घुम्टोमा घण्टाघरः मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगन्जवासीको माग

वीरगन्ज आउने स्वदेशी तथा विदेशी पर्यटकको मुख्य आकर्षण घण्टाघर घुम्टोमा छ। मर्मतसम्भारको नाममा यसलाई छोपिएको छ। पर्यटक यस्तो दृश्यबाट खिन्न भएका छन्।

तस्वीर: रासस

वीरगन्ज– वीरगञ्जको प्रतिष्ठाको प्रतीक घण्टाघरको केही भाग भत्किएको तीन महिना बित्न लागेको छ तर मर्मतसम्भार पूरा भएको छैन। गत फागुन ७ गते भत्किएको घण्टाघरको ‘बाल्कोनी’ मर्मतसम्भार चाँडोभन्दा चाँडो सम्पन्न गर्न वीरगन्जवासीले माग गरेका छन्।

वीरगन्ज आउने स्वदेशी तथा विदेशी पर्यटकको मुख्य आकर्षण घण्टाघर घुम्टोमा छ। मर्मतसम्भारको नाममा यसलाई छोपिएको छ। यहाँ घुम्न आउने पर्यटक यस्तो दृश्यबाट खिन्न भएका छन्।

वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले घण्टाघरको संरचना जीर्ण भएकाले पनि मर्मतसम्भारका लागि केही बढी समय लागेको जानकारी दिए। “घण्टाघरको पुरानो संरचना भएकाले  मर्मतसम्भारमा केही बढी समय लागेको हो,” उनले भने, “हामीले घण्टाघरको संरचना मर्मतसम्भार शीघ्र पूरा गर्न व्यवसायीलाई पनि ताकेता गरिरहेका छौँ।”

वीरगन्ज महानगरपालिका पूर्वाधार महाशाखाका इन्जिनियर गौरव झाले घण्टाघरको बाल्कोनीमा अकासे पानीको उचित निकास नहुँदा घामपानीले बाल्कोनीमा क्षति पुर्‍याएको जानकारी दिए। “घामपानीले पनि घण्टाघरको बाल्कोनीमा ‘क्र्याक’ आइसकेको रहेछ। घण्टाघरमा उठाइएको पर्खालको इँटा पनि खस्न थालिसकेको रैछ,” उनले भने, “हामीले घण्टाघरको ‘कोर बिल्डिङ’ नभएर बाल्कोनीको छानालाई फुटाएर फेरि मर्मतसम्भारको काम अघि बढाइरहेका छौँ।”

इन्जिनियर झाले घण्टाघरमा देखिएको समस्या पहिचान र लागत ‘इष्टिमेट’ तयार पार्नका लागि केही समय लागेको बताए। अहिले घण्टाघर मर्मतसम्भारका काम अघि बढेको उनको भनाइ छ। “घण्टाघरको अहिले ५० देखि ६० फिटको उचाइमा काम भइरहेको छ,” उनले भने, “हामीले सोभन्दा मुनिको संरचनालाई पनि जोगाएर मर्मतसम्भारको काम गर्नुपरेको छ। माथि मेसिन वा द्रुतगतिमा काम गर्दा पनि तल्लो संरचनामा क्षति हुने सम्भावना उच्च भएकाले पनि काम ढिलो भएजस्तो देखिएको हो।” 

इन्जिनियर झाले घण्टाघरको मर्मतसम्भारको काम सक्न अझै डेढ महिनाभन्दा धेरै समय लाग्ने बताए। उनले भने, “घण्टाघरको बाल्कोनीमा आकाशबाट खसेको पानीको उचित निकासको व्यवस्था नहुँदा पानी चुहिने समस्या देखिएको छ। सोको पनि उचित व्यवस्थापनको काम भइरहेको छ।” महानगरले विगत डेढ महिनादेखि घण्टाघरमा खट बाँध्ने, टेका लगाउनेलगायत काम गरेको थियो। अत्यधिक सवारीसाधनको चाप हुने भएकाले पनि घण्टाघरलाई चारैतर्फबाट छोपेर काम भइरहेको छ। घण्टाघर मर्मतसम्भार २० लाखको लागतमा निर्माण गर्न लागिएको हो। वीरगन्ज महानगरले २०८२ असार १० गतेसम्म निर्माण सम्पन्न हुनेगरी ठेक्का लगाएको छ। 

वीरगन्जको घण्टाघर सन् १९७९ मा तयार भएको बताइन्छ। त्यो बेला जापानको योनागो शहरका विद्यार्थीको एकदिनको खाजाको पैसा कटाएर घण्टाघर र त्यहाँ घडी राख्न आवश्यक बजेटको प्रबन्ध मिलाइएको स्थानीय ज्येष्ठ नागरिकको कथन छ। 

गत चैत २७ गते नेपालका लागि जापानका राजदूत माएदा तोरु पनि वीरगन्ज आउँदा घण्टाघरबारे चासो व्यक्त गरेका थिए।