प्रतिकूल मौसमका कारण अबको तीन/चार दिन सगरमाथा आरोहण नहुने जनाइएको छ। मौसमले साथ दिए मे १८ देखि सगरमाथा आरोहण हुने विभागले उल्लेख गरेको छ।
काठमाडौँ– वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ। तथापि प्रतिकूल मौसमका कारण सोमबार सगरमाथा, कञ्चनजंघालगायत हिमालको आरोहण प्रभावित भएको छ। पर्यटन विभागका अनुसार सगरमाथामा तीव्र गतिको हावाका कारण आरोहण प्रभावित भएको हो।
“सगरमाथामा तीव्र गतिको हावा बहेका कारणले गर्दा आज आरोहण हुन नसकेको खबर आएको छ,” विभागका निर्देशक हिमाल गौतमले भने।
आरोहणको तयारीमा रहेका धेरै संख्याका आरोही अहिले सुरक्षित स्थलतर्फ फर्किँदै छन्। अक्सिजन पर्याप्त भएका आरोही भने दोस्रो र तेस्रो शिविरमा अनुकूल मौसमको प्रतीक्षामा छन्। सगरमाथाको आधार शिविरमा रहेको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रतिनिधि पासाङ भोटेका अनुसार मौसममा आएको गडबढीले सगरमाथा आरोहण प्रभावित भएको छ।
मौसमका कारण मे १५ तारिखमा आरोहण गर्ने योजना रद्द भएको छ। सम्भवतः मे १४ तारिखको आरोहण योजना पनि रद्द हुनेछ। उक्त मितिमा सगरमाथाको चुचुरोमा पुग्ने योजना बनाएका आरोही आधार शिविर झरिरहेको विभागका प्रतिनिधि भोटेले बताए। “मौसमका कारण आज सगरमाथाको आरोहण हुन सकेको छैन। चौथो शिविर पुगेका आरोही आज र भोलि मंगलबार सबै जना आधार शिविर आउनुहुन्छ होला,” उनले भने।
प्रतिकूल मौसमका कारण अबको तीन/चार दिन सगरमाथा आरोहण नहुने जनाइएको छ। मौसमले साथ दिए मे १८ देखि सगरमाथा आरोहण हुने विभागले उल्लेख गरेको छ। सगरमाथा आरोहण व्यवस्थापनको जिम्मेवारी पाएको एकटके एक्सपिडिसन कम्पनीका अनुसार मे ११ देखि १४ तारिखसम्म सर्वाधिक संख्यामा आरोही चुचुरोमा पुग्ने सम्भावना थियो। मे १२ देखि १५ सम्म ‘समिट बिन्डो’ रहेको थियो। मे १६ र १७ मा हिमपात हुने अनुमान गरिएको थियो। तर पाँच दिनअगाडि नै सगरमाथा क्षेत्रको मौसम बिग्रिएर आरोहण अवरुद्ध भएको हो।
हालसम्म सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ्ङ)सहित चार समूहका आरोहीले मात्रै सगरमाथा चढेको विभागको फिल्ड कार्यालयले जनाएको छ। कञ्चनजंघा हिमालमा पनि प्रतिकूल मौसमले आरोहण प्रभावित भएको विभागले जनाएको छ।
मे १० तारिखमा दावा फुञ्जो शेर्पा र फुर्साङ शेर्पाले सगरमाथा आरोहण गरेका छन्। यस्तै, मे ११ मा बेलायतका आरोही मिचेल लियोनार्ड डाक्रेले आरोहण गरे। नेपालबाट ग्याल्जे शेर्पा, फुरी शेर्पा र आङ पेम्बा शेर्पाले सगरमाथा आरोहण गरे। त्यस्तै, इक्वेडरका पेट्रिसियो एरेभालोले पनि सोही दिन आरोहण गरेका छन्। मे ११ तारिखकै दिन दावा फुञ्जो शेर्पाले लोहोत्से हिमालको पनि आरोहण गरेका छन्।
आरोहीहरू अहिले सगरमाथाको दोस्रो र तेस्रो शिविर आसपास प्रतीक्षारत छन्। त्यसैगरी यस याममा पाँच नेपाली, तीन चिनियाँ आरोही र एक किर्गिस्तानीले मकालु आरोहण गरेको विभागको फिल्ड कार्यालयले जनाएको छ।
वसन्त ऋतुको सगरमाथा आरोहण यही वैशाख २६ गतेदेखि शुरू भएको हो। एटके एक्सपिडिसन कम्पनीबाट खटिएका सात जनाको शेर्पा टोलीले शुक्रबार साँझ ५ बजे सगरमाथाको चुचुरोमा डोरी टाँगेर आरोहणको ढोका खोलेका थिए।
यो याममा सर्वोच्च शिखर सगरमाथासहित २६ हिमाल आरोहणका लागि ११९ आरोही समूहका २४० महिला र ८८७ पुरुष गरी कुल एक हजार १२७ जनाले आरोहण अनुमति लिएका छन्। सबैभन्दा बढी सगरमाथा आरोहणमा ४५ आरोही समूहका ८४ महिला र ३७२ पुरुष गरी कुल ४५६ आरोहीले आरोहण अनुमति लिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
