आईपीएल अक्सन : सामले तोडे क्रिस मोरिसको कीर्तिमान

इंग्ल्यान्डका अलराउन्डर साम कुरानलाई पन्जाब किंग्सले १८.५० करोड भारुमा किनेको छ। उनी आईपीएलको इतिहासमै सबैभन्दा महँगा खेलाडी बनेका छन्।

काठमाडौँ– इंग्ल्यान्डका अलराउन्डर साम कुरान इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमा सबैभन्दा महँगा खेलाडी बनेका छन्। २४ वर्षीय कुरानलाई शुक्रबार कोच्चीमा भएको मिनी अक्सनमा पन्जाब किंग्सले १८.५० करोड भारुमा किनेको हो।

मिनी अक्सनमा ८७ खेलाडी किनबेच हुने छन्। अहिलेसम्म ३६ खेलाडी मात्रै किनबेच भएका छन्। जसमध्ये १७ जना विदेशी रहेका छन्। आईपीएलका फ्रेन्चाइजीहरूले २०६.५ करोडमध्ये १३८.९० करोड भारु खर्च गरिसकेका छन्। अब फ्रेन्चाइजीसँग ६७.६ करोड भारु बाँकी छ।

यसअघि सबैभन्दा महँगो खेलाडीको कीर्तिमान दक्षिण अफ्रिकाका क्रिस मोरिसको नाममा थियो। उनले १६.२५ करोड भारु कमाएका थिए। वेस्ट इन्डिजका निकोलस पूरन विकेटकिपरका रूपमा अहिलेसम्मकै महँगो खेलाडी बनेका छन्। उनलाई सनराइजर्स हैदरावादले १६ करोडमा किनेको थियो। यसअघि सबैभन्दा धेरै कमाउने विकेटकिपर मुम्बईका ईशान किसन (१५.२५ करोड भारु) थिए।

अपेक्षा गरेअनुसार अक्सनमा फास्ट बलिङ अलराउन्डरहरूको उच्च माग थियो। यी अलराउन्डरले ३० मिनेटमा ५९ करोड भारु कमाए। गत टी–२० विश्वकपका प्लेयर अफ द टुर्नामेन्ट सामलाई पन्जाबले सर्वाधिक १८.५० लाखमा किनेको थियो।

अस्ट्रेलियाका क्यामरुन ग्रिनलाई मुम्बई इन्डियन्सले १७.५० करोड भारुमा किनेको थियो । इंग्ल्यान्ड टेस्ट टोलीका कप्तान बेन स्टोक्सले १६.२५ करोड भारु पाएका छन्। उनलाई चेन्नई सुपर किंग्सले किनेको थियो। जेसन होल्डरलाई राजस्थान रोयल्सले ५.७५ करोडमा किनेको छ।

अनक्याप विभ्रान्त शर्मालाई २.६ करोड भारु
अनक्याप्ड खेलाडीको अक्सनमा जम्मू कश्मीरका विभ्रान्त शर्माको बोली उच्च थियो। बायाँ हाते स्पिन बलिङका साथ ब्याटिङ गर्न सक्ने उनलाई सनराइजर्सले २.६ करोड भारुमा किनेको छ।

अनक्याप्ड फास्ट बलर शिवम् मावीलाई पनि गुजरात टाइटन्सले ६ करोडमा किनेको छ। उनीबाहेक बंगालका तीव्र गतिका बलर मुकेश कुमारलाई दिल्लीले ५.५० करोड भारुमा किनेको छ।