सुनसरीमा भ्यान दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु, २ जना घाइते

सुनसरीको दुहबी नगरपालिका–३ को फुटनी चोकमा गाडी दुर्घटनामा परी प्रहरी सहायक निरीक्षक विरोध खतिवडाको मृत्यु भएको छ।

काठमाडौँ– सुनसरीमा भ्यान दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ। गाईघाटबाट विराटनगर जाने क्रममा सुनसरीको दुहबी नगरपालिका–३ को फुटनी चोकमा भ्यान दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत ३० वर्षीय विरोध खतिवडाको मृत्यु भएको हो।

प्रदेश २ –०१–००च २१५ नम्बरको पिकअप भ्यान अनियन्त्रित भई सडक छेउको विद्युत् पोलमा ठोकिएको र गाडीको अगाडिपट्टि सवार खतिवडाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

त्रियुगा नगरपालिका–८ गैरुन स्थायी घर भएका खतिवडा शनिबार बिहान कामविशेषले विराटनगर गएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिए।

दुर्घटनामा चालक उदयपुरकै चौदण्डीगढी नगरपालिका–६ का ३८ वर्षीय सुरेश कार्की र उनका १४ वर्षीया छोरी घाइते भएका छन्।

मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका—१ लोकाहा जंगलमा भएको मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु भएको छ। 

मुण्डेबाट लोकाहातर्फ आउँदै गरेको लु १३ प ७०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका—११ शान्तिटोलका २४ वर्षीय ईश्वर दर्लामी र २१ वर्षीय सागर दर्लामीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए।