नयाँ पोप लियो चौधौँः मिसनरीमा केन्द्रित, नेतृत्वदायी क्षमता

पोप धार्मिक गुरू भए पनि यसले विश्व राजनीति र कूटनीतिक क्षेत्रमा समेत प्रभुत्व/प्रभाव कायम गर्न सक्ने भएकाले यो पदलाई विशेष महत्त्वका साथ हेरिन्छ।

पोप लियो चौधौँ/तस्वीरहरू: एपी

काठमाडौँ– अमेरिकामा जन्मेका पादरी रोबर्ट फ्रान्सिस प्रिभोस्ट बिहीबार रोमन क्याथोलिक चर्चको नयाँ पोप निर्वाचित भए। ६९ वर्षीय प्रिभोस्ट अब ‘पोप लियो चौधौँ’का रूपमा चिनिने छन् भने एक अर्ब ४० करोड क्याथोलिक धर्मावलम्बीका प्रमुख रहनेछन्।

रोबर्ट फ्रान्सिस प्रिभोस्ट २०२३ देखि बिशप (पादरी)हरूका लागि डिकास्ट्री प्रमुख र ल्याटिन अमेरिकाका लागि पोन्टिफिकल आयोगको अध्यक्षको रूपमा सेवा गर्दै आएका थिए। अघिल्ला पोप फ्रान्सिसले उनलाई कार्डिनल अर्थात् वरिष्ठ पादरी बनाएका थिए।

पोप फ्रान्सिसको गत महिना निधन भएपछि नयाँ पोप को बन्ने भन्नेबारे विश्वभरका क्याथोलिकमाझ चासो र चर्चा थियो। दक्षिण एशियाबाट नयाँ पोप बन्नुपर्ने आवाज पनि उठ्ने गरेको थियो। पोप धार्मिक गुरु भए पनि यसले विश्व राजनीति र कूटनीतिक क्षेत्रमा पनि प्रभुत्व/प्रभाव कायम गर्न सक्ने भएकाले यसलाई विशेष महत्त्वसाथ हेरिन्छ। तर अहिले शक्तिशाली देश अमेरिका र नयाँ पोप पनि अमेरिकी नागरिक नै बन्नुलाई अनेक कोणबाट व्याख्या गर्न थालिएको छ।

पोप निर्वाचन प्रक्रियामार्फत चुनिन्छन्। जसका लागि दुईतिहाइ मत आवश्यक पर्छ। कसैले दुईतिहाइ मत प्राप्त नगरेसम्म पटक–पटक मतदान गरिन्छ।

नयाँ पोप चयन गर्न विश्वभरबाट १३३ कार्डिनल बुधबार रोमको सेन्ट पिटर्स स्क्वारमा पुगेका थिए। कार्डिनल विश्वभरका वरिष्ठ पादरी र भ्याटिकन अधिकारीहरू हुन् जसलाई पोपद्वारा व्यक्तिगत रूपमा छनोट गरिन्छ। सम्मेलनमा यी कार्डिनलले नयाँ पोप चयन गर्न धेरै बैठक आयोजना गर्छन्। ८० वर्षमुनिका कार्डिनललाई मतदान गर्ने अधिकार हुन्छ। मतदान र बैठकको सम्पूर्ण प्रक्रिया गोप्य राखिन्छ। यस अवधिमा, कार्डिनललाई बाहिरी संसारसँग कुनै पनि सम्पर्क गर्न अनुमति हुँदैन।

बिहीबार सेन्ट पिटर्स स्क्वारबाहिर नतिजा पर्खेर बसेका हजारौँ मानिसको भिड थियो। स्क्वायरमा शुरूमा कालो धुवाँ आएर निराश बनेका हजारौँ मानिस एकाएक खुशी भए जब सेतो धुवाँको मुस्लो उठ्यो। पोप निर्वाचनमा धुवाँ उठ्ने सन्दर्भ रोचक छ।

