दलाललाई आधा करोडभन्दा धेरै पैसा बुझाएर अमेरिका हिँडेका रुकुमेलीहरू ट्रम्प नीतिका कारण बाटोमै रोकिएका छन्। उनीहरू घर नफर्कने, अमेरिका नभए युरोप र क्यानडा छिर्ने तरखरमा छन्।
रुकुम– बाफिकोट गाउँपालिकाका प्रकाश (२३) करिब ६ महिना पहिले गाउँबाट हिँडेका थिए। उनको एउटै सपना अमेरिका पुग्ने, टन्न पैसा कमाउने थियो। यही सपनाले प्रकाशलाई रुकुमदेखि विभिन्न देशका सीमानाका, खोला, समुद्र, वनजंगल छिचोल्दै तीन महिनामा मेक्सिको पुर्यायो। एक हिसाबले उनी आफ्नो सपना बनेको अमेरिकी भूमिमा टेक्ने अवसरको सम्मुख पुगिसकेका थिए।
तर त्यसपछि पनि तीन महिना बिते, प्रकाश मेक्सिकोमै अड्किएका छन्। छेउमै रहेको अमेरिका उनका लागि फेरि दुरुह सपना झैँ बनेको छ। केही दिनअघि मेक्सिकोबाट हामीसँग फेसबुक मेसेन्जरमा जोडिएका प्रकाशले लामो कुराकानीका क्रममा सुनाए, “अमेरिका छिर्न सम्भव नभएपछि हामी मेक्सिकोमै रोकिएका छौँ। समूहमा १० जना छौँ, ६ जना नेपाली, ४ जना बांग्लादेशी, भारतीय र पाकिस्तानी साथी छन्।”
उनीहरू मेक्सिको पुग्दा अमेरिकामा राष्ट्रपति ट्रम्पले पदबहाली गरेर आप्रवासन नीतिमा कडाई गरिसकेका थिए। यही नीतिका कारण प्रकाशको समूह अमेरिका छिर्न पाएन।
रुकुमका गाउँ–गाउँमा चलेको अमेरिका जाने लहर पछ्याउँदै दलाललाई ६५ लाख बुझाएर प्रकाश घरबाट हिँड्दा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुन एक महिना बाँकी नै थियो। नेपालबाट दुबई, अनि दुबईबाट ब्राजिल, पेरु, कोलम्बिया, पनामा हुँदै तीन महिनामा मेक्सिकोसम्म पुग्दा उनी बाटोमै छँदै अमेरिकामा राष्ट्रपति निर्वाचन भयो। ट्रम्प फराकिलो अन्तरले राष्ट्रपति निर्वाचित भए, अनि आप्रवासीप्रति कठोर नीति अबलम्बन गर्दै सीमानाकामा कडाई गरे।
यही नीतिका कारण प्रकाश जस्तै अमेरिका पस्न मेक्सिको पुगेका धेरै मानिस त्यहीँ अड्किएका छन्। “यहाँबाट छिर्न खोज्नेहरूलाई धमाधम फर्काईंदैछ। अहिले अमेरिका छिर्न सक्ने अवस्था छैन,” प्रकाशले भने, “दलालले पनि आँट गर्न सकेका छैनन्। हामीलाई एउटा घरको साँघुरो फ्ल्याट राखेर खान चाहिँ दिइरहेका छन्।”
मेक्सिकोबाट अमेरिका छिर्ने सीमामा असाध्यै कडाई गरिएको, त्यहाँबाट छिर्न खोज्नेहरूलाई धमाधम फर्काइएको सुनेका उनलाई कतिञ्जेल यसरी बस्नुपर्ने हो थाहा छैन। भन्छन्, “न अमेरिका पुग्न सकिने भो, न घर फर्कन।”
प्रकाशसँगै रहेका बाफिकोटका सुजन त बल्ल १८ वर्ष पुगे। बाफिकोटको स्यार्पु माध्यमिक विद्यालयबाट एसईई दिएपछि गाउँका तन्नेरीहरूको अमेरिका सपनासँग जोडिएका उनी पनि गत कात्तिकमा घरबाट हिँडेका थिए। यति कलिलैमा उनी अमेरिका किन हिँडे? मेक्सिकोबाट फेसबुक मेसेन्जरमा जोडिएका सुजनले सुनाए, “२१ वर्ष नपुग्दै हिँड्यो भने भोलि समातिए पनि डिपोर्ट हुनु पर्दैन र ग्रिनकार्ड समेत सजिलै पाइन्छ।”
