महिलाले राजा माग्दा उदेक लाग्छ

महिलाले राजतन्त्रको माग गरेको देख्दा पशुपन्छीले सिकारी या बगरेको माग गरेझैँ प्रतीत हुँदो रहेछ। किन पनि त्यस्तो लाग्छ भने राजतन्त्र संरचनागत रूपमा नै भाले प्रणाली हो।

गत चैत्र १५ गते राजावादीहरूले तीनकुने र भक्तपुरका सडक आसपास आगजनी, तोडफोड गरे। लुटपाट मच्चाए। हिंसामा दुई जनाको ज्यानै गयो। धेरै घाइते भए। झन्डै ४७ करोडको क्षति भएको प्रहरीको अनुमान छ। यसमा दाबी र प्रतिवाद आ–आफ्ना ठाउँमा छन्, तर कुनै पनि राजनीतिक दलको आह्वानमा भएको सडक प्रदर्शन/आन्दोलनमा यो हदको अराजकता र लुटपाट सम्भवतः काठमाडौँले कहिल्यै देखेको थिएन। अधिकार र स्वाभिमानका लागि भएकै केही नेपालभित्रका आन्दोलनमा आन्दोलनकारी/ घुसपैठीयाबाट चरम मानवीय हिंसा भएका केही दृष्टान्त छन्, उचित र न्यायिक निरूपण नभई, तिनलाई डिसमिस गरेर मानव अधिकारको गम्भीर हनन भएका कुराले भविष्यमा पिरोल्ने सम्भावना छ। 

२००७ सालमा नेपालमा पहिलो पटक जनतन्त्रको बाटो खुलेको हो। त्यसअघि त सडक र बीच बजारमा चोर्न, फोर्न र आगो लगाउन लायक चीज नै के हुँदो हो र? त्यसमाथि, अहिलेझैँ धेरै मान्छे सडक/चोकमा भेला हुने कुरा जहानीया राजा, राणा र रजौटाहरूको शासनले दिने कुरा पनि भएन। प्रश्नसमेत निषेध हुने पारिवारिक शासनमा विरोधीलाई सिधै सुली राजतन्त्र/तानासाही व्यवस्थाको स्वभाव हुन्थ्यो। राजा महाराजाले हाँकेका अरबी मुलुकमा काम गर्न/व्यवसाय गर्न गएका नेपालीहरूलाई अहिले नै सोध्दासमेत थाहा भइहाल्छ- त्यहाँ कुनै पनि विषयमा बोल्दा कति सचेत र संवेदनशील हुनुपर्छ। कतिपयले यसमा अरब क्षेत्रको धार्मिक/सांस्कृतिक सन्दर्भ जोड्लान्, तर राजतन्त्र धर्म र संस्कृतिसँगै जोडिएको विषय हो। 

उसो त २०३० असार २५ गते सिंहदरबार जलेको थियो। (उतिखेर देशमा सक्रिय राजतन्त्र थियो।) आगलागीमा परेर दरबारको पूर्वी मोहडा ध्वस्त भएको थियो। जल्नुअघि सो कलात्मक भवन एशियाकै ठूलोमध्येको प्रशासनिक भवन मानिन्थ्यो भन्ने गरिन्छ। बिजुली सर्ट भएर सो आगलागी भएको बताइए पनि महत्त्वपूर्ण दस्ताबेजसमेत जलेका कारण सो आगलागी नियोजित थियो कि भन्ने आशंकासमेत गरिन्छ। सिंहदरबार जल्नु र तीनकुने जल्नुबीच तुलनै भएन। 

खयर, चैत्र १५ जुनसुकै सर्तमा राजा फर्काउने ध्येयका साथ राजावादीहरूले आगो झोसे। 'नेपालमा दलीय व्यवस्था, लोकतन्त्र र गणतन्त्र स्थापना भएपछि नेपाल झनै वरवाद भएका कारण अब देशलाई बांग्लादेश बनाउने' उद्घोष तीनकुनेमा पुगेकामध्ये कतिपय राजावादीको थियो।

