नेपाली भाषा–साहित्यमा योगदान पुर्‍याउने ३ स्रष्टा र २ संस्थालाई सम्मान

‘पण्डित काशीनाथ उपाध्याय–हरिप्रिया कट्टेल वाङ्मय प्रतिष्ठान’ले नेपाली भाषा–साहित्यको विकासमा योगदान पुर्‍याएका तीन स्रष्टा र दुई संस्थालाई सम्मान गरेको छ।

काठमाडौँ– ‘पण्डित काशीनाथ उपाध्याय–हरिप्रिया कट्टेल वाङ्मय प्रतिष्ठान’ले नेपाली भाषा, साहित्य र वाङ्मयको विकासमा योगदान पुर्‍याएका तीन स्रष्टा र दुई संस्थालाई सम्मान गरेको छ।

पण्डित काशीनाथ उपाध्याय कट्टेल र उनकी धर्मपत्नी हरिप्रिया कट्टेलको स्मृतिमा स्थापित प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा स्रष्टा र संस्थालाई सम्मान गरेको हो।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्राडा. हेमांगराज अधिकारी र प्राडा. दीर्घराज घिमिरेलाई वाङ्मय पुरस्कार र धनकुटाको विश्रान्तिधाम संस्कृत गुरुकुल र पिण्डेश्वर विद्यापीठ धरानस्थित दुई छात्रलाई सम्मान गरिन्। अधिकारी र घिमिरेलाई नगद २१ हजार, दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरिएको थियो।

हरिप्रिया कट्टेल प्रतिभा पुरस्कार साहित्यकार मुना अर्याललाई प्रदान गरिएको छ। उनलाई नगद १५ हजार, दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरिएको हो। 

त्यस अवसरमा पूर्वप्रधानन्यायाधीश कार्कीले प्रतिष्ठानका अध्यक्ष प्राध्यापक नारायणप्रसाद शर्मा कट्टेलद्वारा लिखित ‘व्यावहारिकसंस्कृतसम्भाषणाभ्यासः’ पुस्तक विमोचन पनि गरिन्। पुस्तक समीक्षा गर्दै प्राडा. रमा भट्टराईले संस्कृत सिक्न चाहनेका लागि पुस्तक सहयोगी हुने बताइन्।