दुईतिहाइ मतप्राप्त गर्न सकेन भने मतपत्र चुल्होमा जलाइन्छ। यी मतपत्र जलाउन प्रयोग गरिने रसायनले अत्यन्तै कालो धुवाँ निकाल्छ। कालो धुवाँ आउँदा कोही निर्वाचित भएन भन्ने बुझिन्छ। तर दुईतिहाइ मत प्राप्तप्राप्त गरेपछि ती मतपत्र जलाउन प्रयोग गरिने रशायनले सेतो धुवाँ निकाल्छ। जसले बाहिरी संसार/भिडलाई नयाँ पोप निर्वाचित भएको जानकारी दिन्छ। र भ्याटिकनको यो ऐतिहासिक क्षणले विश्वभरका लाखौँ क्याथोलिकका लागि नयाँ शुरूआतको संकेत गर्दछ।

निर्वाचित पोप लियो चौधौँले भीडलाई पहिले इटालियन र त्यसपछि स्पेनी भाषामा सम्बोधन गरे। उनले भने, “तपाईंहरू सबैलाई शान्ति होस्। यो ख्रीष्टको पहिलो सन्देश हो। तपाईंहरू जहाँ भए पनि मेरा तर्फबाट संसारभरका सबै परिवारहरूलाई शान्तिको सन्देश पठाएको छु।”

क्याथोलिक चर्चको हजार वर्षको इतिहासमा लियो चौधौँ उत्तर अमेरिकाबाट भएका पहिलो पोप हुन्। स्वेच्छाले नत्यागेसम्म पोपको पद आजीवन रहन्छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो अमेरिकी पोप हुनु ठूलो सम्मानको कुरा भएको बताएका छन्। आफ्नो सामाजिक सञ्जाल पोस्टमा लेखेका छन्, “भर्खरै पोप बनेका कार्डिनल रोबर्ट फ्रान्सिस प्रिभोस्टलाई बधाई छ। उहाँ पहिलो अमेरिकी पोप हुनु ठूलो सम्मानको कुरा हो। कस्तो अद्भुत कुरा, हाम्रो देशको लागि कस्तो सम्मान।” उनले चाँडै नयाँ पोपलाई भेट्ने पनि बताएका छन्।

को हुन् पोप लियो चौधौँ?
सन् १९५५ सेप्टेम्बर १४ मा शिकागोमा जन्मेका पोप लियो चौधौँले १९७७ मा सेन्ट अगस्टिनको अर्डरमा प्रवेश गरे। उनले शिकागोको क्याथोलिक थियोलोजिकल युनियनमा धर्मशास्त्रको अध्ययन गरे। २७ वर्षको उमेरमा उनी अध्ययनका लागि रोम गए। यसपछि उनलाई मिसनरीका रूपमा पेरू पठाइयो। पछि उनले अमेरिका र पेरूमा महत्त्वपूर्ण पद सम्हाले।

चर्चको निर्देशन र थप समावेशी विश्वव्यापी चर्चलाई बढावा दिने प्रक्रियामा उनी फ्रान्सिससँग मिल्दोजुल्दो मानिन्छन्। तर उनी आफैले नेतृत्व गर्ने अपेक्षा गरिएको छ।

लियोले बसाइँसराइ र गरिबी जस्ता सामाजिक मुद्दामा बढी प्रगतिशील झुकाव राख्ने अपेक्षा गरिएको छ। तर क्याथोलिक सिद्धान्तका नैतिक मुद्दामा उदारवादीसँग बढी मिल्ने अपेक्षा गरिएको छ।

उनी त्यस्तो व्यक्ति हुन् जो पश्चिमबाट आए पनि विश्वव्यापी चर्चको आवश्यकताप्रति धेरै सचेत हुनेछन्। उनले आफ्नो चर्चको करियरको आधाभन्दा बढी समय पेरूमा मिसनरीका रूपमा बिताएका छन्। उनको ध्यान मिसनरी कार्यमा केन्द्रित रहने उनी आफैँले बताएका छन्।