राजावादी भन्ने बित्तिकै कमसेकम पंक्तिकारको मनोविज्ञानमा दौरा सुरुवाल, टोपी लगाएका पाका र प्राय: सुकिलोमुकिलो पहाडिया मूलको पुरुष आइपुग्छन्। तिनले कोट या 'इस्टकोट'को छातीनिर रहेको गोजीनिर अड्काउने श्रीपेचवाला पहेँलो लकेटले आँखै तिर्मराउँछ। मधेशतिर गेरु रङको लुगामा यदाकदा राजा माग्ने 'सम्राट सेना'हरूको उति यादै हुन्न। राजावादी भन्ने बित्तिकै जसरी पुरुष सम्झिइन्छ, राजा भन्ने बित्तिकै पनि पुरुष मात्रै आँखामा छाउँछन्। घोडा चढेका, हातमा तरबार लिएका बलशाली पुरुष। आखिर, राजतन्त्रको मूल आधार नै रक्त वंशीय उत्तराधिकार हो, जहाँ पुरुषलाई मात्र राज सिंहासन हस्तान्तरण गरिन्छ।

इतिहासमा एलिजाबेथ, भिक्टोरिया, क्लियोपाट्रा, झाँसीकी रानीलगायत केही दर्जन अपवाद भेट्टिन्छन्। तर अहिले पनि जहाँतहाँ राजतन्त्र छ, त्यहाँ भाले नै सिंहासनमा छन्। नेपालकै हकमा पनि ललित त्रिपुरासुन्दरी र राजेन्द्रलक्ष्मीले 'महिला भएर पनि शासन गरेको' बताइन्छ। त्रिपुरासुन्दरीको हैसियत कठपुतली नै भए पनि राजेन्द्रलक्ष्मीलाई भने सक्षम शासककै रूपमा चित्रण गरिन्छ, भलै तिनको शासन लामो रहेन। 

नेपाली बृहत् शब्दकोशको 'एप' खोलेर राजाको अर्थ हेर्दा 'ठकुरी जातिका व्यक्तिका निम्ति प्रयोग गरिने आदरसूचक शब्द; ठकुरी जातजातिमा श्रीमान्, देवर, ठूलराजा स्यानराजा भनी सम्बोधन गरिने शब्द; छोरालाई माया गरेर भनिने शब्द' उल्लेख छ। त्यसकै अर्को परिभाषामा 'राजतन्त्रात्मक मुलुकमा वंश परम्पराअनुसार उत्तराधिकार प्राप्त हुने तथा त्यहाँको शासन सञ्चालन गर्ने प्रमुख शासक' उल्लेख छ। नेपाली मनोविज्ञानको राजाचाहिँ केबल 'भाले ठकुरी'मात्रै हुने देखियो शब्दकोशको व्याख्या हेर्दा।

राजतन्त्रमा सत्ताको हस्तान्तरण केबल छोरालाई गरिन्छ। दुर्लभ सन्दर्भमा राजा मर्दा तिनका श्रीमतीले 'नायवी' भएर सत्ता चलाएका छन्, राजाकै बालक छोरोलाई राजसिंहासनमा राखेर। स्वस्थानीमा उल्लेख '...आठ अक्षता, आठ बेली पुष्प, आठ पान, आठ कुड्का सुपारी सगुनसमेत आफ्ना पुरुषलाई, दिनु, पुरुष नभए छोरालाई र छोरा नभए मित छोरालाई दिनु, मित छोरा पनि नभए मेरो अमुक कामना सिद्ध हवस् भनेर गंगामा बगाइदिनु' भन्ने वाक्यांशको शिरोधर यसरी राजतन्त्रले निरन्तर गरेको छ।

