जनतासँग प्रत्यक्ष सरोकार भएका विषय समेटेर बजेट ल्याउनुपर्ने सांसदको सुझाव

जनतासँग प्रत्यक्ष सरोकार भएका विषय समेटेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्न, वैदेशिक रोजगारीमा जाने श्रमिकको श्रम स्वीकृति र राहदानी वितरणलाई सहज बनाउन सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्।

काठमाडौँ– प्रतिनिधिसभाको आइतबारको बैठक सांसदले भूमिहीन सुकुमबासीका समस्या, विपद् व्यवस्थापन, कृषि, सडक पूर्वाधारलगायत समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा भाग लिँदै सांसदहरूले विद्यमान समस्या समाधान गर्ने किसिमले आगामी आर्थिक वर्षको बजेट आउनुपर्ने सुझाव दिए।

सांसद अच्युतप्रसाद मैनालीले अहिले पनि लाखौँ भूमिहीन सुकुमवासी रहेका बताउँदै उनीहरूको समस्या समाधानका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। सांसद अञ्जनी श्रेष्ठले चिकित्सा अध्ययनलाई सुलभ र व्यवस्थित बनाउन सरकारसमक्ष माग गरिन्।

सांसद अनिशा नेपालीले जनतासँग प्रत्यक्ष सरोकार भएका शहरी विकास, ऊर्जा, खानेपानीलगायत विषयलाई समेटेर आगामी आर्थिक वर्षको बजेट विनियोजन हुनुपर्नेमा जोड दिइन्। सांसद अब्दुल खानले वैदेशिक रोजगारीका लागि जाने श्रमिकको श्रम स्वीकृति र राहदानी वितरणलाई सहज बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।

सांसद अमरबहादुर रायमाझीले उदयपुरका विभिन्न स्थानका जीर्ण सडकको मर्मत र विस्तारका लागि बजेट व्यवस्थापन गर्न सरकारसमक्ष माग गरे। सांसद डा. अमरेशकुमार सिंहले बागमती नदीको हुलाकी पुल १५ वर्षसम्म पनि सम्पन्न नभएको भन्दै यथाशीघ्र निर्माणका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। सांसद अर्जुननरसिंह केसीले दक्षिण एशियाको क्षेत्रीय शान्ति र स्थिरताका लागि आतंकवादविरुद्ध लाग्नु सबैको दायित्व भएको बताए।

सांसद आश्माकुमारी चौधरीले सरकारको नीति तथा कार्यक्रममा उद्यमशीलता, रोजगारी उत्पादन, कृषिको व्यावसायिकीकरणलगायत विषय स्वागतयोग्य रहेको भन्दै निर्वाहमुखी कृषिलाई आधुनिकीकरण गर्ने, कृषि उपजमा देशलाई आत्मनिर्भर बनाउनेलगायत किसानको पहुँचमा हुने गरी बजेट विनियोजन गर्न सरकारसमक्ष माग गरिन्।

सांसद असिम शाहले विद्युतीय सवारीसाधनको प्रवर्द्धन र प्रोत्साहन गरी विदेशी मुद्रा हासिल गर्नेतर्फ आवश्यक नीतिगत सुधार, पूर्वाधार विकास गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। सांसद उर्मिला माझीले सबैको साझा शत्रु गरिबी, अशिक्षा र बेरोजगारी हो भन्दै शिक्षा, स्वास्थ्य र रोजगारीमा सबै नेपालीको पहुँच वृद्धि गर्न सरकार समक्ष माग गरिन्।

सांसद ऋषिकेश पोखरेलले मोरङका उत्तर–दक्षिण बग्ने विभिन्न आठ खोला अघिल्लो वर्षको बाढीले कटान गरेर हालसम्म तटबन्ध बन्न नसकेका भन्दै वर्षायाम सुरु हुन लागेकाले खोलाको तटबन्धका लागि बजेट विनियोजन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। सांसद एकनाथ ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापकीय सुधार गर्दै अध्यागमनलाई प्रभावकारी बनाउन, यात्रुमैत्री सेवा, सुरक्षित र सफा बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।

सांसद कालुराम राईले झापा र इलामको बीचमा पर्ने चुरिया पर्वतको नदीमा नयाँ प्रजातिको कछुवा फेला पारेको जनाउँदै यसलाई राष्ट्रिय चुरे संरक्षण आयोजनाको एकीकृत जलाधार व्यवस्थापनभित्र विशेष प्राथमिकतामा राख्न सरकारसमक्ष माग गरे।

सांसद किरणकुमार साहले जलवायु परिवर्तन प्रभाव र पूर्वाधारको कमजोरीले प्राकृतिक विपद्जन्य घटना बेहोर्नु परिरहेको भन्दै विपद् जोखिम न्यूनीकरणलाई दायित्वसहित विकासको आधारभूत रणनीतिका रूपमा लिनुपर्नेमा जोड दिए। सांसद कुशुमदेवी थापाले बर्दियाको राजापुरमा उत्पादित धानलाई कर्णालीका विभिन्न क्षेत्रमा विस्तार तथा कृषि उत्पादन वृद्धि गर्ने किसिमले बजेट विनियोजन गर्न माग गरे।

सांसद गणेश पराजुलीले साना तथा मझौला उद्यमी व्यवसायीको उधारो कारोबारले समाजमा विभिन्न घटना घट्नसक्ने भन्दै उधारो कारोबारको रकम असलीसम्बन्धी कानुन बनाउन माग गरे। सांसद गंगा कार्कीले अदालतको परमादेश अनुसार संघसंस्था दर्ता र नवीकरणको काम अगाडि बढाउन सभामुखमार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराइन्।

सांसद चन्दा कार्की (भण्डारी)ले स्वास्थ्य नीतिको प्रभावकारी कार्यान्वयन गर्न सरकारसमक्ष माग गरिन्। सांसद चन्द्रबहादुर विश्वकर्माले भारत र चीनको सिमाना जोड्ने कर्णाली करिडोर र भेरी करिडोर खण्ड अझै विस्तार हुन नसकेको भन्दै आगामी बजेटमा उचित व्यवस्था गर्न सरकारसमक्ष माग गरे।

सांसद चित्रबहादुर केसीले बागलुङको कालीगण्डकीमा बालुवा दोहन बढिरहेको भन्दै बालुवा, गिटी उत्खनन रोक्न सभामुखमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराए। सांसद ज्वालाकुमारी शाहले न्याय र सुशासन कायम गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन्।