“म अझै पनि आफूलाई मिसनरी ठान्दछु। मेरो पेशा, हरेक क्रिश्चियनको जस्तै, मिसनरी बन्नु हो, जहाँ भए पनि सुसमाचार घोषणा गर्नु हो,” रोममा आफ्नो नेतृत्वको भूमिकामा सरेपछि प्रिभोस्टले भ्याटिकन न्यूजसँगको अन्तर्वार्तामा भने। अर्को एक अन्तर्वार्तामा उनले पेरूमा बिताएको समयलाई आफ्नो जीवनको विशेष समय रहेको पनि बताएका थिए। उनीसँग पेरूको पनि नागरिकता छ। पेरू नेसनल माइग्रेसन रजिस्ट्रीका अनुसार उनले सन् २०१५ मा पेरूको नागरिकता प्राप्त गरेका थिए।

साथै उनीसँग नेतृत्वदायी क्षमता पनि उत्कृष्ट भएको बताइन्छ। पोप फ्रान्सिसले प्रिभोस्टलाई पादरीहरूका लागि डिकास्ट्रीको प्रिफेक्ट नियुक्त गरे, जुन पादरी उम्मेदवारको मूल्यांकन गर्ने र नयाँ नियुक्तिका लागि सिफारिस गर्ने जिम्मेवारीमा हो। उनले ल्याटिन अमेरिकाका लागि पोन्टिफिकल आयोगको अध्यक्षको रूपमा पनि काम गरिसकेका छन्।

“सानैदेखि उनलाई नेतृत्वको भूमिकामा नियुक्त गरिएको थियो,” सीएनएनकी भ्याटिकन विश्लेषक एलिस एलेन भन्छिन्, “उनी शान्त र सन्तुलित व्यक्तिको रूपमा हेरिन्छन्, जो समान व्यवहार गर्छन् र के गर्नुपर्छ भन्ने कुरामा धेरै स्पष्ट छन्। तर त्यो सम्भव गराउने प्रयासमा उनी अत्यधिक जबरजस्ती गर्दैनन्।”

लियो नाम धारण गर्ने अन्तिम पोप, लियो तेह्रौँ गरिब र मजदुरहरूको पक्षमा उभिएका पोप थिए। १८७८ देखि १९०३ सम्म पोप रहेका लियो तेह्रौँले कामदारहरूको अधिकार र क्याथोलिक सामाजिक सिद्धान्तमा जोड दिएका थिए। त्यसैले नयाँ लियो चौधौँका लागि त्यो नामको छनोटले बलियो संकेत दिन्छ। लियोले बसाइँसराइ र गरिबी जस्ता सामाजिक मुद्दाहरूमा बढी प्रगतिशील झुकाव राख्ने अपेक्षा गरिएको छ तर क्याथोलिक सिद्धान्तका नैतिक मुद्दाहरूमा उदारवादीहरूसँग बढी मिल्ने अपेक्षा गरिएको छ।

कार्डिनल हुँदा उनी अमेरिकी उपराष्ट्रपति जेडी भान्सका मान्यतालाई चुनौती दिन हिचकिचाएका थिएनन्। ट्रम्प प्रशासनले अमेरिकामा बस्ने एक जनालाई एल साल्भाडोर निकाला गरेपछि उनले त्यसको आलोचना गर्दै सामाजिक सञ्जाल 'एक्स'मा प्रेषित एउटा सामग्री रिपोस्ट गरेका थिए। भान्सले फक्स न्युजलाई दिएको अन्तर्वार्ताबारे लेखिएको आलोचनात्मक लेख पनि शेयर गरेका थिए

'जेडी भान्स गलत छन्: जीजसले अरूप्रति हुने हाम्रो प्रेमको श्रेणी छुट्ट्याउन लगाउँदैनन्,' नेसनल क्याथोलिक रिपोर्टरको वेबसाइटमा प्रकाशित लेखको शीर्षक थियो।

–एजेन्सीहरूको सहयोगमा