म त कविता र गीत लेखेर छाड्थेँ, हिँड्थेँ। त्यसमा कसैले मसला बेचोस् कि अरू थोक बेचोस् मलाई खासै मतलब थिएन।
शिशिर योगीले तपाईंले लेखेको 'म हुँ भाग्यमानी' बोलको गीत गाउनुभएको छ। कुन सन्दर्भमा लेख्नुभएको हो सो गीत? आफूलाई कत्तिको भाग्यमानी ठान्नुहुन्छ?
भाग्यमानीको दुईवटा अर्थ हुन्छन्। एउटा भगवान्ले बनाइदिएको, गराइदिएको या भगवान्ले नै सबै कुरा कमाइदिएको भन्ने अर्थमा। अर्कोचाहिँ साह्रै राम्रो संयोगलाई भाग्य भनिन्छ। इतिहासको एउटा सानो टुक्रो म स्मरण गर्न चाहन्छु। जर्मनी युरोपको धेरै जनसंख्या भएको शक्तिशाली देश हो। १९औँ शताब्दीको अल्लि अघिल्लै अवधिमा त्यहाँ 'जे हुन्छ भगवान्कै कारण हुन्छ। ईश्वरले भनेको र लेखेको आधारमा अर्थात् ईश्वरले भाग्य लेखिदिएको या तोकेका आधारमा सबै कुरा हुन्छ' भन्ने मान्यता व्याप्त थियो। हेगेलजस्ता विद्वानहरू थिए, जसले जे गर्छ सबै ईश्वरले गर्छ भन्थे। भाग्यवादको यस्तो लहर नै चलेको थियो जर्मनीमा। जर्मनी यस्तो हालतमा पुगेको थियो कि जर्मनहरू दृढताका साथ काम नगर्ने र 'मैले केही गर्नुपर्छ' भन्ने भावना नराख्ने भइसकेका थिए।
त्यसबेला बर्लिन युनिभर्सिटीमा नित्से भन्ने एक जना विद्वान प्रोफेसर थिए। त्यतिखेर जर्मनी १६ टुक्रामा बाँडिएको थियो। वरिपरिका देशले जर्मनीलाई टुक्रा टुक्रामा विभक्त पारेका थिए। जर्मनी निकै पछाडि परेको थियो। जनता निराश थिए। त्यही समयमा नित्सेले एउटा कठपुतली बनाए परालको र डन्डा लिएर बर्लिन विश्वविद्यालयबाट चौबाटोमा निस्के। उनका विद्यार्थी पनि पछिपछि लागे।
चौबाटोमा गएर सबै मान्छे जम्मा गरेपछि उनले कठपुतलीलाई भुइँमा पछार्दै भने– आज म भगवान्को हत्या गर्दैछु। त्यसो भनेर लाठीले हानेर कठपुतलीलाई ध्वस्त बनाए। आफ्ना विद्यार्थीसँग उनले भने – देख्यौ? तिमीहरूको भगवान्लाई मैले मारिदिएँ। आइ किल्ड् द गड। नित्सेको सो भनाइ धेरै प्रसिद्ध छ।
नित्सेले भने– तिमीहरूको भगवान् छैन। अब १६ टुक्रा भएको जर्मनीलाई कसले एकीकरण गर्छ? नित्सेका विद्यार्थीमध्ये विस्मार्क भन्ने एउटा युवा थियो। उसले एक कदम अघि सरेर भन्यो– जर्मनीलाई म अघि बढाउँछु। त्यही विस्मार्क पछि जर्मनीको चान्सलर भए। जसलाई विश्वले उनलाई 'आइरन म्यान अफ जर्मनी'का रूपमा स्वीकार गर्यो।
तर, हेगेलले भनेको भाग्यवाद मेरो आशय होइन। ‘जानेर नि होइन, होइन छानाछानी तर जन्मेँ नेपालमै, कस्तो भाग्यमानी?’, मैले गीतको दुई लाइनमै यसो भनेको छु। परिश्रम र मिहिनेतबिनाको निकम्मा भाग्यवादमा विश्वास गर्दिनँ। तर, नेपालमा जन्मनु ठूलो भाग्यको कुरा हो। त्यही कुरा मनन गरेर मैले गीत लेखेको हुँ।
हाम्रो देशमा मिर्गौला प्रत्यारोपणजस्तै अन्य सर्जरी र 'अर्ग्यान ट्रान्सप्लान्ट'हरू पनि भएका छन्। जतिखेर मेरो मिर्गौला प्रत्यारोपण भयो, उतिखेर म प्रधानमन्त्री थिएँ। प्रधानमन्त्रीजस्तो मान्छेले पनि सुविधा खोज्दै अरू देश जान परेन। मैले देश र आफ्नो देशका डाक्टर र नर्सहरूलाई नै भर गरेँ। मेरो अप्रेसन सफल भयो। वास्तवमा यो देशले विकास गर्न सक्छ। यो देशमा जन्मनु मेरो मिहिनेत होइन। छानेर र रोजेर जन्मिएको पनि होइन म यहाँ। तर, यो यो शिवभूमि, वुद्धभूमि र व्यासभूमिमा जन्मनु भाग्यको कुरा हो। विद्वान र वीरहरूको भूमिमा जन्मन पाउनुका कारण म आफूलाई असाध्यै भाग्यमानी ठान्छु। त्यस अर्थमा मैले सो गीत लेखेको हुँ।
जतिखेर तपाईंको मिर्गौला प्रत्यारोपण भइरहेको थियो, डाक्टरहरू ‘प्रधानमन्त्रीको मिर्गौला दोस्रोपटक देशमै कसरी प्रत्यारोपण गर्ने’ भन्ने चिन्तामा हुनुहुन्थ्यो। तर तपाईंले भने ‘नडराउनुहोस् म बाँच्छु’ भनेर डाक्टरको मनोबल बढाइरहनुभएको थियो। नेपालमै मिर्गौला प्रत्यारोपण गर्ने निर्णय कसरी गर्नुभयो?
