दक्षिण सुडानमा मानवीय संकट चुलिँदै, बालबालिकाको जीवन जोखिममा

अशान्ति र राजनीतिक अस्थिरताबाट पीडित रहेको यो राष्ट्रको माथिल्लो नाइल प्रदेशमा राष्ट्रपति साल्वा किइर र उपराष्ट्रपति रिएक माचार समर्थक सुरक्षाकर्मीबीचको पछिल्लो झडपले अवस्था थप बिग्रिएको छ।

तस्वीर: रोयटर्स

दक्षिण सुडानमा पछिल्ला केही हप्तादेखि जारी भिडन्तका कारण करिब ६० हजार कुपोषित बालबालिकाले आवश्यक खाद्य तथा पोषण सामग्री पाउन नसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

विगतदेखि नै अशान्ति र राजनीतिक अस्थिरताबाट पीडित रहेको यो राष्ट्रको माथिल्लो नाइल प्रदेशमा राष्ट्रपति साल्वा किइर र उपराष्ट्रपति रिएक माचार समर्थक सुरक्षाकर्मीबीचको पछिल्लो झडपले अवस्था थप बिग्रिएको छ।

संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रम र बालबालिका कोषले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा, देशको उत्तरतर्फको क्षेत्रमा झन्डै एक महिनादेखि राहत सामग्री नपुगेको जनाइएको छ। यो विगत एक वर्षभित्र तीन लाखभन्दा बढी बालबालिकामा मध्यमदेखि गम्भीर कुपोषण देखिएको क्षेत्र हो।

खाद्य कार्यक्रमकी दक्षिण सुडान प्रतिनिधि मेरी एलेन म्याकग्रोर्टीले कुपोषणको चपेटामा परेका बालबालिकाका लागि हरेक दिन अमूल्य रहेको बताइन्। युद्धको चर्को अवस्थाका कारण पोषण सामग्रीका करिब दुई हजार बक्सहरू लुटिएको जानकारी दिइएको छ।

बालबालिका कोषकी प्रतिनिधि ओबिया अचिएङले नदी मार्गमा बन्द, लुटपाट र झडपका कारण राहत आपूर्ति पुरै अवरुद्ध भएको बताइन्। “यदि अवस्था यस्तै रह्यो भने अधिकांश जिल्लामा सामग्री सकिनेछ, जसको गम्भीर असर बालबालिकामा पर्न सक्छ,” उनले भनिन्।

दक्षिण सुडानले सन् २०११ मा सुडानबाट स्वतन्त्रता पाएपछि लगातार अस्थिरता झेल्दै आएको छ। किइर र माचारबीच पाँच वर्ष लामो गृहयुद्ध भएको थियो, जसमा करिब चार लाख मानिसको ज्यान गएको थियो। सन् २०१८ मा भएको शक्ति बाँडफाँडको सहमति पछिल्ला महिनामा लगभग निष्क्रिय भएको बताइएको छ।