युक्रेनसँग मे १५ मा प्रत्यक्ष वार्ता गर्ने पुटिनको प्रस्ताव

युक्रेन, बेलायत, फ्रान्स, जर्मनी र पोल्यान्डका नेताहरूले शनिबार किएभमा रुस प्रस्तावमा सहमत नभए मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने र युक्रेनलाई सैन्य समर्थन दिने धम्की दिएका थिए।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी हप्ता युक्रेनसँग प्रत्यक्ष वार्ता गर्ने प्रस्ताव गरेका छन्। आइतबार किएभ र युरोपेली नेताहरूले सोमबारदेखि ३० दिने युद्धविरामको आह्वान गरेको केही घण्टापछि मे १५ मा वार्ता गर्ने जनाएका हुन्। 

युक्रेन, बेलायत, फ्रान्स, जर्मनी र पोल्यान्डका नेताहरूले शनिबार किएभमा रुस प्रस्तावमा सहमत नभए मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने र युक्रेनलाई सैन्य समर्थन दिने धम्की दिएका थिए।

क्रेमलिनमा शनिबार आफ्नो बयानमा पुटिनले त्यो आह्वानबारे स्पष्ट रूपमा उल्लेख नगरी रुस–युक्रेन वार्ताका लागि प्रति–प्रस्ताव गरेका हुन्। “हामी किएभ अधिकारीहरूलाई सन् २०२२ मा टुटेको वार्ता पुनः शुरू गर्न प्रस्ताव गर्छौँ र त्यस्तो वार्ता कुनै पनि पूर्व शर्तबिना होस् भन्नेमा म जोड दिन्छु,” पुटिनले भने। 

वार्तालाई सहज बनाउन सहयोग माग्न टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग चाँडै कुरा गर्नेसमेत उनले बताए। उनले ‘युक्रेनसँग गम्भीर वार्तामा प्रतिबद्ध’ रहेको र ‘द्वन्द्वका मूल कारण हटाउन र दीर्घकालीन शान्ति स्थापना गर्न’ वार्ता चाहेको बताए। 

रुसी र युक्रेनी वार्ताकारले द्वन्द्वको पहिलो हप्तामा इस्तानबुलमा प्रत्यक्ष वार्ता गरेका थिए, तर लडाइँ रोक्न सहमत हुन सकेनन्। त्यसपछि द्वन्द्व निरन्तर जारी छ।

रुसले आफ्नो आक्रमण शुरू गरेदेखि दशौँ हजारको मृत्यु भएको छ भने लाखौँ मानिस आफ्नो घर छोड्न बाध्य भएका छन्।