म त्यतिखेर प्रधानमन्त्री भएका हुनाले सरकारले मेरो उपचार खर्च बेहोर्थ्यो। तर, बाहिर जाँदा २५-३० लाख या ५० लाख त खर्च हुन्थ्यो नै। नेपालमै मिर्गौला प्रत्यारोपणको सुविधा प्राप्त थियो। त्यसो हुँदाहुँदै पद र ओहदाकै कारण म किन विदेश जानु? फेसनका रूपमा टाउको दुख्यो कि विदेश जाने काम मैले किन गर्नु? जे कुरा यहाँ हुन सक्दैन, त्यस्तो अवस्थामा पो विदेश जानुपर्छ। सक्नेले त बाहिर गराएर उपचार गराउँछ, नसक्नेले के गर्ने? मैले डाक्टरहरूलाई भनेँ– अरूको समेत तपाईंहरूले मिर्गौला प्रत्यारोपण गरिरहनुभएको छ भने मेरो पनि गर्न सक्नुहुन्छ।
गीतकारका रूपमा तपाईं कति सशक्त?
दुई वटा मिर्गौला प्रत्यारोपण गर्ने क्रममा पाँच-सात वटा अप्रेसन हुँदा पनि म अशक्त भइनँ। तर, हरेक कुरामा म सशक्त नै छु भनेर भन्दिनँ। किनभने सशक्तता खाली मनको कुरा हो, भावनाको कुरा हो। मैले गीतमा आफ्नो भावना व्यक्त गरेँ। त्यो भावना गलत छैन। सही छ।
काठमाडौँमा मेयर पदमा जितेपछि बालेन शाह तपाईंलाई भेट्न जाँदा तपाईंले तबला उपहार दिनुभएको थियो। के हो त्यसको रहस्य? र्याप गायकलाई किन तबला उपहार दिनुभयो?
काठमाडौँका मेयर बालेन्द्र शाह तबला बजाउने गर्नुहुन्थ्यो र उहाँसँग पहिले माटाको तबल थियो तर ठाउँ सार्दा फुट्यो भन्ने जानकारी मसँग थियो। मसँग धातुको तबला थियो, सार्दा नफुट्ने खालको। त्यो अलि बलियो र राम्रो खालको तबला भएकाले सार्दा फुट्दैन भनेर मैले ‘लैजाऊ’ भनेर दिएँ। मलाई उपहार दिन मन लाग्यो र दिएँ।
यो उमेरमा पनि यहाँले बेलाबेला नाचेको देख्न पाइन्छ। सारङ्गी बजाएको पनि देख्यौँ। सङ्गीत र गीत लेख्नेबाहेक अरू के-केमा लगाव छ?
सिङ्गो जीवनको कुरा गर्दा म बच्चा थिएँ। किशोर भएँ। युवा भएँ। अधबैँसे हुँदै गएँ। अहिले अधवैँसे-अधवैँसे नै छु। बाँचिरहे बुढो हुनु पनि अनिवार्य नै छ। पोहोर परार म बिरामी भएपछि साथीहरूले मेरो चिन्ता गर्नुभयो। मैले उहाँहरूलाई भनेँ– हाम्रो कालै अल्पायु-अल्पायु छ। स्वास्थ्य त्यति राम्रो छैन। मेरो हजुरआमा पनि एक सय एक वर्षमा बितिहाल्नुभयो। हजुरबा सय वर्ष पुग्दा-नपुग्दा बित्नुभयो। हेर्दाहेर्दै मेरो बुवा पनि बूढो-बूढोजस्तो हुनुभयो। मेरो बुवा अहिले पनि दुई चार किलोमिटर हिँड्नुहुन्छ। मेरोभन्दा उहाँको स्वास्थ्य राम्रो छ। न सुगर, न डायबिटिज। कुनै खानेकुरा बार्ने चलन छैन। यत्ति हो कि उहाँ अभक्ष र कुभक्ष खानुहुन्न।
भन्नुको मतलब जीवन एउटा मात्रै उमेर होइन। यत्तिखेरको मात्रै जीवन होइन। बालक, युवक, किशोर र अधवैँसे हुँदाको पनि जीवन नै हो। जीवनका रङ र रस पनि विभिन्न प्रकारका हुन्छन्। क्यानभासका रङ्ग र साहित्यका रसजस्तै अथवा संगीतका स्वर, सुर र तालजस्तै विविधता हुन्छन् जीवनका।
राजनीति खेतमा धान फलाउने कुरा हो कि होइन? बारीमा सुन्तला फलाउने कुरा हो कि होइन? उद्योगहरूको स्थापना हो कि होइन? हाम्रा ऐतिहासिक धरोहरको संरक्षण राजनीति हो कि होइन? अथवा राजनीति चुला बाल्ने विषय हो कि होइन? अघि मैले घरमा साग केलाएको सन्दर्भ आएको थियो। मैले कति वर्षसम्म आफैँ खाना बनाएको छु। चामल केलाएको छु। मलाई छिन्कन निफन्न र सार्न सबै गर्न आउँछ। मान्छेले जतिसुकै ठूला कुरा गरे पनि राजनीति गर्ने मान्छेले खान पर्दैन? खानुपर्छ भने के, खाने के नखाने? साग खाने हो भने केलाउनुपर्दैन? भ्याएसम्म र पाएसम्म रमाउनु पर्दैन?
संसारमा केही दुखी मान्छे हुन्छन्, जो कहिल्यै पनि मुस्कुराउँदैनन्। जहिले पनि अँध्यारो मुख पारेर बस्छन्। धुम्म परेर बस्छन्। कहिल्यै प्रसन्न चित्त हुँदैन तिनको। यो संसार उनैले मात्रै बोकेका छन् र संसारको पीर-चिन्ता उनैलाई मात्रै छजस्तो गर्छन्। हामीले काम पनि आफ्नो भागको गर्ने हो। कर्तव्य निर्वाह पनि आफ्नै भागको गर्ने हो। राजनीति गर्ने मान्छेले समेत देउसी कसरी खेल्छ, राजनीति गर्नेले कसरी फुटबल, क्यारम या टीटी कसरी खेल्छ भन्ने प्रश्नचाहिँ हुँदैन। राजनीति गर्ने मान्छेले कसरी गाइभैँसी कसरी चराउँछ या चित्र बनाउँछ भन्ने त प्रश्न हुन्न।
बिहानदेखि राति अबेरसम्म यहाँको अनेकौँ भेटघाट चलिरहेको हुन्छ। निर्वाचनको मौन अवधिबाहेक अरू समयमा भान्छामा कतिबेला समय दिनुहुन्छ अथवा दिनुहुन्न?
म जन्मेको गाउँमा बाटो र बिजुली पुगेको दुई चार वर्ष मात्र भयो। अझ बाटो राम्ररी पक्की भइसकेको छैन। विद्यालयचाहिँ उहिल्यै पुगेको हो। राणाशासनको तुरुन्तै पछि विद्यालय पुग्यो। तर, विकासका अरू मापदण्डमा धेरै पछाडि छ। मेरो ठाउँ त्यस्तो ठाउँ हो, जहाँ सपना पनि ठूला देखिँदैनथे। हाम्रातिर 'एक मानाको बन्दोबस्त गर्ने' भन्ने चलन थियो। कोही घरमा छोरी माग्न आयो भने ‘एक मानाको बन्दोबस्त छ कि छैन?’ भनेर सोधिन्थ्यो। पेटको समस्या नै ठूलो भएपछि त्यहाँ धेरै ठूला सपना हुने भएनन् कसैका।
ठूलो भइन्जेलसम्म 'ठूला काम र साना काम' भन्ने नै म बुझ्दैनथेँ। मैलो थाल माझ्ने काम सानो र सफा थालमा भात खाने कामचाहिँ ठूलो भनेर मैले मेलो नै पाएको थिइनँ। म थुप्रै काम गर्थें। बत्ती कात्ने, टपरी गाँस्ने, दुना बनाउने, गुन्द्री बन्नेदेखि लिएर सुकुल बुन्ने काम पनि आउँथ्यो। जुन काम देख्यो, सिक्ने मान्छे हुँ म। पोखरा जेलमा बस्दाखेरि मैले कपडा बन्न सिकेको थिएँ। मन परेका दिदीबहिनीलाई साडी बुनेर मैले बाहिर पठाइदिन्थे कहिले-कहिले।
आफैँलाई लाउनका लागि कहिले-कहिले म कपडा बुन्थेँ। मलाई कमिज सुरुवाल सिउन र काट्न आउँछ। खाना बनाउन अलिक बढ्तै समय लाग्ने हुनाले जेल बस्दा साथीहरू खाना बनाउँथे, मचाहिँ भाँडा माज्थेँ। पहिले मलाई खोला देख्नै हुँदैनथ्यो। पौडी खेल्न छिरिहाल्थेँ। मेरो सबभन्दा रोजाइको खेल नै पौडी हुने गर्थ्यो। म पाइलट हुन पाइनँ, त्यस कारण हवाई जहाजचाहिँ चलाउन जानेको छैन।
म ठिटै हुँदाखेर, २६ सालतिर, त्यस्तै १७-१८ वर्षको हुँदो हुँ। जेएमसी भन्ने दोस्रो विश्वयुद्धको बूढो ट्रक पाइन्थ्यो। ह्यान्डल घुमाएर स्टार्ट गर्नुपर्थ्यो। त्यसैबाट मैले ड्राइभिङ सिकेको हुँ। भन्नुको मतलब, जुनसुकै काम मेरो रुचिभित्र पर्छ।
तपाईंले 'खर्पन' शीर्षकमा २०४१ सालमा, जेलमा हुँदा कविता लेख्नुभएको रहेछ। कुन सन्दर्भमा लेख्नुभएको थियो?
म पोखरा जेलमा थिएँ। उतिखेर पोखरामा खर्पन बोक्ने खासै चलन थिएन। तर, एक जना व्यक्ति खर्पन बोकेर आएको जेलभित्रबाटै देखेँ। म त बन्दी थिएँ। आफैँ खर्पन बोक्ने बनेर सो कविता लेखेँ। कविता लेख्नुपूर्व खर्पन बोक्ने मान्छेको स्केचसमेत कोरेँ। भूमिगत कालमा म कथा, कविता र गीत जहाँ लेख्थेँ, त्यहीँ छाड्थेँ। अहिले माननीय हुनुभएको छ केआर खम्बुजी। जो २६/२७ सालको आन्दोलनकारी हुनुहुन्थ्यो।पछि, त्रिभवन विश्वविद्यालयमा ०३५/३८ सालसम्मै त्यहाँको सबैभन्दा परिचित विद्यार्थी उहाँ नै होला। सम्पर्क सूत्र उहाँ नै होला। पछि उहाँले जर्मनीबाट पीएचडी गर्नुभयो। उहाँसँग मेरो लामै संगत भएको थियो। उहाँ विराटनगर आउँदा माधव नेपाल पनि त्यही कलेजमा पढ्नु हुने रहेछ। केआर खम्बुले नै मलाई माधव नेपालसँग परिचय गराउनुभएको थियो। उहाँसँग पनि मेरा कतिपय कविता छुटेका रहेछन्।
अन्यत्र पनि मेरा रचना छुटेका छन्। पीएचडी गरिसकेपछि क्याम्पस पढाउँदै गर्दा उहाँको नेत्रज्योति गुम्यो। त्यसपछि उहाँले 'छायाका लस्करहरू' भनेर पुराना संस्मरणहरू लेख्नुभयो। सो संस्मरणमा मैले सो कविता लेखेको सन्दर्भ पनि रहेछ। पुरानो कवितामा मेरो नाम कालीचरण भनेर उल्लेख गरेको रहेछु। र, त्यो कविताहरू छापिएको छ। ती कविता प्रकाशनका लागि भूपनिधि पन्तलाई धन्यवाद।
