नेपाल हङकङसँग ७ विकेटले पराजित

आईसीसी महिला टी२० विश्वकप एशिया क्वालिफायर क्रिकेटअन्तर्गत मंगलबार भएको खेलमा नेपाल हङकङसँग पराजित भएको छ।

काठमाडौँ– आईसीसी महिला टी२० विश्वकप एशिया क्वालिफायर क्रिकेटअन्तर्गत मंगलबार भएको खेलमा नेपाल हङकङसँग पराजित भएको छ।

थाइल्यान्डको बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा भएको खेलमा हङकङले नेपाललाई सात विकेटले पराजित गरेको हो।

नेपालले जितका लागि ३० रनको लक्ष्य दिएकामा हङकङले ४.३ ओभरमा ३ विकेटको क्षतिमा उक्त लक्ष्य पूरा गर्‍यो।

वर्षाका कारण टसमा ढिलाइ भएपछि खेललाई पाँच ओभरमा झारिएको थियो। हङकङका लागि शान्जिन शहजादले अविजित १५ र मारिको हिलले ११ रन बनाइन्। 

बलिङतर्फ नेपालका लागि कविता कुँवरले दुई विकेट लिइन्।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित पाँच ओभरमा तीन विकेट गुमाउँदै २९ रन बनायो। नेपालका लागि सम्झना खड्काले १० रन बनाइन्। कप्तान इन्दु बर्माले ९ र रुबिना क्षेत्रीले ४, पूजा महतोले ३ र कविता कुँवरले २ रन बनाइन्।

बलिङतर्फ हङकङका लागि एलिसन सिउले तीन विकेट  लिइन् । 

यसअघि नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो। नेपालले दोस्रो खेलमा बहराइनलाई ९ विकेटले हरायो। 

प्रतियोगितामा नेपालसहित आयोजक थाइल्यान्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युनाइटेड अरब इमिरेट्स (युएई) सहभागी छन्। 

नेपाल समूह ‘सी’ मा रहेको छ। नेपालको समूहमा बहराइन र हङकङ छन्। समूह ‘ए’ मा भुटान, कुवेत र थाइल्यान्ड तथा समूह ‘बी’ मा मलेसिया, कतार र यूएई छन्।