पर्यटकको पर्खाइमा म्याग्दीको लाखेत गाउँ

लाखेतबाट गुर्जा, धौलागिरि र मानापाथी हिमाल, धवलागिरि गाउँपालिकाका ग्रामीण बस्ती, पहाडी भूगोल र सुर्योदयको दृश्यावलोकन गर्न सकिन्छ। 

म्याग्दी– धवलागिरी गाउँपालिका–३ मुनामा रहेको लाखेत गाउँ पर्यटक र पूर्वाधारको पर्खाइमा छ। 

पर्यटकीय सम्भावना भए पनि पूर्वाधार र प्रचारप्रसारको कमीले मुना र फलीगाउँको शिर तथा मालिका धुरीको फेदीमा रहेको समथर फाँट लाखेतमा पर्यटक भित्रिन सकेका छैनन्। समुन्द्री सतहदेखि दुई हजार २०० मिटर उचाइमा रहेको लाखेतबाट गुर्जा, धौलागिरि र मानापाथी हिमाल, धवलागिरि गाउँपालिकाका ग्रामीण बस्ती, पहाडी भूगोल र सुर्योदयको दृश्यावलोकन गर्न सकिन्छ। 

मुनाका बासिन्दा मदन पुनले प्राकृतिक हिसाबले सुन्दर र मनोरमस्थल लाखेत सधैँ सुनसान भएको बताए। “दृश्य अवलोकनका साथै शान्त र एकान्त वातावरण पनि लाखेतको विशेषता हो,” उनले भने, “मुना र फलीयागाउँ हुँदै ढोरपाटन, गुर्जा, डोल्पा र धौलागिरि चक्रीय पदमार्गमा आउने पर्यटकलाई लाखेत घुमाएर बसाइ लम्बाउन सकिन्छ।”

लाखेत नजिकैको खर्क र बारीमा हिउँदयाममा गाईभैंसीका घुम्ती गोठ राख्ने गरिन्छ। गोठालाको दैनिकी र जीवनशैलीले पनि पर्यटक लोभ्याउन सक्ने सम्भावना छ। मुना र फलियागाउँदेखि करिब ३० मिनेट उकालो पैदलयात्रा र सवारी साधनमा १० मिनेटमा लाखेतमा पुगिन्छ। केही वर्षअघिसम्म मकै, कोदो र आलुखेती हुने लाखेतको बारी बाझिन थालेको छ। घुम्ती पशुगोठ लैजाने चलन हराएको छ। 

युवा पुस्ता विदेश पलायन र बसाइँसराइका कारण बारी बाझिनुका साथै घुम्ती गोठ हराएको हो। लाखेतमा बनभोजस्थल बनाउन आर्थिक वर्ष २०७६/०७७ मा डिभिजन वन कार्यालयमार्फत सार्वजनिक शौचालय र दृश्य अवलोकनस्थल निर्माण भएको थियो। 

संरक्षण र उपभोग नहुँदा शौचालय र दृश्य अवलोकनस्थल अलपत्र भएको छ। धवलागिरी गाउँपालिकाले मुनादेखि लाखेतसम्म सडक पुर्‍याएको छ। 

मुनादेखि धार्मिक पर्यटकीयस्थल मालिका धुरी जाने सडक लाखेतको नजिकै छ। मालिका जोड्ने सडक स्तरोन्नति, फलीगाउँ र मुनादेखि लाखेत जोड्ने पदमार्ग निर्माण गर्न आवश्यक छ। साथै यहाँको विशेषता र आकर्षणको बारेमा प्रचारप्रसार नभएकाले पनि ओझेलमा परेको हो। 

लाखेतलाई बनभोजस्थलको रूपमा विकास गर्न पहल गरेको धवलागिरी–३ मुनाका वडा अध्यक्ष देवेन्द्र रोकाले बताए। मुना र फलीगाउँमा बास बस्ने पर्यटकलाई हाईकिङ गराएर लाखेतसम्म पुर्‍याउने र दृश्य अवलोकन गराउने व्यवस्था मिलाउन पहल गरेको उनले बताए।