म त कविता र गीत लेखेर छाड्थेँ, हिँड्थेँ। त्यसमा कसैले मसला बेचोस् कि अरू थोक बेचोस् मलाई खासै मतलब थिएन। यसरी धेरै वर्षपछि मैले लेखेको खर्पन कविता फेरि भेट्टाएँ। मैले जेलमा अनेक कृति र सयौँ कविता लेखेँ तर अलिअलि समयको अन्तरालमा जेलका सुरक्षाकर्मी आएर कविता लुटेर लैजान्थे। त्यसपछि भने म हतोत्साहित भएँ। कुनै गहन ग्रन्थ लेख्ने प्रयास गरिनँ। फुटकर कविता र छोटा निबन्धहरू मात्र लेखेँ।
भूपी शेरचनले 'यसो लेख्छन्, हेर्छन्, केर्छन्। फेरि हेर्छन्, फेरि केर्छन्, कठैबरी बिचरा भूपी शेरचन' भन्दै आफ्नाबारे कविता लेख्नुभएको थियो। मेरोचाहिँ भूपी शेरचनको जस्तो बानी थिएन। 'लेख्छन्, हेर्छन्, छोड्छन्' मेरो चलन त्यस्तो थियो।
तपाईंले जेलमा हुँदा महाकाव्य नै लेख्नुभएको थियो रे! त्यसबारे जानकारी दिनु न।
महाकाव्य अलिकति सिद्धिन बाँकी थियो। करिब १८ सर्ग हुने सो महाकाव्य अलिक मोटै हुने अनुमान गरिएको थियो। जेलमा मेरा रचना नलुटिएको करिब ६ महिना जति भएको थियो। ६ महिनाका बीचमा मैले महाकाव्य, खण्डकाव्य र निबन्धहरू लेखेको थिएँ। एउटाचाहिँ लगभग १६ सर्गसम्म लेखेको थिएँ। तर, त्यो लुटिएपछि ‘त्यता पट्टिको बाटो नहिँडूँ’ भनेर मैले छाडिदिएँ। कुनै प्रचलित नाम राख्ने सोच थियो महाकाव्यको। मलाई 'आमा' गुमाउनु परेकोमा असाध्य पीडा थियो। तीन वर्षको उमेरदेखि अहिलेसम्म पनि म आमाको चेहरा सम्झिरहन्छु। आमा भन्ने शब्दप्रतिको आत्मीयता ममा विशेष थियो। त्यस महाकाव्यको नाम पनि 'आमा' नै राख्ने विचार गरेको थिएँ। तर, त्यो महाकाव्य कहाँ लुटियो र फ्याँकियो थाहा छैन।
'दुई कान, दुई आँखा र एक मुख' शीर्षकको निबन्धमा तपाईंले के भन्न खोज्नुभएको थियो?
म साथीहरूलाई सम्झाउने क्रममा यस्तो उदाहरण दिन्थेँ। चनाखोसँग हेर्नुपर्छ र चनाखोसँग सुन्नुपर्छ भन्थेँ। हेर्ने र सुन्ने सिक्ने कुरा हो। यसर्थ, हामीले धेरै सिक्नुपर्छ। दुई वटा कानले सुनेर र दुई वटा आँखाले हेरेर सिक्ने हो। मुख एउटा मात्रै भएकाले अत्यन्त सीमित बोल्नुपर्छ। कम बोल्ने, सही बोल्ने र चाहिने कुरा मात्र बोल्ने निचोड त्यस निबन्धको हो। भद्रगोल जेलमा हुँदाखेरि, ३७ सालतिर लेखिएको निबन्ध हुनुपर्छ त्यो।
कविता र निबन्धबाहेक अरू विधामा पनि हात हाल्नुभयो कि ?
म कुनै दिन हार्मोनियम लिएर बसेँ। मेरा एक जना साथीले सोधे– हार्मोनियम बजाउन आउँछ? मैले भनेँ– आउँछ। पछाडिबाट थिच्नुपर्छ, यताबाट हावा दिएर अर्कापट्टिबाट थिचेपछि बज्छ। तर, मेरो बजाउने तरिका अरूको सँग मिल्दैन। मलाई धेरै कुरा आउँछ तर अरूको जस्तो आउँदैन। मौलिक या आफ्नै पाराको मात्रै आउँछ। सिक्दै नसिकेको बच्चाले जस्तै अत्यन्त ओरिजिनल हार्मोनियम बजाउँछु म।
१४ वर्षे जेल जीवनमा तपाईंले धेरै अध्ययन गर्नुभयो होला। ती समयमा पढ्ने सामग्री र पुस्तकहरू कहाँबाट प्राप्त हुन्थ्यो? कसले ल्याइदिन्थ्यो?
म जेलमा पर्नेबित्तिकै गोलघरमा हालिएँ। त्यहाँ पानी खाने भाँडा पनि दिइँदैन। तर, पछि धेरै ठूलो लडाइँ गरेर माटाको सुराइ झिकाइयो। गोलघरमा एउटा माइक राखिएको थियो। त्यसबाट रेडियो नेपालका समाचार सुन्न पाइन्थ्यो। त्योबाहेक अरू केही सुन्न पाइन्नथ्यो। त्यस्तोबेला म कुनै समय धेरै बिरामी परेको थिएँ। जेलको गेटमा एउटा डिस्पेन्सरी हुन्छ त्यहाँ। मलाई डाक्टरकोमा जचाउन त्यहाँ लगियो। जँचाएर फर्कँदा मैले बाटामा चुरोटको खोल देखेँ। चुरोट खाएर कसैले खोल फ्याँकेको रहेछ। बट्टाको भित्रपट्टि खाली र सफेद ठाउँ हुन्थ्यो। त्यो मेरा लागि कागज थियो। कागज भेट्दा अत्यन्तै नजिकको आफन्त या मित्र भेटेझैँ लाग्यो। अलिक अगाडि बढ्दै थिएँ। काम नलाग्ने भएर फ्याँकिएको पेन्सिलको सानो टुक्रो सडकमा देखेँ। कस्तो सुन्दर संयोग– मैले पेन्सिलको टुक्रो टिपेँ। मैले चुरोटको खोल र पेन्सिल साथमै ल्याएँ।
गोलघरमा मलाई एकदमै नियन्त्रणमा राख्न खोज्ने र शासन गर्न खोज्ने एक जना कामदार थिए। आम रूपमा कामदार 'जेलका नाइके' भनेर चिनिन्छन्। चौकीदार भाइ, चौकीदार, मूल नाइके, नाइके, भाइ नाइकेजस्ता श्रेणीहरू हुन्छन् त्यहाँ। शासन चलाउनका लागि केन्द्रीय कारागारमा त पूरा 'हाइरार्कियल सिस्टम' नै छ। ती व्यक्ति मलाई नियन्त्रण गर्न खोज्थे। तिनको जीवन कहानी मैले सुनेको थिएँ, जो अत्यन्त मार्मिक थियो।
उनीमाथि प्रहरी, उनका गाउँले, विरोधी, वकिल र न्यायाधीशहरूले अति अन्यायपूर्ण ढङ्गले नभएको मुद्दालाई भएकै बनाएर ठुलो सजायको भागिदार बनाएका थिए। उनको जीवन साँच्चै टीठलाग्दो थियो। मैले उनकै विषयमा त्यही चुरोटका खोलमा कविता लेखेँ र उनलाई सुनाएँ। मैले कविता सुनाउँदै गर्दा पहिले उनी गम्भीर हुँदै गए। तीन चार लाइनमा पुगेपछि उनी आँसु खसाउन थाले। पाँच सात लाइन सुनेपछि स्याँकस्याँक-सुँकसुँक गर्न थाले। टुप्पातिर पुग्दा उनी धरधर र ह्वाँ-ह्वाँ गर्दै रोए। त्यसपछि भने मलाई चुरोटको खोलको कुनै खाँचो भएन।
उनैले अब मलाई चुरोटका खोल जोहो गरिदिन थाले। सिमेन्टमा त्यो सानो पेन्सिल तिखार्दै मैले रचनाहरू लेख्न थालेँ। यसरी मेरो लेखनको शुरुआत भयो। अलिक पछि चुरोटका खोलहरूमा चाङका चाङ कविता लेखेँ। ती पनि उठाएर लग्यो। चुरोटका खोलहरू यस्तो हिफाजतसँग किन राखेको होला भनेर जेलरले पढेछन्। उनले कविता पढेपछि मलाई भेट्न आएर भने– तपाईं अति मीठा कविता लेख्नुहुँदो रहेछ। तपाईंलाई फुलिस्केप कागज र पेन्सिल मै उपलब्ध गराइदिन्छु। त्यसपछि एक ढङ्गले लेख्ने काम शुरू भयो।
पढ्ने वातावरणचाहिँ कसरी बन्यो?
गोलघर बाहिरपट्टि ठूलो कोठामा लाइब्रेरी छ। त्यसमा केही हजार किताब होलान्। मलाई पढ्न इजाजत दिने भनेपछि मैले दिनमा दुई-तीन वटा किताब त्यहीँबाट लिने गरेँ। दुई–तीन वटा किताबका दरले पढ्ने गरेँ। सबै शास्त्रमा केही न केही खोज र ज्ञान हुँदा रहेछन्। एक वर्षमा लाइब्रेरीका सबै पुस्तक पढेर सक्काएँ। कतिपय पुस्तक दोहोर्याएर र तेहेर्याएर पनि पढेँ।
राजनीतिको धपेडीमा लेख्ने र पढ्ने समय कसरी व्यवस्थापन गर्नहुन्छ?
लेखपढ त राति मात्र हो। दिउँसो समय निकाल्न सम्भव छैन। त्यसै कारण म अलिक कम सुत्छु। जतिखेर सुत्छु, त्यतिखेरै निदाइहाल्छु। यति मिनेट भनेपछि त्यति मिनेटमा जागिहाल्छु। जति मिनेट भन्यो त्यति मिनेट। चार घण्टा सुत्ने भनेपछि चार घण्टा सुत्न सक्छु। चार घण्टा बढीचाहिँ सुत्दिनँ।
पढ्नु र लेख्नुमा कुन मजाको विषय हो?
पढ्नुचाहिँ ज्ञान हासिल गर्नु हो तर ज्ञानको रूपमा त्यसलाई संगठित गर्न त लेख्नै पर्छ।
माधव प्रसाद घिमिरे, सत्यमोहन जोशी, बैरागी काइँला र भक्तराज आचार्यहरूसँग यहाँको ओहोरदोहोर थियो। केका लागि उहाँहरूकोमा जानुहुन्थ्यो या आफ्नोमा बोलाउनुहुन्थ्यो?
राष्ट्रकवि माधव घिमिरे, इतिहास विज्ञ सत्यमोहन जोशी अथवा भजन शिरोमणि संगीत भक्तराज आचार्य अथवा बैरागी काइँलाहरू हाम्रा लागि तीर्थजस्ता हुन्। उहाँहरूको सम्मानकै लागि म उहाँहरूकोमा जान्थेँ। उहाँहरूकोमा गएपछि अनौठो वात्सल्य प्राप्त हुन्छ र त्यस वात्सल्यले एक ढंगले भन्ने समष्टि ज्ञान भित्र पठाइदिने काम गर्छ। उहाँहरूका अनुभवका निष्कर्षहरू प्राप्त हुन्छ।
ज्ञान भन्ने चीज जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड हो। उहाँहरूसँग एक ढंगले म साहित्यिक सत्सङ्ग गर्थें। गर्ने गरेको छु। कोभिड भएपछि एकदमै ज्येष्ठ नागरिकलाई र बुढापाकालाई एकै ठाउँमा जम्मा गर्दा खेरी कोभिडको डर भयो र त्यो सिलसिला बन्द भएको हो। अब कोभिडको अर्को भेरिअन्ट जापान, चीन र भारतमा आइपुग्यो भन्ने सुनेको छु। त्यति धेरै घातक त छैन भन्ने सुनेको छु। यदि गर्न सकिन्छ भने फेरि म त्यस्ता सङ्गत गर्ने र गराउनेछु।
तपाईंले कहाँ र कसरी सिक्नुभयो चित्रकारिता?
जेसुकै कुरामा रुचि राख्ने मान्छे म। पौडी नजान्दै पोखरीमा हाम फालेर कहिलेकाहीँ म संकटमा पनि परेको छु। सानो हुँदा स्कुलमा पनि चित्रकारिता र नाटक सिकाइन्थ्यो। कलम ठूलो कि तरबारजस्ता विषयमा वक्तृत्वकलामा पनि भाग लिइन्थ्यो। कागजमा केही कोर्ने गर्थें म सानैदेखि। चित्रकारिता कसरी गर्नुपर्छ भनेर सिकेको र जानेको त छैन तर आफैँ चित्र बनाउँछु। मान्छेको चित्र बनाएँ भने मान्छेजस्तै बनाउँछु। त्यसो हुँदा मिल्यो भन्ठान्छन् मान्छेहरू।
खेलकुदमा जाऊँ। रातभरि बसेर फुटबल हेर्नुभयो तपाईंले भर्खरै सकिएको विश्वकप फुटबल?
हेरेँ। अन्तिम खेल त बहुतै रोमाञ्चक थियो। मचाहिँ तटस्थ ढङ्गबाट अर्जेन्टिनाको पक्षमा थिएँ। एउटा टिमका पक्षमा भए पनि तटस्थ भावका साथ खेल हेरेको थिएँ।
म पनि मौका मिल्दा फुटबल खेल्थेँ। त्यसो हुँदा म फुटबलका नियम बुझ्छु। अस्ति भर्खरको फाइनल म्याच हेर्दा म एक दुई पटक उत्साहित भएर उठेँ पनि। कतारमा भएका खेलाडीले त म उठेको देख्ने पनि होइन। म उठ्नु र नउठ्नुसँग दुनियाँलाई कुनै सरोकार पनि होइन। खेलसँगै सेन्टिमेन्ट बगेपछि आफैँ उठिन्छ घरीघरी।
तपाईं त तीव्र गतिमा बगेको खोलामा पनि पौडी खेल्न सक्नुहुन्छ रे!
