सुन्धारामा दुइटा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु, २ घाइते

काठमाडौँस्थित सुन्धारामा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

काठमाडौँ– काठमाडौँस्थित सुन्धारामा दुई वटा मोटरसाइकल आपसमा ठोक्किएर सोमबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।

काठमाडौँ महानगरपालिका–२२ स्थित काठमाडौँ मलअगाडि बा ३४ प ४३२० नम्बरको मोटरसाइकल र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल आपसमा ठकिएका हुन्। 

उक्त दुर्घटनामा बा ३४ प ४३२० नम्बरको मोटरसाइकल चालक ललितपुर इमाडोल बस्ने तनहुँ आँबुखैरेनीका ४६ वर्षीय सन्तोषकुमार गुरुङको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। साथै दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार एक जना र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।