महिलाको हविगत राजतन्त्रमा के हुन्छ भन्ने दृष्टान्त केही वर्ष मात्रै दुबईकी राजकुमारी लतिफाले भोगेका कष्टकर भोगाइबाट पनि थाहा हुन्छ। २१औँ शताब्दीका खरबपति राजाकी छोरीको दरबारबाट भाग्ने प्रयास, भाग्दै गर्दा पक्राउ र कैदजस्ता उनका कथाले तानासाही व्यवस्था छोरीहरूका लागि कति 'नर्कपूर्ण' हुन्छ भन्ने एउटा दृष्टान्त हो। स्मरणीय छ, छोरी थुन्ने ती राजाका वैधानिक रूपमै ६ श्रीमती र दर्जन बढी सन्तान छन्। राजा/राणाहरूको कथा त्यस्तै थियो। यौन सुखका लागि राजाहरूले जति नै संख्यामा पनि श्रीमती ल्याउँथे/लुट्थे। कसैप्रति जवाफदेही हुन नपर्ने मध्ययुगिन त्यस व्यवस्थामा 'रैती'का जुनसुकै उमेरका छोरीलाई बलात्कार गर्ने छुट राजाहरूलाई थियो। कतिसम्म भने राजाले आफ्ना छोरी अपहरण गर्छन् भन्ने डरले तिनले आफ्ना ढोका होचा बनाउँथे।

२०४२ सालको नमिता सुनिता हत्याकाण्डले पनि त्यसको केही झलक पक्कै दिन्छ।

आफूलाई ईश्वरको अवतार या दूतका रूपमा चित्रण गर्दै, आफ्ना जस्तासुकै आपराधिक निर्णय र अत्याचारलाई ईश्वरको आदेश ठहर्‍याउने राजाहरूले निमुखा जनतालाई केकेसम्म गरे भनेर जान्न इतिहासका पाना पल्टाउँदा मात्रै हुन्छ। 

त्यसो हुँदाहुँदै पनि कतिपय महिलाले बेलाबेला सामाजिक सञ्जालतिर राजतन्त्रको वकालत गरेको देखिन्छ। (यस युगमा, पुरानै शैलीको राजतन्त्र त कहिले पनि फर्किने छैन। ठूलो आन्दोलनद्वारा त्यो फर्कियो नै भने पनि त्यसले अन्ततः 'सेरेमोनियल' हैसियत स्विकार्नुको विकल्प रहनेछैन। अत्यन्त दुर्लभ सम्भावनाको कुरा हो यो।) 

महिलाले राजतन्त्रको माग गरेको देख्दा पशुपन्छीले सिकारी या बगरेको माग गरेझैं प्रतीत हुँदो रहेछ। किन पनि त्यस्तो लाग्छ भने राजतन्त्र संरचनागत रूपमा नै भाले प्रणाली हो। यो राजाकै तन्त्र हो, रानीको होइन। बलमिच्याइँ राजतन्त्रको स्वभाव हो। र, यस्तो व्यवस्थामा महिला 'भिक्टिम' बन्छन्, 'भिक्टोरिया' होइन।

एउटै दृष्टान्त हेरौँ। २०५८ सालमा वीरेन्द्रको परिवारका अधिकांशको हत्या भयो। राजतन्त्रलाई यदि अविच्छिन्न वंश उत्तराधिकारीको निरन्तरता मान्ने हो भने उतिखेर ज्ञानेन्द्रलाई राजा बनाइनु नै गलत थियो, परम्पराविपरीत थियो।

शिशु नै सही, वीरेन्द्रका दुई नातिनी गिर्वानी र सुरंगना (श्रुतिका छोरीहरू) उतिखेर देशभित्रै मौजुद थिए। हत्याकाण्ड हुँदा जेठी नातिनी गिर्वाणी तीन वर्षकी भए पनि उनलाई 'बालमहारानी'का रूपमा सिंहासन राखेर राजपरिषद् या कुनै अन्य उपायबाट शासन गर्न नहुने थिएन। शाहवंशकै इतिहासमा बालकहरू राजा बनेकै थिए। यस्तोमा, राजपरिषद्को सञ्चालन र रेखदेखमा ज्ञानेन्द्र, कोमल, पारस र हिमानीहरू रहनु स्वाभाविक हुन्थ्यो, तर ज्ञानेन्द्र नै राजा हुने कुरा त 'वंश परम्परा'को निरन्तरता थिएन।

यस्तो अवस्थामा हत्याकाण्डमा नपरेकी महेन्द्र शाहकी छोरी शोभा, बुहारी कोमल र ज्ञानेन्द्रकै छोरी प्रेरणालाई राजगद्दीको उत्तराधिकारी हुनसक्ने कल्पना त राज परम्पराका पक्षधरहरूले कल्पना गर्न सक्ने कुरो भएन। भाले नै चाहियो र बाल्यकालमै केही समय राजसिंहासनमा बसालिएका ज्ञानेन्द्र दोस्रो पटक राजा बन्न आइपुगे। 