विज्ञता कतिलाई भन्ने? मभन्दा नजान्ने खेलाडी पाएँ भने हराउन सक्छु। फुटबल, भलिबल र टीटी खेल्छु। पाएँ भने स्नुकर पनि खेल्छु। क्यारम बोर्ड खेल्छु। नजान्ने पाएँ भने म हराउँछु।
तपाईं पहिले कडा नास्तिक हुनुहुन्थ्यो रे। उत्तर कोरिया गएका बेला किम इल सुङको सालिकका अगाडि तपाईंलाई अघि झुक्न लगाए अरे! 'त्यसपछि म आस्तिक बनेर फर्कें' भनेर उल्लेख गरेको सन्दर्भ मैले कतै पढेको थिएँ। प्रस्ट पारिदिनुस् न।
उहाँहरूको चलनअनुसार नेताको सालिक अगाडि पुगेपछि 'बो डाउन प्लिज' 'कृपया निहुरनुस्' भने। त्यसो भनेपछि निहुरिनै पर्यो। सम्मान व्यक्त गर्नुपर्यो। उत्तर कोरियामा बुद्धको राम्रो स्तूप पनि छ । त्यहाँ पुगेपछि मैले पनि उनीहरूलाई भनेँ, 'बो डाउन प्लिज।' त्यसअघि मूर्तिका अघि निहुरिहुँजस्तो मलाई लाग्दैनथ्यो। सबैलाई लाइनमा राखेँ र आफू पनि निहुरेर हिँडेँ।
म सत्यमा विश्वास गर्छु। त्यसकारण मेरो दृष्टिकोणको मूल थिम सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने भन्ने थियो। म यस मामलामा सुकरात र बुद्धजस्तै सत्य अङ्गीकार गर्छु। शिवबाट शुरू भएको योगलाई कपिलमुनि र पछि पतञ्जलिले विकास गरे। पतञ्जलिले विकास गरेको अष्टाङ्ग योगको पहिलो सूत्र यम, नियम र आसन आदि छन्। त्यसमा सत्य र अहिंसा पनि पर्छन्। खाली आसन र प्राणायामलाई मात्रै योग बुझ्नुहुँदैन। छलकपट गर्ने योगी हुन सक्दैनन्। सत्यमा अडिन्छु भन्ने वाचा गरेपछि मात्र योग शुरू हुन्छ। त्यसर्थ, म दार्शनिक हिसाबले वस्तुवादी दर्शन, यथार्थवादी दर्शन या सत्यवादी दर्शन अँगाल्छु।
अन्तिम प्रश्न, उमेरमा हरेक मान्छे कवि र कम्युनिस्ट हुन्छ भनिन्छ। यहाँ दुइटै हुनुभयो। कम्युनिस्ट त निरन्तर हुनुभयो। कविचाहिँ कति हुनुभयो?
त्यो व्याख्या नै गलत हो। कवि हुँदा र सामाजिक न्याय, समानता तथा समृद्धि खोज्दा त्यसलाई वैँसको उत्ताउलोपन भन्न मिल्छ र? परिपक्व भएपछि त व्यक्तिलाई सामाजिक न्याय र समानता किन चाहियो? समृद्ध नेपाल र सुखी नेपालीजस्ता कुरा किन चाहियो? उमेर र बैँसमा कवि हुने कुरा हो र? वैंशको लहड हो र साहित्य?
हाम्रा ऋषिमुनिहरूले 'सर्वे भवन्तु सुखिन' अर्थात् 'सबै सुखी होउन्' भने। मान्छेका सबै क्रियाकलाप र चेष्टाहरूको गन्तव्य सुख प्राप्ति हो। त्यसको मतलब यी दुवै कुरा उत्ताउला र गैर जिम्मेवार कुरा होइनन्। उमेरअनुसारका मान्छेका फरक भावना हुन सक्छन्। रसहरूमा परिवर्तन हुनसक्छ। कहिले शृङ्गार रस होला, कहिले वीर रस होला त कहिले बीभत्स रस। तर, वीर रस उमेर छँदा मात्रै हुने र शृङ्गार रस उमेर जाँदा खेरी नहुने भन्नेचाहिँ हुन्न। कुन उमेरमा कालीदासले 'मेघदूत' र 'अभिज्ञान साकुन्तलम्' लेखेका थिए? युवा छँदा त कालीदास निरक्षर थिए। यी कृति लेख्दा त उनी छिप्पिइसकेका थिए। त्यसको मतलब यो व्याख्या नै गलत हो।
पोखरामा आयोजना भएको 'नेपाल लिटरेचर फेस्टिबल'का क्रममा शुक्रबार पत्रकार अखण्ड भण्डारीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग 'राजनीतिबाहिरको जीवन' शीर्षकमा गरेको कुराकानीको सम्पादित अंश।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