दलाललाई ६० लाख बुझाएर हिँडेका उनले नेपालदेखि दुबई र त्यहाँबाट ब्राजिलसम्म विमानबाट यात्रा गरे, त्यहाँबाट भने ‘डोङकर’ भनिने एजेन्टहरूसँग पेरु, कोलम्बिया, पनामा जस्ता ठाउँहरूमा हिँडेरै जोखिमपूर्ण यात्रा गरेको सुनाए। “मेक्सिको पुगेपछि दलालले अहिले अघि बढाउन सकिँदैन भन्यो। उनीहरूले जे भन्छन्, हामीले त्यही गर्ने हो। हाम्रो हातमा केही छैन।”
मेक्सिको पुगेको तीन महिना बितेसँगै उनको बेचैनी र तनाव बढ्दो छ। अमेरिका छिर्न कति समय लाग्ने हो, कुरेर पनि छिर्न पाइने हो कि होइन भन्ने टुंगो छैन। यो अन्योल प्रकाश र सुजनसँगै अरु चार नेपाली र १० जनाको समूहकै साझा तनाव बनेको छ।
तर उनीहरू कोही पनि अमेरिका छिर्न नपाए घर फर्कने मनस्थितिमा छैनन्। “ऋण काढेर दलाललाई बुझायौँ, त्यति धेरै ऋण बोकेर रित्तो हात घर फर्कन असम्भव छ,” प्रकाशले भने, “यत्तिकै फर्किए त्यो ऋण कसरी तिर्ने?”
मेक्सिकोसम्म पुर्याएका ‘एजेन्ट’ले अमेरिका छिर्न सकिन्छ, केही समय कुर्नुपर्छ भनेर सुनाइरहेका छन्। “बरु केही समय कुर्ने, तर अमेरिका नै छिर्ने हो। हामीले यति मात्र सोचेका छौँ,” उनले भने, “भाग्य रहेछ भने अमेरिका पुगौँला, नभए यस्तै रहेछ भनेर चित्त बुझाउँला।”
अमेरिका नभए युरोप, क्यानडा
यतिबेला मेक्सिकोमै रोकिएकी छन् रुकुम पूर्वको सिस्ने गाउँपालिका–३, पोखराकी २८ वर्षीया रविना। उनीसँग अरु तीनजना नेपाली महिला छन्। अमेरिका पुग्न जोखिमपूर्ण बाटो हुँदै मेक्सिकोसम्म पुगेकी उनको अमेरिका छिर्ने यो तेस्रो प्रयास हो।
रविना २०७८ सालमा स्पेनसम्म पुगेकी थिइन्। त्यहाँबाट दलालले अघि बढाउन नसकेपछि उनलाई घर फर्कनुको विकल्प भएन। पहिलो प्रयास सफल नभएपछि उनी दोस्रोपटक अमेरिका हिँडिन्, तर दोस्रो यात्रा पनि दुबईबाट अगाडि बढ्न सकेन। रविना फेरि घर फर्किइन्। तर अमेरिका जाने सपनाले निदाउन दिएन। ६ महिना अघि उनी तेस्रोपटक अमेरिकाका लागि हिँडिन्, उही ‘तल्लो बाटो’।
गाउँमा रविना बेरोजगार थिइनन्। सिस्ने गाउँपालिकामा अस्थायी जागिर थियो। गाउँमै अमेरिका जाने लहर चलेपछि कम्प्युटर अपरेटरको अस्थायी जागिरले मात्र उनको मन बिथोलिनबाट रोक्न सकेन। “गाउँका के महिला के पुरुष, सबै अमेरिका हिँडिरहेको देखेपछि मेरो पनि मन यहाँ अडिएन। उता गएकाले महिनामै ४–५ लाख कमाएको देखेपछि अमेरिका पुग्नैपर्छ भन्ने लाग्यो।”
तर उनको तेस्रो प्रयास पनि सफल हुने देखिँदैन। अमेरिकाले आप्रवासीबारे कठोर नीति अबलम्बन गरेर सीमामा कडाइ गरेपछि उनी अमेरिका छिर्न सक्ने सम्भावना लगभग देखिँदैन।
