दार्चुला–टिंकर सडक निर्माण: दुईतिरबाट काम गर्दै सेना

उपकरण ढुवानी नहुन्जेल व्यास गाउँपालिका–२ बाट मजदुर परिचालन गरेर खन्न थालिएको छ। चार दिनदेखि स्थानीय र सेनाले बाटो खनिरहेका छन्। 

दार्चुला– महाकाली कोरिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–टिंकर सडकमा नेपाली सेनाले दुईतिरबाट ट्रयाक खोल्न शुरू गरेको छ। दुम्लिङ र गागाबाट ट्रयाक खोल्न थालिएको हो। 

सेनाले व्यास गाउँपालिका–१ को छाङरु गागाबाट सडक खन्न थालेको हो। यसअघि व्यास गाउँपालिका–३ तुसारपानी हुँदै वडा नम्बर २ को दुम्लिङ, कल्जु, आतुङती, तम्बाकुलगायतको ठाउँमा मात्र काम हुँदै आएको थियो। 

दार्चुला–टिंकर ७९ किलोमिटर सडकको ट्रयाक खुलाउन सेनाको निर्माण दल जुटेको छ। व्यास गाउँपालिका–३ तुसारपानीदेखि निर्माणको जिम्मा पाएको नसेनाले हालसम्म १५.२ किलोमिटर ट्रयाक खोलेको छ।

नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार २०८०/०८१ मा १३.४ किलोमिटर सडकको ट्रयाक खोलिएकामा दुई किलोमिटर स्तरोन्नति भइसकेको छ। चालु आर्थिक वर्षमा १.८ किलोमिटर ट्रयाक खोलिएको तथा १.२ किलोमिटर स्तरोन्नति भएको छ। 

बजेट अभावका कारण द्रुत गतिमा काम हुन सकेको छैन। चालु आवमा ९ करोड रुपैयाँ मात्र प्राप्त भएको थियो। बजेट अभावमा निर्माण बन्द हुने अवस्था आएपछि सरकारले थप ५ करोड रुपैयाँ व्यवस्था गरेको उनले जानकारी दिए। 

पछिल्लोपटक प्राप्त बजेटबाट व्यास गाउँपालिका–१ छाङरुमा क्याम्प निर्माण, स्काभेटर, कम्प्रेसर मेसिन जिलेटिनलगायत अत्यावश्यक उपकरण र अन्य निर्माण सामग्री ढुवानीमा सेना जुटेको छ। 

सेनाले कडा चट्टानी भाग रहेको तुसारपानी नजिक फतङगाडमा २०० मिटर ट्रयाक खोलेको छ। व्यास गाउँपालिका–२ आतुङ्ती क्षेत्रमा ५०० मिटर र तम्बाकु क्षेत्रमा ५०० मिटरभन्दा बढी नयाँ ट्रयाक निर्माण गरिएको छ। 

अझै तल्लो क्षेत्रमा यो वर्ष तम्बाकु क्षेत्र जोड्ने गरी २०० मिटर ट्याक खुलाउने काम भइरहेको प्रवक्ता केसीले बताए। “दुवैतर्फबाट सडक जोड्ने गरी निर्माण भइरहेको छ,” उनले भने, “छाङरुबाट यो वर्ष दुई किलोमिटर ट्रयाक खुल्छ। माथिल्लो क्षेत्रमा कडा चट्टान नभएका कारण ट्रयाक खोल्न तुलनात्मक रूपमा सहज हुन्छ,” उनले भने।

व्यास गाउँपालिका–३ तुसारपानीदेखि वडा नम्बर २ को माल, कोठधार, सगनाडी, दुम्लिङ, कल्जु र तम्बाकु क्षेत्रमा सडक निर्माण कार्य भइरहेको छ। सेनाले सडक निर्माणको जिम्मा लिएको सडकखण्डको शून्य विन्दुदेखि पाँच किलोमिटर सडकमा माघ अन्तिम सातादेखि सवारी साधन सञ्चालन भएका छन्। योे सडकअन्तर्गत तुसारपानीदेखि मालगाउँसम्म गाडीमा यात्रा गर्न सकिन्छ। 

आर्थिक वर्ष २०७७/७८ देखि सडक निर्माण थालेको सेनाले हालसम्म १५ किलोमिटर मात्र ट्रयाक खोलेको छ। बजेट अभावकै कारण पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य पूरा नभएको निर्माणमा संलग्न एक इञ्जिनियरले बताए। 

उपकरण ढुवानी नहुन्जेल व्यास गाउँपालिका–२ बाट मजदुर परिचालन गरेर खन्न थालिएको छ। चार दिनदेखि स्थानीय र सेनाले बाटो खनिरहेका छन्। 

व्यास गाउँपालिका–१ का टिंकरका वडासदस्य हितेश बुढाथोकी सेनाले ढिलै भए पनि दुवैतर्फबाट काम थालेकोमा खुसी व्यक्त गरे। पर्याप्त बजेटको व्यवस्था हुनुपर्नेमा उनको जोड छ। उक्त वडाका अध्यक्ष अशोकसिंह बोहराको पनि यही माग छ। गत फागुनमा प्राप्त ५ करोड अपर्याप्त भएको उनले बताए। प्राथमिकताका साथ पर्याप्त बजेट विनियोजन गरेर यो सडक बनाउनुपर्ने उनले बताए। 

वैशाख २२ गते पूर्वमन्त्री गणेशसिंह ठगुन्ना नेतृत्वको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर तुसारपानी–टिंकर सडकका निम्ति कम्तीमा ५० करोड बजेट विनियोजन हुनुपर्ने माग गरेको छ।

“भारतले लिपुलेक–कालापानी सडकलाई दुई लेन बनाइरहेका बेला हाम्रातर्फ ट्रयाक खुलाउन बजेटको सुनिश्चितता हुनुपर्नेमा जोड दिएका छौँ,” ठगुन्नाले भने।