एकै ठाउँ छुट मूल्यमा किन्न सकुन् र लेखकसँग भेटको मौका पाऊन् भन्ने उद्देश्यले पुस्तक मेला आयोजना गर्न लागेको नेपालयले जनाएको छ। 

काठमाडौँ– पब्लिकेसन नेपालयले २० वर्ष पुगेको अवसरमा किताबमा विशेष छुटसहित पुस्तक मेला आयोजना गर्ने भएको छ। 

वैशाख २७ र २८ गते हुने मेलामा नेपालयले आफ्ना प्रकाशनमा ६० प्रतिशतसम्म छुट दिने बताएको छ। पाठकले आफ्ना प्रकाशन एकै ठाउँ छुट मूल्यमा किन्न सकुन्, लेखकसँग भेटको मौका पाऊन् भन्ने उद्देश्यले पुस्तक मेला आयोजना गर्न लागेको नेपालयले जनाएको छ। 

पुस्तक मेलामा नेपालयका ३० भन्दा बढी लेखकको उपस्थिति रहने प्रमुख कार्यकारी सैजन मास्केले बताइन्। 

“हाम्रो पहिलो पुस्तक पल्पसा क्याफेले धेरै पाठकको माया पायो,” नेपालयका प्रमुख कार्यकारी सैजन मास्केले भनिन्, “२० वर्षदेखि पाएको मायाको सम्मानमा हामी आफ्नै अफिस कालिकास्थानमा पुस्तक मेला आयोजना गरेर पाठकलाई सुखद अनुभव दिने तयारीमा छौँ।”