अन्नपूर्ण चक्रीय पदमार्गको चमक [तस्वीरहरू]

थोरोङ ला भन्ज्याङ अन्नपूर्ण पदयात्रा क्षेत्रको लोकप्रिय र सुन्दर भञ्ज्याङमध्ये एक हो। यो मनाङ र मुस्ताङको बीचमा अवस्थित छ।

तस्वीर: नेपाल फोटो लाइब्रेरी।

काठमाडौँ– अन्नपूर्ण चक्रीय पदमार्ग अन्नपूर्ण क्षेत्रका सुन्दर पहाडलगायत त्यस क्षेत्रको विविध सामाजिक, आर्थिक र सांस्कृतिक पक्षहरुको अवलोकन तथा पद पर्यटनमा रमाउनेको लागि उत्तम गन्तव्य हो। 

विविध परम्परागत गाउँघर, गाउँले परिवेश, संस्कार र संस्कृति, हिउँले ढाकिएका विशाल पर्वत पदयात्राको क्रममा देख्न पाइने हुँदा यो पदमार्ग विश्व चर्चित छ।

पदमार्ग बागलुङ, कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दीमा फैलिएको छ। बेँसीशहरबाट पदयात्रा शुरू गरेर करिब २५ दिनमा पोखरा पुग्न सकिन्छ।

अन्नपूर्ण हिमशृंखला (अन्नपूर्ण पहिलो र चौथो), धौलागिरि, माछापुच्छ्रे, मनासलु, गंगापूर्ण, हिउँचुली, टुकुचे चुचुरो, तिलिचो चुचुरो, पिसाङ चुचुरो, थोरोङ चुचुरो र पाउङ्दा डाँडालगायत ६ हजार-८ हजार मिटर उचाइका अन्य धेरै चुचुरा आँखै अगाडि देख्न पाइन्छ।

थोरोङ ला भन्ज्याङ (५,४१६ मिटर) अन्नपूर्ण पदयात्रा क्षेत्रको लोकप्रिय र सुन्दर भञ्ज्याङमध्ये एक हो। यो मनाङ र मुस्ताङको बीचमा अवस्थित छ।

पदयात्रा दुवै तर्फबाट शुरू गर्न सकिन्छ तर ८० प्रतिशतभन्दा बढी पदयात्री बेँसीशहरबाट शुरू गर्छन्। अहिले सडक निर्माण हुँदा पदयात्रा छोटिएको छ। पहिले बेँसीशहरबाट पाँचौँ दिनमा मनाङ गाउँ पुगिन्थ्यो भने अहिले काठमाडौँबाट सवारी साधनमा हिँडेकै दिन मनाङ गाउँ पुगेर बास बस्न सकिन्छ। 

त्यस्तै बागलुङ–पोखरा सडकखण्डको नयाँपुलबाट यात्रा शुरू भएको पाँचौँ दिनमा पदयात्री अन्नपूर्ण बेसक्याम्प पुग्ने गरेकोमा अहिले तीन दिनमै पुग्छन्।

यसरी सडक निर्माण गरी पदमार्ग मास्नाले अन्नपूर्ण चक्रीय पदमार्गको मौलिकता पनि हराउँदै गएको छ। जसका कारण यसको विश्वव्यापी लोकप्रियता घट्ने जोखिम बढेको छ। जथाभाबी सडक निर्माणको काम रोकी पैदलयात्रीमैत्री बाटो, सुविधा सम्पन्न बसोबास र पर्यटक सुरक्षामा जोड दिनु आवश्यक छ।