अनलाइनमार्फत प्रलोभनमा पारेर २ करोड ६३ लाख ठगी, ७ जना पक्राउ

सामाजिक सञ्जालमार्फत फेक अकाउन्ट बनाएर दुई करोड ६३ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा धनुषा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।

धनुषा– प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा सात जनालाई पक्राउ गरेको छ। सामाजिक सञ्जालमार्फत फेक अकाउन्ट बनाएर ठगी गरेको आरोपमा धनुषा प्रहरीले सात जनालाई पक्राउ गरेर बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।

उनीहरूले अनलाइनको दुरुपयोग गरेर दुई करोड ६३ लाख नौ हजार ३१२ रुपैयाँ ठगी गरेको धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका–१ का सुरज साह, सर्लाही बरहथवा–७ का नितेशकुमार साह, गौशाला नगरपालिका–१ का रोशन साह, सुधीरकुमार महतो, अमित साह, क्षीरेश्वरनाथ नगरपालिका–२ का श्यामसुन्दर महरा र रामकुमार महरा रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट १० वटा मोबाइलसमेत बरामद गरेको छ। ती मोबाइलबाट विभिन्न बैंक तथा वित्तीय संस्था तथा वालेट आईडीसमेत गरी १८७ वटा खाता खोलेको प्रहरी अनुसन्धानमा खुलेको छ।

उनीहरू सस्तोदरमा समान दिने भनेर अग्रिम भुक्तानी लिएर सम्पर्कविहीन हुने गरेका थिए। हालसम्म उनीहरूको चलाएका सामाजिक सञ्जाल फेसबुकमा २१ वटा फेक अकाउन्ट र पेज फेला परेको प्रहरी उपरीक्षक रेग्मीले बताए।