स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा कांग्रेस सांसद माया राईविरुद्ध मुद्दा दायर

काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनको अभियोगमा कांग्रेस सांसद माया राईविरुद्ध मुद्दा दायर भएको छ।

काठमाडौँ– काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेस सांसद माया राईविरुद्ध मुद्दा दायर भएको छ। सरकारी वकिल कार्यालय, काठमाडौँले मंगलबार काठमाडौँ जिल्ला अदालतमा ‘थप अभियोगपत्र’ दायर गरेको हो।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा प्रहरीले राईलाई वैशाख १३ गते बूढानीलकण्ठबाट पक्राउ गरेको थियो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेर पूरक अनुसन्धान गरेको थियो। प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा उनीमाथि थप अभियोगपत्र दायर भएको जिल्ला न्यायाधिवक्ता सन्तोषराज कटुवालले जानकारी दिए।

उनले प्रहरीसँगको बयानमा भूपेन्द्र राईको विश्वासमा परेर सहकारीका कागजातमा हस्ताक्षर गरेको बताएकी छन्। “के कुन कागजातहरूमा सही छाप गरेँ, उक्त समयमा थाहा भएन। मैले उक्त कागजात नपढी/नहेरी मसँगै बस्ने भूपेन्द्र राई भन्ने भाइको कुरामा विश्वास गरी हस्ताक्षर गरेकी हुँ,” उनले बयानमा भनेकी छन्।

उनी स्वर्णलक्ष्मी सरकारीको कार्यसमिति सदस्य रहँदा ८९ लाख ३४ हजार ३५५ रुपैयाँ र कार्यसमितिको सचिव रहँदा एक करोड ४२ लाख १० हजार ४३३ रुपैयाँ गरी कुल दुई करोड ४० लाख  ४४ हजार ७९० रुपैयाँ बिगो बराबरको रकम अपचालन भएको अभियोगपत्रमा उल्लेख छ।

वकिल कार्यालयले राईमाथि मुलुकी अपराध संहिता २०७४ को २४९ को उपदफा (३)को (ग) र संगठित अपराध निवारण ऐनको दफा ९(क) र (ग) बमोजिम सजायको माग गरेको छ।

त्यस्तै, अभियोगपत्रमा उनी सहकारीको कार्यसमिति सदस्य र सचिव रहेको अवधिमा अपचलन भएको रकम असुलउपर गर्नुपर्ने, पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउनुपर्ने माग दाबी लिइएको छ।