अमेरिका छिर्ने प्रयासमा रविनाको ५५ लाखभन्दा धेरै खर्च भइसक्यो। तीन महिनादेखि मेक्सिकोमा अड्किएकी उनी अब अरु देश भए पनि छिर्ने मनस्थितिमा पुगेकी छन्।
अमेरिका नभए क्यानडा छिर्ने योजना बनाएकी उनलाई दलालले पहिलेकै पैसामा क्यानडा लगिदिन्छु भनेका छन्। “अमेरिका भनेर घरबाट हिँडेको तीन वर्ष भयो, ३६ प्रतिशत ब्याजमा लिएको ऋण बढ्याबढ्यै छ। अब घर त कसरी फर्कनू?” उनी भन्छिन्, “अमेरिका नभए क्यानडा छिर्छु, दलालले एक महिनामा क्यानडा पुर्याइदिन्छु भनेका छन्।”
अमेरिका जान हिँडेका रुकुम पश्चिमको बाफिकोट गाउँपालिका, लागिमका रूपक (२७) अर्को पात्र हुन् जो बाटोमै अड्किएर यस्तै दोधारमा छन्। दलाललाई ५५ लाख रूपैयाँ तिरेर गत भदौमा उनी घरबाट हिँडेका थिए। “पढेलेखेकाहरू नै अमेरिका भन्दै हिँड्नथाले, गाउँमा अडिने विकल्प नै भएन। अमेरिका नगई जिन्दगी बन्दैन भन्ने लागेर म पनि हिडेँ,” रूपक भन्छन्।
रूपक अवैध बाटो अमेरिका यात्रामा निस्केको आठ महिना भयो। ‘तल्लो बाटो’ उनी दक्षिण अमेरिकी देशहरूमा पुगे। तर त्यहाँबाट दलालले (अमेरिकातर्फ) अघि बढाउन नसकेपछि नेपाल फर्किए। केही दिन काठमाडौँ बसे र फेरि यात्रा तय गरे।
यसबीचमा अमेरिकाले आप्रवासीलाई अबलम्बन गरेको कठोर नीतिका कारण उनी दुबईमै रोकिएका छन्। दुबईमा रोकिएको पाँच महिना हुनलाग्यो, उनीसहित ८ जनालाई दलालले एउटा होटलमा राखेका छन्। “अमेरिका छिर्न सक्ने अवस्था नै छैन भन्ने सुनिन्छ, डरैडरको अवस्था छ,” उनले भने, “पुगे पनि फर्काइदेलान् भन्ने डर, नपुगे पैसा डुब्ला भन्ने डर। दलाल पनि केही गर्न सक्दैनौँ भन्छन्।”
अमेरिका छिर्ने सम्भावना लगभग नरहेपछि दलालले उनीहरूलाई युरोपको विकल्प दिएका छन्। यस्तो अवस्थामा बरु युरोप छिर्न ठीक हुने, थप पैसा पनि नलिने भनेपछि रूपक यूरोप छिर्ने तरखरमा लागेका छन्। “यहाँ बस्यो भने खर्च मात्र बढ्ने भो। यतिका पैसा डुबाएर घर फर्कनु भन्दा युरोप जानु ठिक लागेको छ।”
दुबईमा रोकिएका बाफिकोटकै पिपलगाउँका नवराज (१९) पनि रूपक जस्तै अमेरिका सपना त्यागेर युरोप छिर्ने मनस्थितिमा पुगेका छन्। “अमेरिका जाने चक्करमा ५० लाख सकियो, दलालले पैसा फिर्ता दिन मानेका छैनन्,” उनले भने, “बरु त्यही पैसामा युरोप पठाइदिन्छु भनेका छन्। अरू उपाय पनि त छैन।”
‘तल्लो बाटो’को नयाँ संकट
