बगरमा उत्पादन भएको तरबुजा, काँक्रोलगायतको साजसब्जी बिक्री गर्न मुक्तकमैया परिवारले पूर्वपश्चिम राजमार्ग नजिक टहरा नै बनाएका छन्।
कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ वनहराका मुक्तकमैया परिवारले बगरलाई हराभरा बनाएका छन्। बगरमा तरबुजा, काँक्रो, लौका, फर्सी, मुला, तोरैयालगायत फल र सागसब्जी लटरम्म छन्।
बगरमा १०० बढी परिवारले उत्पादन गरेका तरबुजा, काँक्रोलगायतको साजसब्जी बिक्री गर्न मुक्तकमैया परिवारले पूर्वपश्चिम राजमार्ग नजिक टहरा नै बनाएका छन्। यी टहराबाट उनीहरुले तरबुजालगायत फल बिक्री गर्दै आएका छन्। साँझबिहान राजमार्गमा निकै भीडभाड हुने गरेको छ। यो भीड तरबुजा र काँक्रो खरिद गर्ने ग्राहकको हो।
६ वर्षदेखि बगरमा खेती गर्दै आएका शिवलाल रानाले राजमार्ग छेउको कारोबारले वर्षभरिको घरको खर्च चल्ने बताए। तरबुजालगायत फल बिक्री गरेर दैनिक २ हजारदेखि ३ हजार ५०० रुपैयाँसम्म आम्दानी हुने गरेको उनको भनाइ छ।
वैशाखदेखि असारसम्म ३ लाखदेखि ५ लाख रुपैयाँसम्मको कारोबार हुने गरेको छ। “बढी उत्पादन गर्ने परिवारले बढी आम्दानी गर्छन्,” उनले भने, “थोरै उत्पादन गर्नेको थोरै आम्दानी हुन्छ। १५ वर्षदेखि बगरखेतीमा संलग्न बिरा रानाले बगरमा उत्पादन भएको लौका, तरबुजा बिक्री गरी सकेपछि पुनः स्थापना गरिँदा पाइएको जग्गामा पनि खेती गरेकाले तीन महिना सडकमा बसेर तरबुजाको कारोबार गर्दै आएको बताइन्।
कमैयामुक्तिको घोषणापछि वनहरा नदी छेउको जग्गामा पुनः स्थापना गरिँदा घर निर्माण र खेतीका लागि उनलाई १० कट्ठा जग्गा उपलब्ध गराइएको थियो। “सोही जग्गामा लगाएको अन्नबालीले चार महिना पनि खान नपुग्ने भएपछि केही वर्ष मजदुरी गरेरै जीविका चलायौँ,” उनले भनिन्, “अन्य नदी बगरमा तरबुजा, काँक्रो रोपेको देख्यौँ, हामीले पनि सिक्यौँ, त्यसपछि मजदुरी गर्न छाडेर यो खेतीलाई निरन्तरता दिँदै आएका छौँ।” घर खर्च सहज रुपमा चलेकाले अरुसँग ऋण लिनुपर्ने अवस्था अन्त्य भएको उनको भनाइ छ।
राजमार्ग छेउमै बसेर १४ वर्षीया अस्मिता रानाले पनि तरबुजा बेच्दै आएकी छन्। “बिहान विद्यालय जान्छु,” उनले भनिन्, “त्यसबेला आमाले टहराबाट बेच्नुहुन्छ, विद्यालयबाट फर्केपछि म बेच्छु।” टहरामा बसेर तरबुजा बेचेर आउने आम्दानीको केही हिस्सा घर खर्चका लागि राखेर अरु पैसा विद्यालयमा आवश्यक पर्ने पोसाक, कापी कलमलगायतमा खर्च हुने गरेको छ।
वनहरा मुक्तकमैया बस्तीकै ४० वर्षीया पूजा रानाले एक दशकदेखि राजमार्ग छेउमा तरबुजालगायत बिक्री गर्दै आएका छन्। वनहरा नदीको बगरमा उनले १० कट्ठा जग्गामा तरबुजाखेती गरेका छन्। “वैशाख महिनाको पहिलो हप्तादेखि बेच्न शुरू गरेका हौँ,” उनले भने, “अहिलेसम्म ६५ हजारभन्दा बढीको बिक्री गरिसकेका छौँ।” उनका अनुसार तरबुजा प्रतिकिलो ३० देखि ४० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।
बीउबिजन र रासायनिक मलमा गरेर ३० देखि ४० हजार तरबुजाखेतीमा भएको थेग्रा रानाले बताइन्। रानाले बर्सेनि ५ लाख रुपैयाँभन्दा बढी मुनाफा आर्जन गर्दै आएकी छन्। यस महिनामा मात्रै २० क्विन्टल काँक्रो र ६० क्विन्टल तरबुजा बिक्री गरिसकेकी छन्।
“बिहान बगरबाट टिपेर राखेको तरबुजा तथा साजसब्जी साँझ नपर्दै सकिन्छ,” उनले भनिन्, “बढ्दो गर्मीका कारण ग्राहकले बढी माग गर्ने गरेका छन्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
