नेपाल आतंकवादविरुद्धको लडाइँमा सबैसँग मिलेर उभिन्छ : परराष्ट्र मन्त्रालय

भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै नेपालले आतंकवादविरुद्धको वैश्विक प्रयासमा सबैलाई साथ दिने प्रतिबद्धता जनाएको छ।

काठमाडौँ– नेपालले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेको छ।

भारतको जम्मु-कश्मीरस्थित पहलगाममा अप्रिल २२ मा पर्यटकलक्षित आतंकवादी हमलापछि भारत–पाकिस्तानबीच द्वन्द्व बढ्दै गइरहेका बेला बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै क्षेत्रीय तनावको शान्तिपूर्ण रूपमा समाधान हुने आशा व्यक्त गरेको हो।

पहलगाम भएको आक्रमणमा एक नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएको थियो।

विज्ञप्तिमा उक्त घटनाप्रति दुःख व्यक्त गर्दै नेपाल र भारत साझा पीडामा ऐक्यबद्ध भएर उभिएको उल्लेख गरिएको छ।

सरकारले उक्त आतंकवादी आक्रमणको तत्काल र स्पष्ट रूपमा निन्दा गरेको पनि स्मरण गराएको छ।

“नेपालले सबै प्रकारका आतंकवादको विरोधमा राखेको दृढ र स्पष्ट अडान अनुरूप उक्त बर्बर आक्रमणको भर्त्सना गरिएको हो,” विज्ञप्तिमा भनिएको छ।

नेपालले आतंकवादविरुद्धको वैश्विक प्रयासमा सबैलाई साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ।

“नेपाल सबै प्रकारका आतंकवादविरुद्धको लडाइँमा सबैसँग मिलेर उभिएको छ। आफ्नो सैद्धान्तिक अडानअनुसार, नेपालले आफ्नो भूमिलाई छिमेकी राष्ट्रहरूविरुद्ध प्रयोग गर्न कुनै पनि शत्रुतापूर्ण शक्तिलाई अनुमति दिने छैन,” विज्ञप्तिमा भनिएको छ।