प्रधानमन्त्रीमा देउवा र दाहालको अडान कायमै, थप विषयमा छलफल हुन सकेन

सत्ता गठबन्धनको बैठकमा देउवा र प्रचण्डले प्रधानमन्त्रीमा आ-आफ्नो अडान कायमै राख्दा पावर सेयरिङका विषयले प्रवेश नै पाएन।

काठमाडौँ– भावी प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अडान नछाडेपछि शुक्रबार पनि गठबन्धन दलको बैठक निष्कर्षविहीन भएको छ।

सरकार गठनको टुंगो लगाउन शुक्रबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक प्रधानमन्त्री देउवा बन्ने कि दाहाल भन्नेमा मात्रै केन्द्रित रहेको  बैठकमा सहभागी नेताहरूले बताएका छन्।

बैठकमा देउवा र दाहाल दुवैले आफूलाई पहिले प्रधानमन्त्री बन्न दिन एकले अर्कालाई आग्रह गरेका थिए। दुवै नेताबीच गठबन्धन कायम राख्नेमा सहमति भए पनि सरकारको नेतृत्व कसले गर्ने भन्नेमा समझदारी भइसकेको छैन। राष्ट्रपति विद्यादेवी भण्डारीले एक साताभित्र प्रधानमन्त्रीमा दाबी गर्न पत्र पठाएपछि सत्ता गठबन्धनका नेताहरू दौडधुपमा छन्।

बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देउवा र दाहाल दुवैले प्रधानमन्त्री को बन्नेमा अडान कायमै राखेको बताए। देउवा र दाहालबीच लामै छलफल भए पनि निष्कर्षमा ननिस्किएको उनको भनाइ छ।

"आलोपालो गर्ने क्रममा को पहिले प्रधानमन्त्री बन्ने भन्ने विषय टुंगो लागिसकेको छैन। आज हामीले यो विषयमा लामै छलफल गर्‍यौँ तर, निष्कर्षमा पुग्न सकेनौँ" उनले भने। उनका अनुसार दुवै नेताले प्रधानमन्त्रीमा दाबी गरे‍पछि पावर सेयरिङलगायत थप विषयले छलफलमा प्रवेश नै पाएनन्।

कांग्रेस सभापति देउवानिकट नेता एवं उपसभापति पूर्णबहादुर खड्काले पहिला प्रधानमन्त्री को भन्ने विषय छलफल भइरहेको बताएका छन्। "गठबन्धन कायमै राख्नेमा अडिक छन्। तर, प्रधानमन्त्री को बन्ने भन्ने विषयमा छलफल जारी छ" उनले भने।

सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको समयसीमा आइतबार सकिँदै छ। कांग्रेस र माओवादी दुवैले प्रधानमन्त्रीमा दाबी गरेपछि सरकार गठन प्रक्रिया पेचिलो बन्दै गएको हो। बिहीबार नवनिर्वाचित सांसदहरूको शपथग्रहणलगत्तै सरकार गठनमा केन्द्रित रहेर नेताहरूले दौडधुप तीव्र बनाए पनि निष्कर्ष निस्किएको छैन।