अहिले अधिकांश राजतन्त्रवादीले 'राजा फर्केको अवस्थामा पूर्वराजा ज्ञानेन्द्र नै राजा हुने' कल्पना गर्छन्। जन साधारणमा समेत अत्यन्त खराब इमेज बनेका कारण राजावादीहरूले ज्ञानेन्द्र पुत्र पारस शाहलाई कमसेकम सार्वजनिक रूपमा राजामा प्रस्ताव गर्ने हिम्मत गर्दैनन्, तर सार्वजनिक चर्चा र ग्राह्यता बढी भएकी ज्ञानेन्द्रकी बुहारी हिमानीलाई महेन्द्र-पत्नी रत्नकै हैसियतमा 'ममतामयी र समाजसेवी' भन्दा बढी देख्दैनन्। तर पारसका एक मात्र छोरा हृदयेन्द्रलाई राजाका रूपमा त वैकल्पिक राजनीतिबाट राजावादी अभियानमा छिरेका पूर्वपत्रकार रवीन्द्र मिश्रले पेस नै गरिसके। तर हृदयेन्द्रभन्दा जेठी उनकी दिदी पूर्णिकाले राजसिंहासन सम्हाल्न मिल्छ भन्नेबारे राजावादीहरूले कल्पनासम्म गर्दैनन्। रानीले नै हाँकेको बेलायतमा बसेर बीबीसीजस्तो प्रसिद्ध मिडियामा काम गरेका मिश्रले समेत सो गरेनन्। महिलालाई वंश परम्परामा समेट्न असहज भएबाट राजतन्त्र केबल भालेतन्त्र हो भन्ने सिधै बुझिन्छ। 

यहाँनिर, महेन्द्रको छोरा हुँदाहुँदै पनि, जन्मले जेठै भएर पनि गुरुङ श्रीमतीका तर्फबाट जन्मेका हुनाले राजा हुन नपाएका रवीन्द्र शाहलाई पनि भुल्नुहुन्न। (राजा ल्याउनुपर्छ भनेर सामाजिक सञ्जालतिर लेख्ने केही अल्पसंख्यक/उत्पीडित जाति समुदायका जनले अझै ख्याल राख्नुपर्ला यो कुरा। जगमान गुरुङलाई त के भन्नु?)

यो पनि: जंगुमानले भन्नुभयो, ‘भूतप्रेताः प्रकटयन्ताम्।’

यी सन्दर्भ र तथ्यले के देखिन्छ भने कमसेकम नेपाली समाजमा कोही राजा बन्न पुलिंग ठकुरी नै हुनुपर्छ। भाले बाहेकले राज्य हाँक्ने विषय अधार्मिक र अकल्पनीय हो।  'राज्यलक्ष्मी' र 'देवी'को नाममा महिलाको हैसियत दरबारमा केबल गहनागुरिया र पोसाकमा लुटपुटिएर खोपीमा राजाको प्रतीक्षा गर्ने पुतलीभन्दा बढी केही होइन र थिएनन् रानीहरू। त्यति पनि हुन नसक्दा, राजतन्त्रमा महिलाको हैसियत यौनदासी र सेवक हो। 

तर, सारा विकृति र विसंगतिलाई एकातिर राखेर हेर्दा पनि गणतान्त्रिक नेपालमा महिलाहरू प्रतिनिधित्वका रूपमा मात्रै सही, राष्ट्रप्रमुख, सभामुख र प्रशासन प्रमुख बनिसकेका छन्। महिलालाई पैतृक सम्पत्तिको हक कानूनी रूपमै स्थापित छ। 

तर राजतन्त्रमा छोरीको कुनै हैसियत छैन, कुनै राज्यको राजा या राजकुमारीको श्रीमती हुन मात्र ती योग्य छन्। यी सारा दृष्टान्तका बाबजुद केही महिलाले यस युगमा राजतन्त्रजस्तो तन्नम शासनव्यवस्थाको वकालत गरेको देख्दा उदेक लाग्छ।