मखनटोलमा लागेको आगो नियन्त्रणमा

आगो निभाउन काठमाडौँ र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको थियो। 

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा ग्यास चुहिएर भएको आगलागी नियन्त्रणमा आएको छ। 

बिहान ९:१५ मा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलले जनाएको छ। आगो निभाउन काठमाडौँ र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको थियो। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरी खटिए थिए।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार स्थानीय दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी भएको हो। 

आगलागीमा परी एक जना महिलाको मृत्यु भएको छ। जलेको अवस्थामा शव निकालिएको र मृतकको पहिचान खुल्न बाँकी रहेको उनले बताए। 

माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्यास लिक भई आगलागी शुरू भएको थियो।