याक मिसायाः भूज्या : महिलाले रथ तान्ने ऐतिहासिक परम्पराको निरन्तरता

प्रायः जात्रामा पुरुषको बाहुल्यता र मुख्य भूमिका हुन्छ, महिला नाचगान र पूजामा सीमित देखिन्छन्। तर याक मिसायाः र नानी चायाः जस्ता जात्राले महिला सहभागिताको ऐतिहासिक परम्परालाई स्थापित गरेको छ।

तस्वीर : सुप्रिन्स शाक्य

पाटनकी सृष्टि महर्जन शनिबार बिहान ५ बजे नै उठिन्। कारण, आज ‘याक मिसायाः भूज्या’ अर्थात् महिलाले रातो मत्स्येन्द्रनाथको रथ तान्ने दिन। गत वैशाख १९ गतेबाट विधिवत् शुरू भएको मत्स्येन्द्रनाथको जात्राको एक अभिन्न हिस्सा हो मिसायाः भूज्या।

सृष्टि बिहानै उठेर हातमुख धोइन्, हाकुपटासीमा सजिइन् र लगनखेल पुगिन्। लगनखेलबाट थटि करिब २०० मिटर पूर्वमा पर्छ। बिहान करिब ६ बजे शुरू भएको जात्रामा ‘होस्टे हैँसे’ गर्दै उनले पनि रथको डोरी समाइन्। दुई सय मिटरको त्यो दूरी २५ मिनेटमै पूरा भयो। सबै महिला हर्षित थिए। बाजागाजा र नाचगानले थटि टोल गुलजार बनेको थियो।

बाजाको धुन, नाचगान र रथ तान्न हौसिएका महिलाहरूको आवाजले सारा थकाइ बिर्साएको थियो। त्यो रोमाञ्चक २५ मिनेटले वातावरणलाई जीवन्त बनाएको सृष्टि बताउँछिन्। रथलाई गन्तव्यसम्म पुर्‍याउँदा रमाइलो मात्र होइन, आफ्नो मनोबलसमेत बढेको उनको अनुभव छ।

लगनखेलस्थित ४८ फिट अग्लो मत्स्येन्द्रनाथको रथलाई महिलाहरूले मात्रै तानेर थटि टोलसम्म पुर्‍याउने गर्छन्। मत्स्येन्द्रनाथको रथको पछि मीननाथको रथलाई भने बालबालिकाहरूले तान्दै ल्याउँछन्, जुन आफैमा अर्को मनमोहक दृश्य हो।

नेपाल भाषामा ‘याक मिसाः’ को अर्थ एकल महिला हो। जानकारहरूका अनुसार, पहिले-पहिले विधवा वा अविवाहित महिलाहरूले मात्रै यो रथ तान्ने गर्थे। अहिले भने हरेक उमेर समूहका यस उत्सवमा उत्साहसाथ सहभागी हुन्छन्।

प्रायः जात्रामा पुरुषको उपस्थिति र सहभागिता उच्च देखिन्छ। रथ तान्ने, रथ बनाउने, बाजा बजाउने काममा उनीहरूको नै मुख्य भूमिका हुन्छ। महिलाहरू भने नाचगान र रथको पूजाआजामा सीमित देखिन्थे। यद्यपि, ‘याक मिसायाः भूज्या’ यस जात्राको मनमोहक हिस्सा हो, जसले महिलालाई सार्वजनिक रूपमा नेतृत्व गर्ने अवसर दिन्छ।

रातो मत्स्येन्द्रनाथको ‘याक मिसायाः’ जस्तै काठमाडौँको इन्द्रजात्राको अन्तिम दिन मनाइने ‘नानी चायाः’ पनि जात्रामा महिला सहभागिताको अर्को सुन्दर उदाहरण हो। सो दिन कुमारी, भैरव र गणेशका रथलाई परिक्रमा गराउनेदेखि सुरक्षा व्यवस्थापनमा समेत महिलाहरू खटिन्छन्।

स्थानीय तथा आन्तरिक जात्रा व्यवस्थापन समितिकी सह-सञ्चालक सरिता महर्जनले यसपटक आफ्नी ८५ वर्षकी दिवंगत सासूआमालाई खुब सम्झिन्। डेढ वर्षअघि आमाको देहान्त भयो। उनी हरेक वर्ष रथ तान्न आइपुग्थिन्। सरिता भन्छिन्, “आमालाई त्यो भीडमा देख्न नपाउँदा नमिठो लाग्यो। उहाँलाई रथ तान्ने हर्ख नै बेग्लै हुन्थ्यो। हामीले नजानुभन्दा पनि मान्नुहुन्थेन।”

सरिता आफै पनि पाटनकी नै हुन्। बाल्यकालदेखि महिलाले रथ तान्ने दिनको सम्झना उनको आफ्नै पनि छ। तर, यसपटक पहिलो पटक जात्रा व्यवस्थापनको सहसञ्चालकका रूपमा जिम्मेवारी लिँदा उनी जात्रामा रमाउनेभन्दा पनि रमाइलो गर्न आएका मानिसहरूको सुरक्षामा खटिइन्।

