नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

आइतबार नेप्से परिसूचक १२.५३ अंकले घटेर २६४९.११ को बिन्दुमा कायम भएको हो।

काठमाडौँ– यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। आइतबार नेप्से परिसूचक १२.५३ अंक अर्थात् ०.४९ प्रतिशतले घटेर २६४९.११ को बिन्दुमा कायम भएको हो। यस दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।

यस दिन ३०० कम्पनीका दुई करोड ४० लाख ११ हजार १४ कित्ता शेयर ८८ हजार ९५५ पटक खरिद बिक्री हुँदा १० अर्ब २० करोड २७ लाख एक हजार ३४४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। बिहीबार ११ अर्ब ६५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

विकास बैंक समूह १.११, होटल तथा पर्यटन ६.२४, जीवन बीमा ०.११ र व्यापार समूह ०.३६ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।

बैंकिङ ०.५५, वित्त ३.३८, जलविद्युत् १.३४, लगानी १.३३, उत्पादन तथा प्रशोधन ०.४५, लघुवित्त ०.२३, म्युचुअल फन्ड ०.३५, निर्जीवन बीमा ०.१४ र अन्य समूहको उपसूचक १.४९  प्रतिशतको गिरावट देखिएको छ।

यस दिनको कारोबारमा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्य ७.३० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सबैभन्दा बढी राधी विद्युत् कम्पनीको ६६ करोड १० लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावरको १५ लाख ६१ हजार ८७१ कित्ता खरिदबिक्री भएको छ।