नेपाली नागरिकको सुरक्षा प्रबन्ध गर्न सरकारलाई सभामुखको ध्यानाकर्षण

सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानबीच सिर्जित तनावलाई मध्यनजर गर्दै त्यहाँ बसोबास गर्ने सम्पूर्ण नेपालीको सुरक्षा व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

काठमाडौँ– सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानबीचको सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बसोबास गर्ने सम्पूर्ण नेपालीको सुरक्षालगायत पर्न सक्ने सम्भावित समस्याप्रति सचेत भई आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख घिमिरेले उक्त ध्यानाकर्षण गराएका हुन्। बैठकमा सांसदले भारत र पाकिस्तानबीचको तनावबाट नेपालमा पर्न सक्ने सम्भावित प्रभावबारे सरकार सचेत हुनुपर्नेमा जोड दिँदै आवश्यक तयारी थाल्न सुझाव दिएका थिए।

यस्तै, सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाए। प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी छ।