गाजामा जल संकट : दैनिक ५ लिटरभन्दा कम पानी पाउँछन् नागरिक

जल प्राधिकरणले इजरायललाई तत्काल सैनिक आक्रमण रोक्न, नाकाबन्दी अन्त्य गर्न र पानी आपूर्ति सेवामा संलग्न कामदारको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।

प्यालेस्टाइनी जल प्राधिकरणले गाजा क्षेत्रमा गम्भीर जल संकट उत्पन्न भएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ। इजरायलसँग जारी द्वन्द्वका कारण गाजाको खानेपानी र सरसफाइसम्बन्धी सेवा लगभग पूर्ण रूपमा बन्द भइसकेको प्राधिकरणको भनाइ छ।

प्राधिकरणले इजरायली सैनिक कारबाही, संरचना ध्वस्त, विद्युत् आपूर्ति अवरुद्ध, इन्धन र अत्यावश्यक सामग्रीमा रोक लगाइएका कारण पानी आपूर्ति ठप्प भएको जनाएको छ। अहिले गाजावासीले प्रतिदिन औसतमा केवल ३ देखि ५ लिटर पानी मात्र पाउँदै आएका छन्। स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डअनुसार एक जना व्यक्तिले न्यूनतम १५ लिटर पाउनुपर्छ।

सफा पानी नपाउँदा र ढल फाल्ने व्यवस्था विफल हुँदा गम्भीर रोग फैलने खतरा रहेको पनि प्राधिकरणले चेतावनी दिएको छ। स्थानीय बासिन्दा पिउन नमिल्ने नुनिलो पानी प्रयोग गर्न बाध्य भएका छन्।

प्राधिकरणले इजरायललाई मानव अधिकारको उल्लंघन गरेको आरोप लगाउँदै तत्काल सैनिक आक्रमण रोक्न, नाकाबन्दी अन्त्य गर्न र पानी आपूर्ति सेवामा संलग्न कामदारको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।

यता, गाजा क्षेत्रको प्रशासनले इजरायलमाथि दुई लाखभन्दा बढी जनसंख्यालाई योजनाबद्ध रूपमा पीडा दिएको आरोप लगाउँदै ७० दिनदेखि नाकाबन्दी जारी राखेर करिब ३९ हजार सहायता सामग्री बोकेका गाडीहरूलाई प्रवेश गर्न नदिएको जनाएको छ।

गाजा प्रवेश मार्गहरू गत मार्च २ गतेदेखि बन्द छन्। हमाससँग भएको युद्धविरामको पहिलो चरण सकिएपछि दोस्रो चरण अझै कार्यान्वयनमा आइसकेको छैन।