गभर्नर बन्ने चर्चाबीच सिफारिस समितिबाट विश्व पौडेलको राजीनामा

राष्ट्र बैंकको गभर्नर सिफारिस समिति सदस्यबाट विश्व पौडेलले राजीनामा दिएका छन्।

काठमाडौँ– नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समिति सदस्यबाट विश्व पौडेलले राजीनामा दिएका छन्।

सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच पौडेलको नाम राष्ट्र बैंकको गभर्नरमा सिफारिस गर्ने सहमति भएको चर्चामाझ पौडेलले गभर्नर सिफारिस समिति सदस्यबाट राजीनामा दिएका हुन्।

सिफारिस समिति संयोजक तथा अर्थमन्त्री विष्णु पौडेललाई औपचारिक रूपमा राजीनामा पत्र पठाइसकेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

गभर्नर बन्न यसअघि गुणाकर भट्टले पनि राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए।

लामो समयसम्म उनको राजीनामा स्वीकृत नभएपछि कांग्रेसले पौडेलको नाम सिफारिस गर्ने तयारी गरेको सार्वजनिक भएको थियो। पौडेलले योजना आयोगका उपाध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

दुई दलीय भागबन्डाअनुसार राष्ट्र बैंकको गभर्नर कांग्रेसको भागमा परेको छ।