बालुवाटारमा देउवाले बोलाए पार्टीका सांसदको भेला

सरकार गठनबारे धारणा बुझ्न कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार मध्याह्न साढे १२ बजे पार्टीका सांसदहरूको भेला बोलाएका छन्।

काठमाडौँ– कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीबाट निर्वाचित सांसदलाई बालुवाटार बोलाएका छन्। 

प्रधानमन्त्रीसमेत रहेका देउवाले सरकार गठनबारे धारणा बुझ्न सांसदलाई बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। मध्याह्न साढे १२ बजे देउवाको सरकारी निवास बालुवाटारमा भेलामा सरकार गठनलगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय आइतबार सकिँदैछ। हालसम्म सरकार गठनका विषयमा सत्तागठबन्धनमै सहमति जुट्न सकेको छैन। माओवादी केन्द्रले पहिलो दुई वर्ष सरकारको नेतृत्व माग गरेको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पहिलो चरणमा प्रधामन्त्री बनाउनुपर्ने अडान राख्दै आएका छन्। देउवा प्रचण्डको प्रस्ताव स्वीकार गर्न तयार छैनन्। कांग्रेसभित्र राष्ट्रपति र सभामुख राखेर प्रधानमन्त्री माओवादीलाई दिनुपर्ने आवाज पनि उठ्न थालेको छ।

भेलामा यसै विषयमा छलफल गरेर टुंगोमा पुग्ने बताइएको छ।