मर्मतपछि कुलेखानी तेस्रोबाट थालियो विद्युत् उत्पादन

जलविद्युत् आयोजना तेस्रोको एउटा टर्वाइनमा देखिएको ‘एलाइनमेन्ट’ समस्या मर्मतसम्भार गरी सोमबार साँझदेखि विद्युत् उत्पादन शुरू गरिएको छ।

मकवानपर– भीमफेदी गाउँपालिका–१ सानुटारस्थित कुलेखानी जलविद्युत् आयोजना तेस्रोको एउटा टर्वाइनमा देखिएको ‘एलाइनमेन्ट’ समस्या मर्मतसम्भार गरी सोमबार साँझदेखि विद्युत् उत्पादन शुरू गरिएको छ।

विद्युत् गृहको एउटा टर्वाइनमा एलाइन्मेन्टको समस्या मर्मत गर्न केही दिन अघिदेखि विद्युतगृह बन्द गरिएको थियो। कुल १४ मेगावाटमध्ये एउटा टर्वाइनबाट सात मेगावाट विद्युत् उत्पादन हुँदै आएको कुलेखानी जलविद्युत् केन्द्रका प्रमुख प्रसन्न मुनि ताम्राकारले बताए।

विद्युत् केन्द्रमा रहेको दुई वटा टर्वाइन लगातार सञ्चालन भइरहँदा एउटा टर्वाइनमा ठोकिएर ठूलो आवाज आइरहेकाले तत्काल बन्द गरेर चिनियाँ कम्पनीका प्राविधिकमार्फत मर्मत गरिएको ताम्राकारले जानकारी दिए।

टर्वाइन मेसिन सञ्चालन आएको केही घण्टा पछिदेखि साबिकमा उत्पादित १४ मेगावाट विद्युत्को केन्द्रीय ग्रिडमा जोडिने आयोजना कार्यालयले जनाएको छ। कुलेखानी पहिलो आयोजनाबाट ६० मेगावाट र दोस्रोबाट ३२ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ।