३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गेका लागि प्रसिद्ध मानिन्छ। जुन फाँटमा एकैपटक सयौँ बाह्रसिङ्गाको झुन्ड देख्न सकिन्छ।
कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बिस्तारै पर्यटकहरूको रोजाइमा पर्न थालेको छ। शान्त वातावरण, ठूलो घाँसे मैदान र थोरै क्षेत्रफलमा धेरै वन्यजन्तु हेर्न मिल्ने भएकाले पनि स्वदेशी तथा विदेशी पर्यटकहरूको रोजाइ शुक्लाफाँटा हुने गरेको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट २४ किलोमिटरको दूरीमा शुक्लाफाँटामा ठूलो घाँसेमैदान (फाँट) छ। विश्वकै सबैभन्दा ठूलो घाँसेमैदानमा पनि यसको विशेषता हो। ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्ज बाह्रसिङ्गेका लागि प्रसिद्ध मानिन्छ। जुन फाँटमा एकैपटक सयौँ बाह्रसिङ्गाको झुन्ड देख्न सकिन्छ। यहाँ घुम्न आउने आगन्तुकहरूलाई फाँटमा बाह्रसिङ्गाले स्वागत गर्छन्। बाह्रसिङ्गाको टाउकामा सिङका छ–छ वटा हाँगा हुन्छन्। आँखै अगाडि देखिने बाह्रसिङ्गाको झुन्डले यहाँ आउने आगन्तुकको मन लोभ्याउने गरेको छ।
शुक्लाफाँटाको विशाल घाँसेमैदानमा मयुर नाचेको दृश्यले त आगन्तुकको मनै लोभ्याउने गरेको छ । उक्त फाँटमा पाठेबाघको दृश्यसमेत देख्न सकिन्छ । शुक्लाफाँटाको पूर्वीतर्फ बग्ने चौधर खोला, बर्कौला र फाँट पाटेबाघ देखिने ठाउँ हुन् । सोही फाँटमा राजा महेन्द्रले २०२४ सालमा सिकार खेलेका र हालको दुधिया क्याप्प भन्ने ठाउँमा राजा महेन्द्र एक रात बास बसेको बताइन्छ ।
शुक्लाफाँटा घुम्ने मुख्य समय फागुनदेखि असारसम्म हो। वसन्त ऋतुमा त शुक्लाफाँटामा फुल्ने रङ्गीबिरङ्गी फूलहरूले आगन्तुकलाई रोमाञ्चक बनाउँछ। निकुञ्जभित्र अन्य थुप्रै साना–ठूला धेरै फाँट छन्, जहाँ विभिन्न प्रजातिका चराचुरुङ्गी देख्न पाइन्छ। निकुञ्जको पूर्वी क्षेत्रमा हीरापुर फाँट छ, त्यहाँ कृष्णसार संरक्षण गरिएको छ। निकुञ्ज प्रवेश गर्ने दुई वटा बाटा छन्। एउटा रानी ताल भएर फाँट पुगिन्छ भने अर्को बर्काेलाको बाटो। फाँटमा पर्यटकका लागि काठका चार वटा मचान बनाइएका छन्। ती मचानबाट पर्यटकले शुक्लाफाँटाको दृश्य अवलोकन गर्न र तस्वीर लिने सक्नेछन्।
शुक्लाफाँटाभित्रै रानी ताल छ। त्यहाँ रानी ताल सँगसँगै अन्य ससाना ताल पनि छन्। त्यहाँ प्रशस्त रूपमा गोही र चराचुरुङ्गी देख्न पाइन्छ। जानकारहरूका अनुसार सिंहपाल राजाका रानीले नुहाउने ताल भएकाले उक्त तालको नामकरण रानी ताल राखिएको हो।
वन्यजन्तु मात्रै नभई दुर्लभ वनस्पतिको लागि पनि प्रसिद्ध ठाउँ हो शुक्लाफाँटा। निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन् भने २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा, ३५ प्रजातिका पुतली, ८०–९० वटा नीलगाई र ४४९ भन्दा बढी प्रजातिका चरा रहेको निकुञ्ज कार्यालयले जनाएको छ।
विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधेश र लेसर भुँडीफोरजस्ता वन्यजन्तु पनि छन्। स्तनधारी वन्यजन्तुमा पाटेबाघ, एकसिङ्गे गैँडा, हात्ती बाह्रसिङ्गा, कृष्णसार, सालक, नीलगाई, चितुवा चित्तल, लगुना, रतुवा, हिसपिड खरायो, बँदेललगायत ५३ भन्दा बढी प्रजाति रहेका छन्। त्यसैगरी २५ वटा जङ्गली हात्ती, १६ वटा एकसिङ्गे गैँडा, ४२ वटा पाठेबाघ रहेको बताइन्छ। शुक्लाफाँटाको छेउ पिपरियामा रहेको हात्तीसारमा हात्ती चढ्न पाइन्छ।
निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्ले पछिल्लो समय निकुञ्ज घुम्न आउने पर्यटकको संख्यामा वृद्धि भएको बताउँछन्। उनका अनुसार चालु आर्थिक वर्षको कात्तिकदेखि चैत्र मसान्तसम्म शुक्लाफाँटामा दुई हजार ३८८ विदेशी र दुई हजार १८१ जना नेपाली पर्यटकले भ्रमण गरेका छन्। सबैभन्दा बढी फ्रान्स र स्पेनका पर्यटक यहाँ घुम्न आउँछन्।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका नेचर गाइड विष्णुप्रसाद पनेरु फाँटमा एकै ठाउँमा विभिन्न प्रजातिका चरा, बाह्रसिङ्गा, बाघ, गैँडालगायत दुर्लभ वन्यजन्तु देखिँदा विदेशी धेरै खुशी हुने गरेको बताउँछन्। शुक्लाफाँटामा शुक्लाफाँटा पर्यटकका लागि यो उत्कृष्ट गन्तव्य भएकाले ठूलो संख्यामा विदेशी पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको स्थानीय रमेश पन्त बताउँछन्।
“यहाँबाट भारतका ठूला शहरहरू धेरै नजिक भएकाले त्यहाँ आउने पर्यटकहरूलाई आकर्षण गर्न सकिन्छ,” उनले भने। उनले शुक्लाफाँटा मात्रै नभई नजिकै रहेको दोधारा चाँदनी झोलुङ्गे पुल, झिलमिला ताललगायत सहायक गन्तव्य रहेको बताउँदै राज्यस्तरबाट पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए।
पछिल्लो समय पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल भित्रिने विदेशी पर्यटकको संख्यासमेत बढ्दै गएकाले पर्यटकको सहजताका लागि तीनवटै तहका सरकारले लाग्नुपर्ने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
