आवासीय चिकित्सकका अतिरिक्त सुविधा तय गर्न स्वास्थ्य मन्त्रालयले बनायो कार्यदल

कार्यदललाई आवासीय चिकित्सकको बिदा, ड्युटी आवर तथा अतिरिक्त सुविधा लगायतका विषयमा वर्तमान अवस्था मूल्यांकन गर्ने कार्यादेश दिइएको छ।

काठमाडौँ– आवासीय चिकित्सकसँग भएका समझदारी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यदल गठन गरेको छ।

वैशाख २० गते आवासीय चिकित्सकको सेवा सुविधा तय गर्नका लागि भएको समझदारीअनुसार आवासीय चिकित्सकको ड्युटी आवर, बिदा तथा अतिरिक्त सुविधा लगायतका विषयमा सुझाव दिन कार्यदल गठन गर्ने सहमति भएको थियो।

सोहीअनुसार सुझाव दिनका लागि भन्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बारकोटीको संयोजकत्वमा कार्य दल गठन गरेका हुन्।

गठित समितिका सदस्यमा चिकित्सा शिक्षा आयोगका योजना समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशक प्राडा. सुजनबाबु मरहट्टा , यसैगरी त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्राडा. मोहन शर्मा, मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल सदस्य छन्।

यसैगरी, मन्त्रालयको प्रशासन महाशाखा प्रमुख  ऋषिराज आचार्य, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रेक्टर प्राडा लोचन कार्की, काठमाडौँ विश्वविद्यालयका डीन प्राडा मनोज हुमागाईं, निजी मेडिकल कलेजका तर्फबाट डा. सुमेश मिश्र सदस्य तथा मन्त्रालयकी अधिकृत डा. सुनिता लम्साल सदस्य सचिव छन्।

कार्यदललाई आवासीय चिकित्सकको बिदा, ड्युटी आवर तथा अतिरिक्त सुविधा लगायतका विषयमा वर्तमान अवस्था मूल्यांकन गर्ने कार्यादेश दिइएको छ।

यसैगरी, यस सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्याससँग तुलना गर्न र सुधारका लागि कार्यान्वयनयोग्य सिफारिस तयार पार्न कार्य दललाई कार्यादेश दिइएको छ।

कार्यदललाई दुई साताभित्र प्रतिवेदन मन्त्रालयलाई दिन भनिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए। “आवासीय चिकित्सकसँग मन्त्रालयले गरेको सम्झौता कार्यान्वयन गर्न कार्यदलको प्रतिवेदन महत्त्वपूर्ण हुने अपेक्षा गरेका छौँ,” प्रवक्ता बुढाथोकीले भने।