अवैध रूपमा अमेरिका जाने तल्लो बाटोलाई ‘मृत्यु मार्ग’सँग तुलना गर्ने गरिन्छ। किनभने दलाललाई लाखौँ तिरेर महिनौँ जोखिमपूर्ण यात्रा गरेर अमेरिका जानेक्रममा कैयौँ मानिसले बाटोमै ज्यान गुमाउँछन्। कतिपय महिनौँ बाटोमा बिचल्ली भएर फर्कन्छन्। कतिपय अमेरिका पुगेर पनि डिपोर्ट गरिन्छन्। पछिल्लो समय भने यसरी अमेरिका हिँडेकाहरू विभिन्न देशका सीमानाकामा रोकिएका छन्। यो नयाँ संकट अमेरिकी राष्ट्रपति ट्रम्पले ल्याएको आप्रवासीलक्ष्यित कठोर नीतिको नतिजा हो।
नेपालका मध्यपहाडी जिल्ला रुकुम पूर्व र रुकुम पश्चिम तथा लुम्बिनी प्रदेशको दाङबाट धेरै जना यही तल्लो बाटो भएर अमेरिका गएका छन्। पछिल्लो समय यसरी गएकामध्ये धेरैजसो महिनौँदेखि बाटोमै रोकिएका छन्। केही साताअघि रुकुमका गाउँसम्म पुगेर स्थलगत रिपोर्टिङ गर्नेक्रममा हामीले त्यसरी बाटोमै रोकिएका १० युवाका परिवारसँग पनि भेटेर कुरा गर्यौँ।

रुकुममा सबभन्दा धेरै अवैध रूपमा अमेरिका जानेहरूको गाउँका रूपमा परिचित छ, रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ स्थित पोखरागाउँ। यो वडाबाट साढे दुई सयभन्दा धेरै नेपाली अवैध रूपमा अमेरिका पुगिसकेका छन्। वडाध्यक्ष हेराम खड्काका अनुसार ट्रम्प राष्ट्रपति बन्नुअघि हिँडेका थुप्रै युवा अहिले बाटोमै रोकिएका छन्। आफ्नो वडाका कम्तीमा २० देखि ३० युवा बाटोमै अल्झिएको उल्लेख गर्दै उनले भने, “प्रायःजसो दुबई, मेक्सिको, ब्राजिलमा अड्किएका छन्।”
हामीले लामो प्रयासपछि यसरी मेक्सिकोमा अलपत्र परेका २० नेपाली युवालाई सम्पर्क गर्यौँ जसमध्ये धेरैजसो रुकुमका थिए। “मेक्सिकोमा हामी जस्तै करिब ३०० नेपाली रोकिएका छौँ,” तिनैमध्ये रुकुमका सुरेशले भने, “दलालले सबैलाई फरक–फरक ठाउँमा राखेका छन्। अन्डरएजदेखि पुरुष–महिला सबै छन्।” ब्राजिल र कोलम्बियामा पनि थुप्रै नेपाली रोकिएको उनले बताए।
न्यूयोर्क टाइम्समा बैशाख २८ गते प्रकाशित समाचारअनुसार अमेरिका छिर्न खोजेका विभिन्न देशका २० देखि ३० हजार आप्रवासी मेक्सिकोमा रोकिएका छन्। हाम्रो सम्पर्कमा आएका दुबईमा रहेका अवैध रूपमा अमेरिका पठाउने कार्यमा संलग्न एक एजेन्टले ट्रम्पको आगमनपछि धेरै नेपाली दुबईमै रोकिएको बताए। मेक्सिकोमा कम्तीमा एक हजार नेपाली हुनसक्ने, त्यसबाहेक ब्राजिल, कोलम्बिया र पनामामा पनि धेरै नेपाली रोकिएको उनको भनाई छ।
ती एजेन्टका अनुसार अहिले अमेरिका छिर्न सम्भव नभएपछि धेरैजसोले युरोप जाने तयारी गर्दैछन्। “अहिले अमेरिका छिराउन सजिलो छैन, उनीहरूले बुझाएको पैसा फर्काउन हामीलाई पनि अप्ठ्यारो छ। त्यही पैसामै ग्रीसजस्ता युरोपेली मुलुकमा पठाइदिन सेटिङ मिलाइरहेको उल्लेख गर्दै उनले भने, “उनीहरूको मनस्थिति पनि युरोप भए पनि पुगौँ भन्ने देखिन्छ। यो अवस्थामा युरोप जानु दुवै पक्षलाई राम्रो हुन्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
