भूमिसम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी विधेयकलाई समयानुकूल बनाउनुपर्ने भएकाले संसद्मा प्रस्तुत गरिएको बताएका छन्।

काठमाडौँ– प्रतिनिधिसभाको बुधबारको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रस्तुत गरिएको छ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले उक्त विधेयकलाई समयानुकूल बनाउनुपर्ने भएकाले संसद्मा प्रस्तुत गरिएको बताए। २०२१ देखि २०२८ सालसम्म नापी हुँदा विभिन्न कारणले नापजाँच नमिलेको वा नापीमा छुटेको स्थानमा अहिले बस्ती बसेकाले बस्ती उठाउन नसकिने र राजश्व पनि नतिरेको अवस्थामा समस्या फुकाउन विधेयकमा आवश्यक व्यवस्था गरिएको उनले बताए। 

यसअघि उक्त विधेयकमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो।