लमजुङमा १७ आयोजनाबाट ३०० मेगावाट विद्युत् उत्पादन

मर्स्याङ्दी नदी, दोर्दी, मिदिम, ङादी, स्याँगे, खुदीलगायत खोलाबाट विद्युत् उत्पादन भइरहेको छ। कतिपय आयोजना निर्माणाधीन छन्।

लमजुङ– जलविद्युत्‌ उत्पादनको ‘हब’ बन्दै गएको लमजुङमा १७  आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन्। मर्स्याङ्दी नदी, दोर्दी, मिदिम, ङादी, स्याँगे, खुदीलगायत खोलाबाट यतिका संख्यामा आयोजनाले विद्युत् उत्पादन गरिरहेका हुन्।

लमजुङ विद्युत् वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराईका अनुसार जिल्लामा उत्पादित उक्त संख्याका आयोजनाबाट करिब ३०० मेगावाट विद्युत् उत्पादन हुने गरेको छ। मर्स्याङ्दी नदीमा निर्माण भएको ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत, ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’, ५० मेगावाटको अपर मर्स्याङ्दी, ३० मेगाावटको न्यादी हाइड्रोपावर, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको अपर दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी–१, ७ मेगावाटको उपर मिदिम, पाँच मेगावाटको सिउरीखोला तथा ४.४ मेगावाटको राँधीखोला आयोजनाबाट विद्युत् उत्पादन भइरहेको छ। 

त्यसैगरी चार–चार मेगावाट क्षमताको खुदीखोला साना जलविद्युत् आयोजना र अपर छन्दीखोला, तीन मेगावाटको मिदिमखोला, २.४ मेगावटको अपर स्याँगे खोला, दुई मेगावाटको छन्दीखोला, १८३ किलोवाटको  स्याँगे माइक्रो  हाइड्रो र ८० किवाको मिदिम माइक्रो हाइड्रोबाट विद्युत् उत्पादन भइरहेको छ। 

जिल्लामा ४० हजार ५४२ ग्राहक रहेको उक्त केन्द्रले जनाएको छ। केन्द्रीय विद्युत् लाइन केहीकेही भागबाहेक अधिकांश भागमा पुगेको छ। केन्द्रका अनुसार जिल्लामा ११ जलविद्युत् आयोजना निर्माणाधीन छन् । लमजुङमा दुई हजार ५०० मेगावाट विद्युत् उत्पादन हुनसक्ने अनुमान छ।