“जात्रा भन्नेबित्तिकै रथ, खट र भोज सबैको दिमागमा आउँछन्। यस्तोमा रथ, खट बोक्ने समुदायको सार्वजनिक वृत्तमा पुरुषहरूको संख्या बढी देखिन्छ भने महिलाहरू सोही रथ, खटलाई पूजा वा भोज बनाउन भान्छाको जिम्मेवारीमा हुन्छन्,” उनले थपिन्, “यो एक सांकेतिक अर्थ पनि हो, कसरी महिलालाई सार्वजनिक वृत्तमा आफ्नो सामर्थ्य देखाउने।”

यस चलनबारे प्रचलित किंवदन्ती पनि उनले सुनाइन्। किंवदन्तीअनुसार, पाटनमा घुम्ने क्रममा मत्स्येन्द्रनाथ लगनखेलमा पुग्दा आफू हराएको भान भयो। त्यसपछि उनले एक जना महिलालाई देखेर आफ्नो रथ केही परसम्म तानिदिन अनुरोध गर्छन्। ती महिलाले आफू एक्लै तान्न नसक्ने बताएपछि मत्स्येन्द्रनाथले आफूले पनि रथ तान्न सहयोग गर्ने बताए। ती महिलाले लगनखेलदेखि थटिसम्म रथ तानिदिइन्। सोही जनविश्वासका आधारमा हरेक वर्ष ‘याक मिसायाः’ को दिन महिलाले रथ तान्ने गरेको सरिता बताउँछिन्। यद्यपि, यस विषयमा हालसम्म कुनै लिखित अभिलेख वा जानकारी नभेटिएको पनि उनी स्वीकार्छिन्।

जात्रा व्यवस्थापनको सह-सञ्चालकका रूपमा सरिता ‘याक मिसायाः’ सफलतापूर्वक सम्पन्न भएको बताउँछिन्। यसमा व्यवहारिक कठिनाइहरू पनि आउने उनी मान्छिन्। सोही कारण जात्रामा रमाउन आएका मानिसहरूको सुरक्षा उनको पहिलो प्राथमिकता थियो। “महिलाहरूले रथ ल्याउँदा सौम्यता देखिन्छ,” उनी भन्छिन्, “तर, वर्षमा एकपटक आउने रीतिमा सायद उत्साह बढी हुने हुँदा डोरी तान्ने, लाइन मिच्ने र भिडभाड बढी हुन्छ। त्यसमा बढी ध्यान दिनुपर्छ।”

यस दिन पाटन मात्र नभई दक्षिण ललितपुरका हरिसिद्धि, ठैबदेखि काठमाडौँ, भक्तपुरका महिलाहरूसमेत सहभागी हुन आउने गरेको उनी बताउँछिन्। यकिन तथ्यांक नभए पनि हजारौँको संख्यामा महिला सहभागी भएको उनको अनुमान छ। “सकेसम्म २० वर्षमाथिका महिलालाई हामी रथको डोरी तान्न दिन्छौँ। ज्येष्ठ आमा, हजुरआमाहरूसमेत आउनुहुन्छ। उहाँहरूलाई पनि एकपटक डोरी छुने, रथ तान्ने रहर हुन्छ,” महर्जन भन्छिन्, “हामीले रोक्न पनि मिलेन। त्यही भएर हामी बढी चनाखो हुन्छौँ।”

लिपिविद् डा. श्यामसुन्दर राजवंशी पहिलेको समाज महिलामैत्री नभएको हुँदा यस्ता जात्रापर्व नै समुदायलाई सार्वजनिक वृत्तमा आएर घुमफिर अनि रमाइलो गर्ने अवसर भएको बताउँछन्। “केही दशकअघिसम्म पनि महिलालाई कहाँ बाहिर निस्कन मिल्थ्यो र। पिँजडाभित्र थुनिएजस्तै थियो घरबार। त्यो समय यसरी जात्रामा आउनु ठूलो आन्दोलनसरह मान्नुपर्छ,” उनी भन्छन्।

सम्पदा अध्येता मोनालिसा महर्जन यस्ता जात्राहरू समावेशिताका उत्कृष्ट उदाहरण भएको बताउँछिन्। धिमे लगायतका बाजासमेत कुनै बेला महिलाले बजाउन पाउँदैन थिए, तर अहिले बाजा खल (समूह) मा महिलाहरू देखिन्छन्। जात्रा व्यवस्थापनमा समेत महिलाहरू सक्रिय छन्।

यस्ता सकारात्मक परिवर्तनको आधारशिला निर्माण ‘याक मिसायाः’, ‘नानी चायाः’ लगायतका महिलामैत्री चालचलनका कारण भएको उनको भनाइ छ। “नत्र सडकमा धिमे बजाएर नाच्ने, गाउने कसले कल्पना गर्थ्यो होला? हाम्रा जात्रा पर्वले यो सम्भव गरायो। यसको अर्थ हामी आफैँ पनि अमूर्त सम्पदाको रूपमा बाँचिरहेका छौँ,” उनी भन्छिन्।